coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

स्याउ खेती बीमामा कृषक आकर्षित

स्याउ बीमाङ्क रकम बुझेपछि किसान: डिबी/नागरिक

जुम्ला– जुम्ला चन्दननाथ नगरपालिकाका देवीबहादुर सेजुवाल स्याउ खेतीमा बीमा गर्ने पहिलो किसान हुन्।

मौसमी प्रतिकुलताका कारण स्याउ खेतीमा हुने क्षतिबाट सुरक्षित रहनको लागि बीमा गरेको उनले बताए। उनले भने, ‘स्याउ खेतीबाट जुम्लाबासीको आयआर्जनमा टेवा पुगेको छ। मौसमी प्रतिकुलताका कारण भइरहेको क्षति न्युनिकरणमा निकै सहयोग पुगेको छ।’

स्याउ खेती बीमा कर्णालीका मुगु, कालिकोट र जुम्लामा लागु भइरहेको छ। किसान सेजुवालले पाँच सय स्याउका विरुवा रोपेकोमा डेढ सय स्याउ विरुवा बीमा गरिसकेका छन्। उनले भने, ‘जुम्लामा उत्पादित अर्गानिक स्याउको माग बढ्दो छ। पछिल्लो समयमा मौसम प्रतिकुलताका कारण उत्पादनमा गिरावट आउदैछ, किसानको मेहेनत खेर जान नदिनको लागि स्याउ खेती बीमा निकै राम्रो कार्यक्रम बनेको छ।’

स्याउ नफल्दा किसानले वीमाङ्क रकम पाउने भएकोले खासै समस्या व्यहोर्नु पर्दैन। चन्दननाथ नगरपालिकाका अमरसिंह रावलले २ सय ८८ स्याउ विरुवा बीमा गरेका छन्। अमरसिंहले भने,‘स्थानीय अर्गानिक स्याउ स्वास्थ्यका हिसावले फाइदाजनक छ। यसका लागी बीमा कार्यक्रमले किसानलाई साथ दिएको छ।’

जुम्लाको एक नगरपालिका सहित ७ वटा गाउँपालिकामध्ये कनकासुन्दरी, हिमा र तिला गाउँपालिकामा यो कार्यक्रम लागु हुन सकेको छैन। पटक–पटक गाउँपालिकामा स्याउ खेती बीमा कार्यक्रममा किसानलाई सहभागी गराउन पत्रचार गरेपनि सुनवाई हुन नसकेको शिखर इन्स्योरेन्स कम्पनीका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले जानकारी दिए। तत्कालिन कर्णाली अञ्चलको मुगु र कालिकोटमा पनि स्याउखेती बीमा कार्यक्रम लागु भएको छ।

स्याउ किसान रामकृष्ण बुढाथापा बीमा कार्यक्रमलाई तल्लो तहको किसानसम्म लैजान आग्रह गर्छन्। उनले भने,‘जुम्लामा झण्डै १४ हजार किसानको घरमा स्याउ बगैंचा छन्। स्याउ किन्न ब्यापारी गाउँमै पुग्छन्। तर मौसमले साथ नदिदा किसान मर्कामा छन्।’

कृषि प्राविधिक शेरबहादुर भण्डारी ब्यवसायिक किसान बन्नको लागि बीमा अपरिहार्य भएको बताउँछन्। असिना र खडेरीले स्याउ नफल्दा किसानले बीमाङ्क रकम पाउदै आएकाले बीमा कार्यक्रम किसानका लागि सहयोगी भएको उनको बुझाई छ।

जुम्लाको तीन हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुने गरेकोमा ९ सय हेक्टरमा लगाएको स्याउले फल दिँदै आएको छ।

प्रकाशित: २७ चैत्र २०७५ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App