८ वैशाख २०८१ शनिबार
समाज

किसान ठग्दै चिनी उद्योग

काठमाडौं - वर्षौंदेखि उखुको मूल्य र भुक्तानी दुवैमा किसानलाई अल्झाइरहेका चिनी उद्योगीले चालु आर्थिक वर्षमा पनि करिब आठ अर्ब रुपैयाँ अझै भुक्तानी गरेका छैनन्। चिनीको मुख्य सिजन चाडपर्वको बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत मूल्यमा झुक्याएर आयात रोक्न सफल भएका व्यवसायीले किसानलाई भुक्तानी दिन अल्झाइरहेका छन्। प्रधानमन्त्री ओलीले सोमबार नेपाल उद्योग परिषंघको कार्यक्रममा चिनी उद्योगीले आफूलाई झुक्काएको बताएका थिए।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीका अनुसार यो वर्ष किसानले करिब साढे नौ अर्ब रुपैयाँको उखु चिनी उद्योगलाई बिक्री गरेका छन्। ‘अहिलेसम्म करिब डेढ अर्ब रुपैयाँमात्र किसानको भुक्तानी भएको छ,’ मैनालीले भने, ‘आठ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ।’ रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, सुनसरी, नवलपरासी, कपिलबस्तु, कञ्चनपुरका किसानले उखु बेचे बापतको रकम पाएका छैनन्। १३ चिनी उद्योग मध्ये केहीले ६० प्रतिशतसम्म उखुको रकम भुक्तानी गरे पनि अधिकांश चिनी उद्योगीले किसानलाई रकम दिएका छैनन्। मुलुक चिनीका १३ उद्योग सञ्चालनमा छन्। गत माघबाट उखुको क्रसिङ गरेका हुन्।

चिनी उद्योगीले किसानसँगबाट उखु खरिद गरे बापतको रकम भुक्तानी दिन हरेक वर्ष आलटाल गर्दै आएका छन्। यो वर्षको मात्र नभएर केही उद्योगले गत वर्ष उखु खरिद गरेको रकम पनि तिरेका छैनन्। यो सिजनमा उत्पादन भएको करिब दुई करोड क्विन्टल मध्ये एक करोड ८० लाख क्विन्टल उखु बिक्री भएको छ। सरकारले उखुको न्यूनतम समर्थन मूल्य ५ सय ३६ रुपैयाँ तोकेको छ। यसलाई आधार मानेर हिसाब गर्दा किसानले नौ अर्ब ६४ करोड रुपैयाँ पाउनु पर्छ। क्रसिङ गरेको एक महिनाभित्र भुक्तानी दिने प्रतिवद्धता जनाएका उद्योगीले आफ्नो बाचालाई बेवास्ता गर्दै रकम दिन आनाकानी गर्दै आएका छन्।

मैनालीका अनुसार इन्दुशंकर चिनी मिलले १५ दिनको करिब २० करोड रुपैयाँ भुक्तानी गरेको छ। कन्चनपुरको भागेश्वरी र महांकाल चिनी उद्योगले करिब ६० प्रतिशत भुक्तानी गरका छन्। एभरेष्ट चिनी मिलले पनि ११ दिन उखु क्रसिङ गरेको रकम दिएको छ। अधिकांश उद्योगहरुले किसानलाई रकम नदिएको मैनालीले बताए। माघको पहिलो हप्ताबाट उखु क्रसिङ सुरु भएको थियो। ‘अब करिब २० लाख क्विन्टल उखुमात्र क्रसिङ गर्न बांकी छ,’ मैनालीले भने, ‘अधिकांश उखुबाट चिनी उत्पादन गरे पनि बिक्री नभएको बहानामा भुक्तानी गरेका छैनन्।’ चिनी बिक्री भएपछिमात्र भुक्तानी दिने बताउँदै आएको उनले बताए।

