८ वैशाख २०८१ शनिबार
समाज

चिताको आगोले तातियो दाइजोमा बहस

बेहुलीझैं सिँगारिएकाे सुनिताकाे शव र शाेकसन्तप्त आफन्त। तस्बिर : नागिरक

वीरगन्ज– ‘सुहाग’को (बिहेमा लगाउने) बनारसी सारी लगाएर आइतबार बिहान सुनितालाई माइतीघरको पिँढीमा सुताइएको छ। बेहुलीले ओढ्ने ‘बिहउती’ ओढाइएको छ। सिउँदोमा सिन्दुर र निधारमा बिन्दी टल्किरहेको छ। लोकमान्यतामा यसरी सिउँदोमा पतिको नामको सिन्दुर लगाएर परलोक हुनपाउने महिलाको सिधै बैकुण्ठ–बास हुन्छ। सुनिताको अनुहारमा अस्पताल भर्ना हुँदाको जस्तो पीडाभाव कहीं छैन, शान्ति झल्एिको छ, मृत्युपछि।

मृत्युपछि सुनिताको अन्त्येष्टिमा माइती पक्षले कुनै कमी बाँकी राखेन। शव सुताइएको ठाउँमा बसेकी सुनिताकी ७० वर्षीया आमा सनफुलदेवीको आँखामा एक थोपा आँसु छैन। सायद छोरीले मर्नुअघिसम्म भोग्नुपरेको पीडा व्यक्त गर्न आमालाई आँसुको साहारा अपर्याप्त भएको हुनुपर्छ।

चैत ६ गते नारायणी अस्पतालका डाक्टर पति सचितानन्द यादवको कुटाइबाट गम्भीर घाइते भएकी पत्नी सुनितादेवीको उपचारका क्रममा मृत्यु भएको थियो। आइतबार बाराको बहुअरीस्थित माइतीगाउँमा सुनिताको अन्त्येष्टि गरियो।कुटपिटबाट सुनिताको मृत्यु भइपछि माइती पक्ष दोषीलाई कारबाही गराउन लागिपरेको छ भने त्यसका लागि जिल्लास्थित अधिकारकर्मीहरूले दबाब बढाएका छन्।

दाइजोको निहुँमा १४ वर्षसम्म यातनापूर्ण जीवन बिताएकी सुनिताले अन्ततः ज्यानै गुमाउनुपरेको घट्नाले मिथिला क्षेत्रलाई तरंगित बनाएको छ। सुनिताको चिताको आगोको रापले मिथिला समाजमा दाइजोको पक्ष–विपक्षमा हुने गरेको बहसलाई पनि तताएको छ। सुनिता सामाजिक व्यवस्थाकै पछिल्लो शिकार बनेकी हुन् भन्नेमा धेरैको एकमत छ।

‘दाइजोका लोभी पति र उनका परिवार त दोषी छँदै छन्, गहिरिएर सोच्ने हो भने सामाजिक व्यवस्था पनि कम दोषी छैन, छोरीका लागि समाजले बनाइदिएका मान्यता र व्यवहारहरूले अनेकौं सुनिताहरूले असह्य पीडा भोगिरहेका हुन्छन्, कोही मर्छन् कोही बाँच्छन्, कसैको घट्ना प्रंकाशमा आउँछ कसैको आउँदैन, फरक त्यति हो,’ ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमा समाजशास्त्र पढाउने डा. शुष्मा द्विवेदी (तिवारी)ले भनिन्, ‘विपन्न र गरिब परिवारमा भएको होइन यो घट्ना। सम्पन्न, पढेलेखेको र राजनीतिक पहँुच भएको परिवारमा जन्मेर पनि सुनिताले यो नियति भोग्नुप-यो।’

औसत परिवारका छोरीले जस्तै सुनिताले शिक्षाको अवसर पाइनन्। बाबुआमालाई बिहे गरेर बिदा गर्न हतार थियो। कुरो छिनेपछि केटा पक्षको परिवारले विवाहका निम्ति दुई वर्षसम्म आलटाल गर्दै रहे। अन्ततः केटा पक्षले मागे जति दाइजो दिन सुनिताको माइती पक्ष बाध्य भयो। दाइजो पाएपछि विवाहको साइत पनि निस्कियो। २०५९ फागुन ९ गते विवाह भयो। माइती पक्षले १२ लाख ५० हजार नगद र दुई लाख ५० हजार बराबरका गहना दिए। करिब पाँच लाख रुपैयाँ जन्तीको स्वागत सत्कारमा खर्च भयो। डाक्टर श्रीमान् खोज्न घरकाले मरिहत्ते गरेको देखेकी सुनिता सुनौलो भविष्यको सपना सँगाल्दै पतिको घर गइन्। डाक्टर ज्वाइँ पाएकोमा माइती पक्ष पनि दंग भए।

