१६ चैत्र २०८० शुक्रबार
समाज

चिकित्सकको हडतालले बिरामी अलपत्र !

काठमाडौं - एक्सरे गरेर हेर्दा आन्द्रामा गाँठो देखिएपछि शल्यक्रियाका लागि सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाका ७० वर्षीय बलराम नेपाली काठमाडौैं आएका थिए। डाक्टरले शुक्रबारको समय दिएका थिए। तर शुक्रबारदेखि नै समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै अपरेसन गर्ने चिकित्सक हडतालमा उत्रिएपछि उनको शल्यक्रिया हुन सकेन।

सिन्धुपाल्चोकबाट छोरासहित आएका बलराम सोमबार पनि वीर अस्पताल परिसरमा चिकित्सकहरू काममा फर्केर आउने समय कुरिरहेको भेटिए। शल्यक्रियाका लागि वीर अस्पताल धाउनु नेपाली बाबु–छोराको दिनचर्या बनेको छ। जटिल किसिमको रोग देखिएकाले जसरी भए पनि अपरेसन गरेर मात्र घर जाने भन्दै उनीहरू शुक्रबारदेखि हरेक दिन ३ बजेसम्म वीर अस्पतालको प्रतीक्षालयमा बसेर बेलुका आफन्तको शरणमा बास बस्न जाने गरिरहेका छन्। उपचार नगरी घर नफर्कने अठोटका साथ वीर अस्पताल धाइरहेका बाबु–छोरा डाक्टरको हडताल छिटै अन्त्य भए हुन्थ्यो भन्ने अपेक्षामा छन्। निजी अस्पतालमा उपचार गर्न आर्थिक हैसियत नभएकाले सरकारी अस्पतालको मुख ताक्नुपरेको उनीहरू बताउँछन्।

जुम्ला सिञ्जाबाट घुँडाको उपचार गर्न काठमाडौं आएकी मुगा वडको पीडा पनि बलरामको भन्दा कम छैन। घुँडा दुख्ने समस्याले सताएपछि उनी उपचारका लागि पतिलाई लिएर काठमाडौं आएको सोमबार एक महिना नाघिसकेको छ। भक्तपुरको होटलमा बसेर वीर अस्पतालमा उपचार गराउन धाउँदा करिब दुई लाख खर्च भइसकेको उनले बताइन्। चिकित्सकले वडलाई एक महिनाको औषधि दिएको र औषधिले ठीक नभए एमआरआई गरेर हेर्नुपर्छ भनेका थिए। औषधिले कुनै सुधार नआएपछि डाक्टरले भनेको एक महिनापछि सोमबार एमआरआई गर्न वीर अस्पताल आउँदा अस्पतालले हडताल भएकाले हेर्न नमिल्ने भन्दै फिर्ता पठाएको थियो। बरु इन्डिया गएको भए दुई हप्तामै उपचार भइसक्थ्यो भन्दै आफ्नै देशमा सहज ढंगले उपचार नपाउनुको दोष सरकारले लिनुपर्ने वडको भनाइ छ। उनले सरकार र चिकित्सकबीचको खिचातानीले बिरामीले सास्ती भोग्नुपरेको गुनासो गरिन्।

बलराम र मुगा मात्र होइन देशका विभिन्न ठाउँबाट उपचारका लागि काठमाडौं आएका सयौं बिरामी वीर अस्पताल परिसरमा अलपत्र अवस्थामा बसिरहेका थिए। चिकित्सकले चार दिनदेखि लगातार सेवा बहिस्कार गरेपछि उनीहरूको उपचार पाउने हक प्रभावित भएको हो। केही टाठाबाठा बिरामी भने इमर्जेन्सीमा भर्ना भएर उपचार गरी घर फर्किरहेका थिए। वीर अस्पतालको ओपिडीमा दैनिक एक हजार पाँच सयभन्दा बढी आउने गर्छन् भने दैनिक ३५ जना बिरामीको शल्यक्रिया हुने गर्छ। तर चिकित्सकको हडतालका कारण अस्पतालको शल्यक्रिया (ओटी) र बहिरंग (ओपिडी) सेवा बन्द हुँदा उपचार गराउन आएका बिरामी मारमा परेका छन्। वीर अस्पतालका निर्देशक केदारप्रसाद सेन्चुरीका अनुसार ओटी र ओपिडी सेवा ठप्प हुँदा इमर्जेन्सीमा २५ प्रतिशत बिरामी थपिएर धान्न कठिन भइरहेको छ। उनले हडताल लम्बिँदै जाने हो भने बिरामीलाई मात्र होइन अस्पताललाई पनि समस्या पर्ने बताए।

