१५ चैत्र २०८० बिहीबार
समाज

आफू पास हुने चक्करमा प्रहरी जवानले यसरी लिक गरे एसइई प्रश्नपत्र, ६ जना पक्राउ

प्रश्नपत्र प्रकरणमा पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिँदै । तस्बिर : जितेन्द्रकुमार/नागरिक

राजविराज– प्रश्नपत्रको गोपनियता तथा सुरक्षाको जिम्मा रहेको प्रहरीवाटै एसइई परीक्षाको प्रश्न पत्र लिक भएको अन्ततः प्रहरी अनुसन्धानले नै पुष्टि गरेको छ। परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि प्रदेश–२को एसइई परीक्षा स्थगित छ। परीक्षा स्थगित भएपछि प्रदेशका झण्डै ७० हजार बालबालिका आन्दोलनमा होमिएका थिए। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले विहीबार राजविराजमा पत्रकार सम्मेलन गरेर प्रहरीकै संलग्नतामा प्रश्नपत्र लिक भएको तथ्य सार्वजनिक गरेको हो। उक्त प्रकरणमा संलग्न रहेका रहेको आरोपमा सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत २ प्रहरीसहित ६ जनालाई सार्वजनिक गरिएको छ। 

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाहीले १४ र १५ गतेका दुवै प्रश्नपत्र सप्तरी निवासी प्रहरी जवान ब्रम्हदेव सुनरैत यादवले निकालेको बताए। 

एसइईमा सहभागी आफ्ना सहकर्मीलाई सघाउन सुनरैतले प्रश्न पत्र निकालेको प्रहरी अनुसन्धानवाट खुलेको शाहीले बताए। शाहीले एकै ठाउँमा घर भएका र सँगै कार्यरत प्रहरी जवान दिपेन्द्रकुमार मण्डललाई सहयोग गर्न परीक्षा अगावै प्रश्नपत्र निकालिएको बताउँदै उनले भने, ‘पछि सोही प्रश्नपत्र ब्रह्मदेवले राजविराज १० स्थित आफ्ना दाजु विष्णुदेव यादवलाई पठाएको र एकवाट अर्को गर्दा गर्दै सामाजिक सञ्जालमा पुगेको हो।’ 

पक्राउ परेका दुवै प्रहरी मध्ये २२ वर्षिय व्रम्हदेव सप्तरीको राजविराज नगरपालिका १० र दिपेन्द्र राजविराज नगरपालिका ६ का हुन्। विष्णुदेवले मनोज यादव, मनोजले राजेश यादव र राजेशवाट उमेश यादव हुँदै प्रश्नपत्र विद्यार्थी र समाजिक सञ्चालनमा पुगेको प्रहरी नायब महानिरीक्षक शाहीले जानकारी गराए। अन्य विषयको प्रश्न पत्रको डिजिटल फरेन्सिक ल्यावको रिपोर्ट आएपछि पत्ता लाग्ने प्रहरीले जनाएको छ। 

पक्राउ परेकाहरुलाई प्रचलित कानुन बमोजिम कारवाही थालिएको प्रहरीको भनाई छ। यस प्रकरणमा प्रश्नपत्र एक अर्कालाई दिने क्रममा आर्थिक चलखेल समेत भएको अनुसन्धानले देखिएको छ। यसवारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। 

यता प्रश्नपत्र बाहिरिए पछि स्थगित भएको प्रदेश–२को एसइई परीक्षा चैत्र २२ गते(भोलि)बाट पुनः संचालन हुँदैछन्। 

प्रकाशित: २१ चैत्र २०७५ ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App