सुनिताको दाम्पत्य जीवन दुई वर्षसम्म राम्रैसँग चलेको थियो। त्यसपछि भने सचितानन्दले दाइजोमा मारुती कार र वीरगन्जमा क्लिनिकका लागि घर किन्न लगाउन सुनितालाई दबाब दिन थाले। ‘थप दाइजो माग्दै बहिनीउपर दुव्र्यवहार सुरु भयो,’ दाजु जयप्रकाश यादवले भने, ‘माइतीले थप दाइजो दिन नसक्ने सुनिताले बताएपछि सचितानन्दले मानसिक र शारीरिक यातना दिन थाले। वीरगन्जको घरबाट निकालेर हरपतगन्जस्थित गाउँको घरमा पठाएर दुव्र्यवहार गर्न थाले।’

सुनितालाई पति, सासु, ससुरा र देवरले २०६२ जेठ २१ गते घरमै थुनेर आगो लगाई हत्याको प्रयास गरेको जिल्ला प्रशाशन कार्यालय पर्सामा सुनिताले दिएको उजुरीमा उल्लेख छ। २०६२ असार २ मा अब उप्रान्त दुःख नदिने भन्दै सचितानन्दले जिल्ला प्रशासनमा गरेका थिए तर दुव्र्यवहार भने रोकिएन। त्यसको दुई वर्षपछि सचितानन्दले दाइजोकै लागि भारत बिहारको चम्पारण जोगबलियाकी युवतीसँग दोस्रो बिहे गरेका थिए।

आफूमाथि दुव्र्यवहार बढेपछि सुनिता भागेर माइतीको शरणमा पुगिन्। माइतीले फेरि पञ्चायती गरेर सुनितालाई पतिको घरमा बस्ने व्यवस्था मिलाए। ‘त्यो बेला बहु विवाहको मुद्दामा गइएन,’ उनले भने ‘उनको दाम्पत्य जीवन एक दिन समयसँगै ठिक होला भन्ने झिनो आशा भएकाले परिवारमा मेल गराउने प्रयास गरियो।’

‘जहाँ ऊमाथि निरन्तर दुव्र्यवहार भइरहेको थियो, बारम्बार त्यही ठाउँमा फर्काइयो, त्यही वातावरणमा बस्न बाध्य पारियो। उनले पढ्ने अवसर पाएको भए आफ्नै खुट्टामा उभिएर स्वाभिमानी जीवन जिउने प्रयास गर्थिन् होला। माइतीले कम से कम साथ दिएको भए छोडपत्र गरेर बस्न पनि सक्थिन्, तर त्यस्तो अवस्था आउनै दिइएन,’ सामाजिक अभियानकर्ता समेत रहेकी सह–प्राध्यापक द्विवेदीले भनिन्, ‘हाम्रो समाजमा छोडपत्रलाई किन पचाइँदैन। यो पनि हाम्रा चेलीहरूको दुर्गति हुनुको एउटा कारण हो।’

चैत ६ गते राति हरपतगन्जस्थित घरमा पति सचितानन्द, सासू आशादेवी, ससुरा नागेन्द्र र देवर अचुतानन्दले सुनितालाई मरणासन्न हुने गरी कुटपिट गरेको माइती पक्षको आरोप छ। सुनिता अस्पताल भर्ना हुँदा जिउभरि नीलडाम र घाउ खत थियो। वीरगन्जमा उपचार सम्भव नभएपछि काठमाडौं लगिएकी सुनिताको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। प्रहरीले सुनिताका पति सचितानन्दलाई हिरासतमा राखी मुद्दा चलाएको छ भने अन्य आरोपितहरू (सासु, ससुरा र देवर) फरार छन्।

प्रकाशित: १८ चैत्र २०७५ ०५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App