समयमा भुक्तानी नपाएका किसान मूल्यमा पनि ठगिँदै आएका छन्। सरकारले उखुको न्यूनतम समर्थन मूल्य क्विन्टलको पाँच सय ३६ रुपैयाँ तोके पनि निर्धारित मूल्य भन्दा कम दिने प्रतिवद्धता जनाएको संघले जनाएको छ। ‘एकाध उद्योगले क्विन्टलको चार सय ७१ रुपैयाँ दिएका छन्,’ अध्यक्ष मैनालीले भने, ‘धेरै किसानले न्यूनतम मूल्य पाएका छैनन्।’ इन्दुशंकर चिनी मिलले भने सरकारले तोके बमोजिमनै मूल्य दिएको छ।

उखु कृषकलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५ बमोजिम किसानले क्विन्टलको ६५ रुपियाँ २८ पैसा अनुदान पाउँछन्। अनुदानसहित पाँच सय ३६ रुपैयाँ मूल्य निर्धारण गरिएको हो। गत वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले चिनी उद्योगीले किसानको रकम नतिरे पक्राउ गर्ने चेतावनी दिएपछिमात्र तिरेका थिए। अन्नपूर्ण सुगर मिलले गत वर्षको करिब १२ करोड तिर्न बाँकी रहेको मैनालीले बताए। ‘प्राय सबै उद्योगको एक÷दुई करोड रुपैयाँ त गत वर्षकै बांकी छ,’ उनले भने।

यो वर्ष करिब दुई करोड क्विन्टल उखु उत्पादन भएको महासंघको अनुमान छ। देशमा दुई लाख ७० हजार टन चिनी खपत हुने भए पनि यहाँ करिब एक लाख ७० हजार टन चिनी उत्पादन हुन्छ। अन्य चिनी विदेशबाट आयात हुन्छ। गत वर्ष पाकिस्तानबाट बजार माग भन्दा धेरै सस्तो चिनी आयात भएकाले बिक्री गर्न कठिनाई भएको चिनी उद्योगीले गुनासो गरे पछि सरकारले गत भदौमा चिनी आयातमा प्रतिवन्ध लगाएको थियो। चिनी आयातमा प्रतिवन्ध लाएपछि चिनी उद्योगीले मूल्य बढाएर आफूलाई झुक्काएको प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा गुनासो गर्दै आएका छन्। सोमबार नेपाल उद्योग परिषंघ (सिएनआई)को साधारण सभाको अवसरमा प्रधानमन्त्री ओलीले चिनी उद्योगीप्रति आक्रोश व्यक्त गरेका थिए।

उद्योगीलाई सरकारले सहुलियत दिए पनि चर्को मूल्य लिएर उपभोक्ता ठग्दै आएको चिनी उद्योगीमाथि आरोप छ। उद्योगीले यो वर्ष पनि चिनीको फ्याक्ट्री मूल्य किलोको ७८ रुपैयाँ १० पैसा निर्धारण गरेका छन्। यो गत वर्षको तुलनामा प्रति किलो ६ रुपैयाँ ९१ पैसा बढी हो। गत वर्ष चिनीको फ्याक्ट्री मूल्य ७१ रुपैयाँ १९ पैसा थियो। उपभोक्तासम्म पुग्दा चिनीको मूल्य ८५ देखि ९० रुपैयाँ पर्छ। फ्याक्ट्री मूल्य बढेपछि बजारसम्म पुग्दा चिनी किलो मै १५देखि २० रुपैयाँसम्म मूल्य बढ्ने व्यापारी बताउँछन्।सरकारले उखुको मूल्य बृद्धि नगरे पनि उद्योगीले भने चिनीको भाउ बढाउने निर्णय गरेका हुन्। सरकारले गत वर्ष पनि उखुको न्यूनतम समर्थन मूल्य प्रति क्लिन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा नै थियो। एक क्विन्टल उखुबाट नौ किलो चिनी तयार हुन्छ भन्ने मान्यता छ।

प्रकाशित: २७ चैत्र २०७५ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App