५ वैशाख २०८१ बुधबार
समाज

परीक्षा दिन नपाउँदा ३९१ विद्यार्थी अन्योलमा

कठमाडौं - कलेजको लापरबाहीका कारण तीन सय ९१ विद्यार्थी परीक्षाबाट वञ्चित भएका छन्। पोखरा विश्वविद्यालयले कक्षा ११ र १२ मा न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरेका विद्यार्थीलाई मात्र व्यवस्थापन संकायको स्नातकमा भर्ना लिनू भनी दिएको निर्देशनविपरीत सम्बन्धन प्राप्त कलेजहरूले आफूखुसी भर्ना लिएपछि ती विद्यार्थीको भविष्य अन्योलमा परेको छ।

पोखरा विश्वविद्यालयका सम्बन्धन प्राप्त ४२ निजी कलेजले विश्वविद्यालयको निर्णयविपरीत ‘डी’ ग्रेड ल्याउनेहरूको समेत बिबिएमा भर्ना लिएपछि विश्वविद्यालयले रजिस्ट्रेसन फाराम स्वीकृत नगरेका कारण उनीहरू परीक्षा दिनबाट वञ्चित बनेका हुन्। शुक्रबार बिबिए प्रथम सेमेस्टरको परीक्षा थियो।

पोखरा विश्वविद्यालयका सम्बन्धन प्राप्त ४२ निजी कलेजले विश्वविद्यालयको निर्णयविपरीत ‘डी’ ग्रेड ल्याउनेहरूको समेत बिबिएमा भर्ना लिएपछि विश्वविद्यालयले रजिस्ट्रेसन फाराम स्वीकृत नगरेका कारण उनीहरू परीक्षा दिनबाट वञ्चित बनेका हुन् ।

निजी कलेजका सञ्चालकहरूले आफूले भर्ना लिएका ‘डी प्लस’ ग्रेडका विद्यार्थीहरूको विश्वविद्यालयले रजिस्ट्रेसन स्वीकृत नगरेपछि शुक्रबारबाट सुरु हुने सबै परीक्षा निजी कलेजवालाहरू सुरक्षाको कारण देखाउँदै कुनै पनि परीक्षा सञ्चालन नगर्ने प्रेस विज्ञप्ति जारी गरेका थिए। त्यसपछि विश्वविद्यालयका विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान संकाय, व्यवस्थापन र मानविकी संकायका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ। पोखरा विश्वविद्यालयका विभिन्न संकायमा अध्ययनरत ३३ हजारमध्ये २५ हजार विद्यार्थी सम्बन्धन प्राप्त कलेजमै अध्ययन रहेको विश्वविद्यालयले जनाएको छ।

पुरानो बानेश्वरमा रहेको राजधानी कलेजमा भर्ना भएका गौरव बोगटील परीक्षा दिन पाउने भन्ने सर्तमा भर्ना भएको र अन्तिम समयमा रजिस्ट्रेसन फाराम नै अस्वीकृत भएको भन्दै कलेजले प्रवेशपत्र उपलब्ध नगराएपछि आफ्नो भविष्य नै अन्योल बनेको दुखेसो गरे। उनी सो कलेजमा सन् २०१९ इन्टेकका लागि बिबिए विषयमा भर्ना भएका हुन्। उनको कक्षा ११ र १२ मा सबै विषयमा ‘सी’ ग्रेड छ। तर गणित र एकाउन्टमा ‘डी प्लस’ ग्रेड छ। ‘मैले कलेजलाई गणित र एकाउन्टमा डी प्लस छ, परीक्षा दिन मिल्छ कि मिल्दैन भनेर सोधेको थिएँ। कलेजले मिल्छ भन्ने विश्वास दिलायो,’ गौरवले नागरिकसँग गुनासो गरे, ‘परीक्षाको एक दिनअगाडि मात्र हाम्रो परीक्षा फाराम नै विश्वविद्यालयले रजिस्ट्रेन नगरेको थाहा भयो।’ उनले भावुक हुँदै भने, ‘हामीले ६ महिना पढिसक्यौ। चारवर्षे कोर्सका लागि ५ लाख रुपैयाँ तिरेका छौं। हाम्रो समय र पैसा दुवै खर्च भएको छ। हाम्रो परीक्षा दिने अधिकार सुरक्षित हुनुपर्छ।’

उता पीडित विद्यार्थीहरू नेपाल विद्यार्थी संघको पोखरा विश्वविद्यालय संयोजक नवराज त्रिपाठीको अगुवाइमा शुक्रबारै पुरानो बानेश्वरमा रहेको एपेक्स कलेजबाट आन्दोलन सुरु गरेका छन्। ‘साढे तीन सय विद्यार्थीको भविष्य विश्वविद्यालयका पदाधिकारी र कलेज सञ्चालकहरू दुवै मिलेर बर्बाद गरिएको पाइएको छ,’ संयोजक त्रिपाठीले नागरिकसँग भने, ‘एकातिर विश्वविद्यालयको प्राज्ञिक परिषद्को नियमलाई लत्याउँदै निजी कलेजहरूले विद्यार्थी भर्ना गरी पढाइरहँदा विश्वविद्यालयको पदाधिकारीहरू किन चुप लागे ?’ पछि मिलाउने भन्दै चलखेल गर्ने योजनासहित पदाधिकारीसमेत चुप बसेको बुझिएको उनको भनाइ छ। ‘त्यही भएर जिम्मेवार पदाधिकारी र निजी कलेज सञ्चालकलाई कारबाहीको मागसहित हामी आन्दोलनमा उत्रेका हौं,’ उनले भने। विश्वविद्यालयले पीडित चार सय विद्यार्थीको भविष्य सुरक्षित बनाउने निश्चित नगरेसम्म परीक्षा हुन दिन्नौं।’ विद्यार्थीहरूले पोखरा विश्वविद्यालयका ४२ वटा कलेजमा विरोधस्वरूप कालो झन्डा गाडेका छन्।
पोखरा विश्वविद्यालयको चार आंगिक र ५५ सम्बन्धन प्राप्त गरी कुल ५९ कलेज सञ्चालनमा छन्। जसमध्ये ४८ निजी कलेजमा व्यवस्थापनका कार्यक्रम सञ्चालन भइरहेको छ। जसमध्ये ४२ कलेजले तीन सय ९१ विद्यार्थी ‘डी प्लस’ ग्रेडका भर्ना गरेका छन्।