कान्ति बाल अस्पतालले सोमबार १२ जना बिरामीलाई शल्यक्रियाका लागि समय दिएको थियो। चिकित्सकको हडतालका कारण एक जनाबाहेक अन्य बिरामी शल्यक्रिया नगराई त्यत्तिकै फर्किन बाध्य भए। कान्ति अस्पतालमा शुक्रबारदेखि सोमबारसम्म ५० भन्दा बढी बिरामी शल्यक्रिया सेवाबाट वञ्चित भए। दैनिक आठ सय बिरामीले ओपिडी सेवा लिने सो अस्पतालमा चार दिनमा तीन हजार पाँच सय बिरामी ओपिडी सेवाबाट वञ्चित भएका छन्। यो अस्पताल बालबालिकाको उपचार गर्ने विशेष अस्पताल भएकाले दिनैपिच्छे यही अवस्था रहिरहने हो भने बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या निम्तिने अस्पताल निर्देशक डा. गणेश राईले बताए। उनले चिकित्सकहरूको समस्या तत्काल समाधान भएर उपचार सेवा सञ्चालन भइदियोस् भन्ने पक्षमा आफू रहेको पनि बताए। आफू अस्पतालको सेवा बन्द गर्न नहुनेमा प्रस्ट रहेको उल्लेख गर्दै डा. राईले चिकित्सक नै सेवा बहिष्कार गरेर हिँडेकाले समस्या उत्पन्न भएको गुनासो गरे।

कान्ति बाल अस्पतालकै हाराहारीमा बिरामी हेर्दै आएको परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्वास्थ्य सेवा लिन आएका बिरामीको हालत पनि अन्य अस्पतालका बिरामीको भन्दा कम छैन। उपचारका लागि आएका बिरामीहरू चिकित्सकले गरेको हडतालको मारमा परेका छन्। दैनिक २५ देखि ३० जनाको शल्यक्रिया गर्दै आएको सो अस्पतालमा डाक्टरको हडतालले केही समस्या आए पनि इमर्जेन्सी अपरेसन नरोकिएको अस्पताल निर्देशक डा. जागेश्वर गौतम बताउँछन्। सरकारी चिकित्सकले सेवा बहिष्कार गरे पनि समितिमातहतका चिकित्सकले सेवा दिइरहेको उनको भनाइ छ। अस्पतालमा एक चौथाइ मात्र सरकारी चिकित्सक कार्यरत रहेकाले सेवा नै ठप्प हुने अवस्था नभएको उनले बताए।

शुक्रबारदेखि शल्यक्रिया रोकिएको राष्ट्रिय ट्रमा सेन्टरमा पनि सोमबार दर्जनौं बिरामी अलपत्र अवस्थामा छटपटाइरहेका थिए। टाउकोमा चोट लागेर रगताम्य भएका बिरामीहरू ट्रमा सेन्टरको भुइँमा नै बेवारिसे अवस्थामा लडिरहेका थिए। ट्रमा सेन्टरका प्रवक्ता अर्जुनप्रसाद भेटवालका अनुसार ओपिडी र ओटीको सेवा बन्द भएपछि बिरामीहरूको चाप इमर्जेन्सीतिर सरेको छ। कुनै ठूलो दुर्घटना भयो भने त्यसलाई व्यवस्थापन नै गर्न नसक्ने गरी बिरामीहरू इमर्जेन्सीमा भर्ना भएको उनले बताए। इमर्जेन्सीमा ठाउँ अभाव भएकाले बिरामीहरूलाई व्यवस्थापन गर्न कठिनाइ भइरहेको भेटवालको जिकिर छ।

