८ वैशाख २०८१ शनिबार
समाज

हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी

काठमाडौं– चीनको हुनानका सांस्कृतिक पोष्टरहको वृहद् प्रदर्शनी गरिएको छ। बबरमहलस्थित नेपाल कला परिषदमा शनिबार आयोजित एक भव्य कार्यक्रमकाबीच सो प्रदर्शनीको शुभारम्भ भएको हो।

प्रमुखअतिथि नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद महेश बस्नेत, नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी र हुनान प्रान्तको संस्कृति तथा पर्यटन विभागका उपनिर्देशक याङ फू स्यूले संयुक्तरूपमा सो प्रदर्शनीको उद्घाटन गरे। प्रदर्शनीमा राखिएका पोष्टरको अतिथिहरूले निकै चाख मानेर अवलोकन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले आफू पनि हुनान पुग्न र हेर्न नपाएकाले प्रदर्शनीबाट धेरै कुरा जान्न पाएको बताइन्। सांस्कृतिकरूपमा सवल रहेको हुनान चिनियाँ नेता माओको जन्म स्थान पनि भएको बताउँदै राजदूत हौले एकपटक घुम्नुपर्ने ठाउँ भएको बताइन्। केही वर्ष यता बेल्ट एण्ड रोड क्षेत्रको व्यावहारिक सहकार्यमार्फत मजबुत गरेको दुई मुलुकको सम्बन्धलाई हुनान क्षेत्रको सांस्कृतिक पोष्टरले पनि जोडेको उनले उल्लेख गरिन्।

नेकपाका नेता तथा सांसद महेश बस्नेतले हुनानको सांस्कृतिक पक्षलाई समेटेर प्रदर्शनीमा राखिएका पोष्टरले हुनान संस्कृतिको विशेषता झल्काएको उल्लेख गरे। उनले त्यहाँको आदर्श जीवनशैली, स्वभाव, सादगी, इमान्दारी र आत्मविश्वास तथा यस क्षेत्रको सफलता र विकासलाई पोष्टरले समावेश गरेको बताए।

प्रदर्शनीमा ६० वटा पोष्टर राखिएका छन् ।शनिबार उद्घाटन गरिएको प्रदर्शनी आइतबार पनि कला परिषद्मा जारी रहनेछ भने सोमबार बिहान ९ बजेदेखि ५ बजेसम्म चिनियाँ सांस्कृतिक केन्द्रमा प्रदर्शनी गरिने आयोजकले जनाएको छ।

प्रकाशित: १ वैशाख २०७६ ०६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App