१६ चैत्र २०८० शुक्रबार
समाज

उपचार केन्द्र बन्दै डोल्पाका तातोपानी कुण्ड

डोल्पाको ठुलीभेरी नगरपालिका ९ रुपगाडस्थित तातोपानी कुवामा नुहाउदै सर्वसाधारण । तस्बिर /नागिरक

डोल्पा– प्राकृतिक रुपमा रहेका तातोपानीका कुवाहरु डोल्पालीका लागि उपचार केन्द्र बन्ने गरेका छन्। प्राकृतिक रुपमा  जमिनमुनिबाट निस्केको तातोपानीबाट बनेका कुवाहरुमा नुहाउनाले छालाजन्य,मुटुदुख्ने,छातीदुख्ने,शरीर दुख्ने,हातगोडा झमझमाउने लगाएतका रोगहरु सञ्चो हुने भएपछि तातोपानीका कुवाहरुमा मानिसहरुको भीड लाग्ने गरेको छ।

चैत्र महिना लागेसँगै जिल्लाका त्रिपुराकोट,जुफाल,ल्हाँ ,पहाडा, लिकु, सर्मी, कालिका, काइगाउँ लगायतका बस्तीहरुबाट हजाराैँ सर्वसाधारणहरु तातोपानीका कुवाहरुमा नुहाउन जानेक्रम जारी छ।

ठुलीभेरी नगरपलिकामा पर्ने रुपागाड काइके गाउँपालिकामा पर्ने शहरतारा त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने गाँरापानीमा  तातोपानी तथा पहेलो पानीका कुवा रहेका छन्। सदरमुकाम दुनैबाट करिव ६ किलोमिटरको दुरीमा रहेको रुपगाड तातोपानी कुवा सबै भन्दा धेरै सर्बसाधारणको रोजाइमा पर्ने गरेको छ।

पुरुष भन्दा महिला धेरै
तातोपानीका कुवाहरुमा तुलनात्मक रुपमा पुरुष भन्दा धेरै महिलाहरु जाने गरेको पाइन्छ। अन्य महिनामा खेतबारीको कामको चापले गर्दा एकछिन फुर्सद नपाइने भएकाले फागुन र चैत्रको महिनामा फुर्सदिलो समयको उपयोगर्दै पुरुषको तुलनामा महिलाहरु धेरै पुग्ने गरेको त्रिपुरा सुन्दरी नगरपालिका १ की स्थानीय रुपधनी सार्कीको भनाई छ। ‘तीनबर्ष लगातार आउँदा मेरोे मुटुदुख्ने रोग सञ्चो भएको छ।’ रुपधनीले भनिन् ‘गाउँका सयौँ महिलाहरु पनि तातोपानीमा नुहाँउन आउने गरेपछि विभिन्न रोगहरु सञ्चो भएको छ।’

चार दिनको पैदल हिडेर तातोपानीमा नुहाउन आएकी मुड्केचुला ७ इलकी ६५ वर्षीया लक्ष्मी रोकाया पनि आफुलाई तातोपानीले निकै गुन गरेको बताउछिन्। ‘तीनबर्ष अघिसम्म हातखुट्टा झमझमाउने रोगले सताएको थियो,तातोपानीमा नुहाउन जान थालेदेखि आराम महशुस भएको छ’ रोकायाले भनिन्।

पोसिलो खानुपर्ने
तातोपानीमा नुहाएपछि शरिर कोमल हुने भएकाले तातोपानीमा नुहाउन जाँदा खसीको मासु,कुखुरा,माछामासु,अण्डा लगायतका पोसिलो खानेकुरा बोकेरै लैजाने गर्छन्। तातोपानीका कुवामा नुहाएर फर्केको केहीदिनसम्म मिठोमसिनो,पोसिलो खानेकुरा खायर घाममा घण्टौ सुतेर पसिना फाल्ने गर्छन्।

