७ वैशाख २०८१ शुक्रबार
समाज

सार्वजनिक सुनुवाइमा जनप्रतिनिधिलाई प्रश्नको ओइरो

खोटाङ - ‘गाउँपालिकामा १५ शड्ढयाको अस्पताल कहिले बन्छ ? प्रतिगोटा ५० हजार रुपैयाँमा बोयर बोका खरिद गरिएको रहेछ, ती बोका कत्रा छन् ? हामीलाई देखाउनु प¥यो।’ यो प्रश्न दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ छितापोखरीका भक्तराज दाहालको हो। आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को हालसम्मको प्रगति विषयमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा दाहालले गाउँपालिका प्रमुख भूपेन्द्र राई, उपप्रमुख सपना राई र वडाध्यक्षतर्फ सो प्रश्न तेस्र्याएका हुन्। रातामाटा–खानीडाँडा सडक निर्माणमा कति खर्च भयो ? आफन्तलाई मात्र शिक्षकमा नियुक्ति गरिएको सुनिन्छ, वास्तविकता के हो ?’ दाहालले प्रश्न वर्षाइरहे, ‘किन आफ्नो पार्टीका मान्छेलाई मात्र योजना दिने गरिन्छ ?’

यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुकी अशोककुमारी राईले रेग्मीटार–जिरी सडक निर्माणका लागि विनियोजित बजेट थाहै नदिई निकालेको बताइन्। ‘यो सडक निर्माण उपभोक्ता समितिको कोषाध्यक्ष म हुँ, तर मलाई नै थाहा नदिई खाता खोलेर पैसा निकालिएको छ,’ राईले प्रश्न गरिन्, ‘के महिला भनेर हेपेको हो ? महिलालाई सधैं दबाएर राख्न खोजिएको हो ?’

प्रतिवडा ३५ लाख रुपैयाँका दरले बजेट विनियोजन भए पनि हालसम्म दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ मा सबैभन्दा बढी १७ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ भने दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ मा ८१ हजार पाँच सय रुपैयाँ मात्र खर्च भएको पाइएको छ।

त्यस्तै कार्यक्रममा सहभागी रणबहादुर खड्काले खानेपानीको पाइप वितरणमा अपनाइएको मापदण्डबारे स्पष्ट पार्न गाउँपालिका प्रमुखलाई प्रश्न गरेका थिए। गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा उनीहरू जस्ता ३० जनाभन्दा बढी सर्वसाधारणले जनप्रतिनिधि र विषयगत शाखाप्रमुखमाथि प्रश्न उठाएका छन्। मञ्चमा जवाफदेही पक्षका गाउँपालिका प्रमुख, उपप्रमुख, ७ नम्बर वडाध्यक्ष, विषयगत शाखाका प्रमुखमाथि कतिपय सहभागीले हात उठाएर माइक्रोफोनमार्फत प्रश्न गरे भने बोल्न नचाहले कतिपयले लिखित रूपमा प्रश्न उठाए।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले आव २०७४÷७५ को प्रगति विवरण र आव २०७५÷७६ को हालसम्मको प्रगति विवरण प्रस्तुत गरेपछि सवाल–जवाफको शृंखला सुरु भएको थियो। गुनासो पोख्नकै लागि घन्टौं हिँडेर आएका पालिकावासीले सडक, शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी, पर्यटन, सूचना÷सञ्चार, सिँचाइ, रोजगार, खेलकुद, वन तथा वातावरण, न्याय सेवा, सुशासनलगायत विषयमाथि प्रश्न गरे, गुनासो राखे र कतिपयले सुझाव पनि दिए।

सहभागी भूमिराज राईले स्थानीय सरकार आएपछि टोलटोलबाट योजना छनोट गर्ने प्रक्रिया मिचिएको भन्दै ध्यानाकर्षण गराए। त्यस्तै बालकुमारी सिग्देलले स्थानीय सरकार आएपछि महिलाको बजेट बढ्नुको सट्टा घटेको गुनासो गरिन्। ढाकमान लामाले सानो पार्टीलाई विभेद नगर्न जनप्रतिनिधिको ध्यानाकर्षण गरे। कार्यक्रम अघि र कार्यक्रमकै क्रममा बाँडिएका प्रगति विवरणको सूची अध्ययन गर्दै सहभागीले प्रश्न उठाएका हुन्। जनप्रतिनिधिलाई आफ्नै भोटर र कार्यकर्ताले बढी प्रश्न गरेको देखिएको छ।

कार्यक्रममा विभिन्न वडामा भएका कतिपय योजनाको अझै पनि सम्झौता नभएको भन्दै प्रश्न उठेको छ। प्रतिवडा ३५ लाख रुपैयाँका दरले बजेट विनियोजन भए पनि हालसम्म बढीमा १७ लाख रुपैयाँबराबरको मात्र काम भएको भन्दै वडाध्यक्षमाथि प्रश्न उठेको हो। दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ मा सबैभन्दा बढी १७ लाख ४५ हजार रुपैयाँको काम हुँदा दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ मा ८१ हजार पाँच सय रुपैयाँ मात्र खर्च भएको पाइएको छ।

स्थानीय सरकारका तर्फबाट भइरहेका कामलाई थप सुधारका लागि सुझाव लिन सार्वजनिक सुनुवाइ गरिएको गाउँपालिका प्रमुख राईले बताए। ‘हामीले त राम्रो गरिरहेका छौं भन्छौं, तर साँच्चै जनताको नजरमा कस्तो काम गरिरहेका छौं भन्ने बुझ्नका लागि सावजनिक सुनुवाइ महत्वपूर्ण छ,’ प्रमुख राईले भने, ‘यसबाट हामी जनप्रतिनिधिले गरिरहेका कामबारे जनतालाई स्पष्ट पार्न र भएका कमीकमजोरी सच्याउने अवसर पाएका छौं।’ गाउँपालिकाले आव २०७४÷७५ मा भुक्तानीमा कडाइ गरेर विभिन्न योजनाबाट एक करोड ६ लाख ९२ हजार नौ सय ५०, चालू खर्चतर्फ एक करोड ३७ लाख ३० हजार ६ सय ८९ र कन्टेन्जेन्सीबाट २२ लाख ४७ हजार एक सय रुपैयाँ संकलन गरी सञ्चित कोषमा जम्मा गरिएको जानकारी दिएको छ।

क्याप्सन ः
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीय।

तस्बिर ः दमन राई÷नागरिक

प्रकाशित: २८ चैत्र २०७५ ०४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App