दैनिक तीन सय हाराहारीमा बिरामीको उपचार गरिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको चिकित्सको हडतालबाट नराम्ररी प्रभावित भएको छ। चिकित्सकहरूको हडतालका कारण सरकारी अस्पतालमा सेवा बन्द भएपछि निजी अस्पतालमा जाने बिरामीको संख्या पनि ह्वात्तै बढेको छ। शुक्रराज अस्पतालका निर्देशक डा. वासुदेव पाण्डे चिकित्सकको हडतालका कारण अस्पतालमा आउने बिरामीको संख्या घटेको बताउँछन्। आएका बिरामी पनि सम्बन्धित चिकित्सकले नहेरेकाले अन्यत्र गएको डा. पाण्डेको भनाइ छ।

वीर, ट्रमा सेन्टर, कान्ति बाल, प्रसूतिलगायतमा सेवा अवरुद्ध भएपछि त्रिवि शिक्षण, गंगालाल, सिभिललगायत अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ। त्रिवि शिक्षण अस्पतालको अस्पताल भवनबाहिर नै सयौंको संख्यामा बिरामी र तिनीहरूका आफन्त उपचारका लागि पालो कुरेर बसिरहेका थिए। वीर, ट्रमा, कान्तिलगायत अस्पतालमा चिकित्सकले गरेको सेवा बहिस्कारका कारण शिक्षण अस्पतालमा अचाक्ली भीड भएको थियो। शिक्षण अस्पतालको ओपिडीमा दुई हजारभन्दा बढी बिरामी हेर्न सक्ने क्षमता नभएकाले बिरामीहरू मारमा परेको अस्पताल प्रशासनको भनाइ छ। तर शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम खडगाले पहिलाभन्दा बिरामीको चाप बढे पनि अहिलेसम्म समस्या नभएको बताए। बिरामीको संख्या बढ्न थाले त्यहीअनुसारको निकास खोजिने उनको भनाइ छ।

आन्दोलनप्रति सरकार कठोर
यता सरकारले भने आन्दोलनरत चिकित्सकप्रति कठोर बन्ने संकेत दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले खटाएको ठाउँमा नजाने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका छन्। डाक्टरहरूले संघमा बस्छु भनेर आन्दोलन गर्नुको खास कारण संघीयता असफल बनाउने षड्यन्त्र रहेको भन्दै मन्त्री यादवले खटाएको ठाउँमा नजानेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

मन्त्री यादवले बिरामीको उपचार नगर्ने व्यक्ति डाक्टर नै नभएको टिप्पणीसमेत गरे। ‘सरकारले खटाएको ठाउँमा उपचार गर्न जानुपर्छ। जहाँ जनतालाई उपचारको आवश्यकता परेको छ, त्यहाँ जाने डाक्टर नै वास्तविक डाक्टर हुन्। गएनन् भने सरकारले नियमअनुसार व्यवस्थापन गर्न जानेको छ,’ उनले भने।

तर सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डे आफूहरूको समस्या सम्बोधन नभएसम्म सेवामा नफर्कने र अनिश्चितकालीन हडताल जारी रहने बताउँछन्। समायोजन नसच्याए सात सय सरकारी चिकित्सकहरू सामूहिक राजीनामा दिने मनस्थितिमा रहेको उनको भनाइ छ। संघमै समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका चिकित्सकहरू सरकारले गरेको समायोजनप्रति असहमति व्यक्त गर्दै देशभरका सरकारी अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बहिष्कारलाई निरन्तरता दिइरहेका छन्।

नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले सरकारले धम्कीको भाषा बोल्ने भन्दा पनि समस्या समाधानका लागि पहल गर्नुपर्ने बताए। उनले समस्या समाधान नभए जटिल परिस्थिति सिर्जना हुन सक्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: २६ चैत्र २०७५ ०१:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App