प्रदेश सरकारको संरक्षण
नुहाउनैको लागि वर्षेनी मानिसहरुको भीड लाग्न थालेपछि पर्यटन विकासको प्रचुर सम्भाबना बोकेको रुपगाड तातोपानीको संरक्षण थालिएको छ। कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले उपलब्ध गराएको १७ लाखको लागतमा तातोपानीको संरक्षण थालिएको हो। दुईवटा तातोपानीका कुवा,दुई कोठाको शौचालय निर्माण गर्नुका साथै पुल,बाटो मर्मत गरिएको छ।

आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ तातोपानीका कुवाहरुको संरक्षण गर्न थालिएको उद्योग,पर्यटन बन तथा वातावरण मन्त्रालयले जनाएको छ। बस्ने ठाउँको अभावमा पानी पर्दा सर्बसाधारणको बिचल्ली हुने गरेकाले आगामी वर्षभित्र कुवा आसपासमा धर्मशाला निर्माण र त्यहाँसम्म पुग्ने बाटो  चौडा बनाइने योजना रहेको जुफालका स्थानीय अमरसिंह कठायतले बताए। भीरको बाटोको कारण रुपगाड तातोपानीसम्म पुग्न कठिनपुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। तातोपानी कुवासम्म सहजरुपमा पुग्नको लागि घोरेटो बाटो मर्मत र प्रचार–प्रचार गर्न जरुरी रहेको कठायतको भनाई छ।

प्राकृतिक रुपमा रहेका तातोपानीका कुवाहरुकोे उचित संरक्षण गरि प्रचार प्रचारमा स्थानीय सरकारले जोड दिई विकास गर्न सके नगरपालिकाको समेत भरपर्दो आयआर्जनको स्रोत बन्ने उनको दाबी छ।

जिल्ला अस्पताल दुनैका डाक्टर हिमविक्रम शाही तातोपानीका कुवाहरुमा नुहाउनुका धेरै फाइदाहरु भएको बताउँछन्। तातोपानीका कुवामा नुहाउनाले रक्तसंचार प्रणालीमा सहयोग,तनावमा कमी,हड्डी वा मासुको कारणले हुने दीर्घकालिन दुखाईमा कमी ल्याउने र प्राकृतिक रुपमा तातोपानीमा खनिजपदार्थ हुने भएकाले छालामा फाइदा पुर्याउने डाक्टर शाहीले बताए। तर, गर्भवती महिला र नावालकले नुहाउन नहुने र तातोपानी भित्र एकैचोटी धेरै समय बस्नुनहुने र नुहाउन अघि पछि मदिरा र सुर्तिजन्य बस्तुको सेवनगर्न नहुने डा.शाहीको भनाई छ।

धेरै मानिसहरुले नुहाउने भएकाले सरसफाई नहुँदा एलर्जी लगायतका सरुवा रोगहरु सर्न सक्ने भएकाले सरसफाईमा बिशेष ध्यान दिनुपर्ने उनको भनाई छ।

काइकेको तातोपानी कुवा ओझेलमा
संरक्षण र संवर्द्धनको अभावमा सदरमुकाम दुनैबाट उत्तरी क्षेत्रमा पर्ने काइके गाउँपालिकाको शहरतारामा रहेको तातोपानी कुवा पछिल्लो समय आझेलमा पर्दै गएको छ।

समुन्द्री सतहबाट ३ हजार मिटरको उचाइमा भोज पत्रको जंगलमा रहेकोे तातोपानी ओझेलमा पर्न थालेको हो। मानिसहरु नुहाउनको लागि जाने भएतापनि कुवा तथा धाराको ब्यवस्थापन राम्रो नहुँदा धेरै मान्छेहरु चाहेर पनि आउन नसकेको स्थानीय ओमरोका मगरले बताए। डोल्पा जिल्ला मात्रै नभई छिमेकी जिल्ला रुकुम र जाजरकोटका मानिसहरु समेत रुपगाड तातोपानीमा नुहाउन आउने गर्दछन्।

प्रकाशित: ३० चैत्र २०७५ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App