अर्गनाइजेसन अफ पोखरा युनिभर्सिटी एजुकेसनल इन्स्टिच्युसन अफ नेपाल (अपन) का अध्यक्ष रामचन्द्र आचार्यले विश्वविद्यालयको भर्नाबारे अस्पष्ट निर्णयका कारण अन्योल बढेको आरोप लगाए। उनले विश्वविद्यालयको ६८औं प्राज्ञिक परिषद्को बैठकले कक्षा ११ र १२ मा न्यूनतम ‘सी’ ग्रेड ल्याउनेलाई भर्ना लिने भन्यो कुन विषयमा ‘सी’ ग्रेड र जिपिए कति भन्ने नखुलाएकाले निजी कलेज सञ्चालकहरू एकदुई विषयमा ‘डी’ ग्रेड ल्याउनेलाई पनि भर्ना लिएको दाबी गरे।

‘राष्ट्रिय परीक्षा बोर्डले नै डी प्लसलाई पास मानेको छ। विश्वविद्यालयको ६८औं प्राज्ञिक परिषद्को बैठकले पनि चार महले निर्णयमा सी ग्रेड न्यूनतम र अन्तिम महलमा तह उत्तीर्ण उल्लेख गरेकाले निजी कलेजले भर्ना लिएको हो,’ अध्यक्ष आचार्यले नागरिकसँग भने, ‘हामीलाई भर्नासम्बन्धी पठाएको परिपत्रमा समेत कुन–कुन विषयमा सी उल्लेख छैन। डी ल्याएकोलाई भर्ना नलिन केही भनेको छैन।’ उनले थपे, ‘निजी कलेजहरूले रजिस्ट्रेसनका लागि फाराम विश्वविद्यालयमा बुझाउँदा समेत यदि अस्वीकृत गर्ने भए ३० दिनभित्र किन नगरेको ?’

अर्कोतर्फ पोखरा विश्वविद्यालयका रजिस्ट्रार गोविन्दप्रसाद शर्माले निजी कलेजहरूले विश्वविद्यालयको प्राज्ञिक परिषद्को निर्णयविपरीत आफूखुसी विद्यार्थी भर्ना गरेकाले ती विद्यार्थीहरूको रजिस्ट्रेसन अस्वीकृत गरिएको प्रस्ट पारे। उनले केन्द्रीय क्याम्पसले प्रवेश परीक्षा लिँदा ‘सी’ ग्रेडलाई नै भर्ना लिएको र छात्रावृत्तिमा समेत ‘सी’ ग्रेडलाई नै छनोट गरेकाले प्राज्ञिक परिषद्ले कुनै पनि अवस्थामा ‘डी’ प्लसलाई भर्नाका लागि स्वीकृति नदिने निर्णय गरेको बताए।

‘विश्वविद्यालयले कक्षा ११ र १२ को प्रमाणपत्रमा कुनै पनि विषयमा डी प्लस ग्रेडलाई भर्ना नलिन स्पष्ट निर्देशन दिएको थियो,’ रजिस्ट्रार शर्माले नागरिकसँग भने, ‘तर निजी कलेजहरूले सी ग्रेडका विद्यार्थी नपाएपछि व्यापार गर्न डी प्लस ग्रेडलाई नै भर्ना लिएका हुन्। जुन विश्वविद्यालयलाई मान्य हुँदैन।’ उनले यसमा विद्यार्थी निर्दोष भएकाले अब विश्वविद्यालय सभाका अध्यक्ष, कुलपति एवं प्रधानमन्त्रीले निर्देशन दिए मात्र ती पीडित विद्यार्थीको भविष्य सुरक्षित हुने स्पष्ट पारे।’ उनले विश्वविद्यालयले निजी कलेजहरूलाई कारबाहीको समेत तयारी भइरहेको दाबी गरे। रजिस्ट्रार शर्माले निजी कलेजहरूलाई बारम्बर चेतावनी दिँदा समेत अटेर गर्दै ‘डी प्लस’ ग्रेडका विद्यार्थी भर्ना गरेकाले समस्या आएको उल्लेख गरे। साथै उनले कलेजहरूले रजिस्ट्रेसनका लागि फाराम बुझाउँदा ३० दिनभित्रै अस्वीकृत भएको समेत जानकारी गराएको दाबी गरे।

प्रकाशित: १६ चैत्र २०७५ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App