१६ चैत्र २०८० शुक्रबार
समाज

निर्दयी ट्याक्सीचालक, बिरामीलाई सडकमा छाड्दा ज्यान गयो

काठमाडौं - ग्राहकलाई भगवान् मान्ने ट्याक्सीचालकले नै बिरामी यात्रुलाई ट्याक्सीबाट निकालेर सडकमै फालिदिन्छन् र यात्रुको मृत्यु हुन्छ भन्ने सायदै सोचिन्छ। बाटो नदेखे वा निश्चित गन्तव्यसम्म जान ट्याक्सी प्रयोग गरिन्छ। त्यसैले ट्याक्सीलाई सुरक्षित सवारीसाधन पनि मानिन्छ। तर बुधबार भने एक चालकले ट्याक्सीमा बिरामी भएका यात्रुमाथि कसैले नसोचेको संवेदनाहीन व्यवहार गरे। जसका कारण यात्रुको ज्यान गयो।

घटना विवरण अनुसार गोकर्णेश्वर नगरपालिका ४ घर भएका ६० वर्षीय गोपाल काररन्जित अस्पतालमा जँचाएर घर फर्कन ट्याक्सी चढे। ट्याक्सीमा उनलाई हृदयाघात (हर्टअट्याक) भयो।। ट्याक्सीचालक दोलखा मेलुङका ५० वर्षीय कमलबहादुर श्रेष्ठले काररन्जितलाई नजिकै रहेका अस्पताल नलगी निकालेर बाटोमै फालिदिए। र, उनको मृत्यु भयो। चावहिलस्थित मेडिकेयर अस्पतालमा स्वास्थ्य जाँच गराएर ट्याक्सीमा घर फर्कने क्रममा काररन्जितलाई हृदयाघात भएको थियो। ट्याक्सीचालक श्रेष्ठले २ सय मिटर अघि लगेर ती बिरामीलाई सडकमा फालिदिएका थिए। यो घटना बुधबारको हो। कारन्जित मधुमेह र उच्च रक्तचापका बिरामी थिए। उनी नियमित जाँचका लागि मेडिकेयर अस्पताल आएका थिए।

महानगरीय प्रहरी गौशाला वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल मल्लका अनुसार चालक श्रेष्ठले अघिल्लो सिटमा रहेका काररन्जितलाई मानवीयतासमेत भुलेर बाहिर निकालेर बाटोमा फालेर हिँडेको दृश्य सिसिटिभी फुटेजमा कैद भएको छ। त्यसकै आधारमा प्रहरीले बा१ख ३८५१ नम्बरका ट्याक्सीचालक श्रेष्ठलाई पक्राउ गरेको छ।

डिएसपी मल्लका अनुसार बुधबार बिहान १० बजेतिर गोपाल ट्याक्सीमै मेडिकेयर अस्पतालमा जँचाउन पुगेका थिए। मेडिकेयरमा जाँच गराएर सक्दा करिब सबा ११ बजेको थियो। त्यसपछि घर जान बाबुलाई ट्याक्सीमा चढाएर छोरा प्रवीण मोटरसाइकलमा हिँडेका थिए। ट्याक्सीचालकले गोपीकृष्ण चलचित्र हलको बाटो हुँदै गोकर्ण लैजान लागेका थिए। छोरा प्रवीण मोटरसाइकलमा अघि लागे। टयाक्सी उनको पछि थियो। तर ट्याक्सी चढ्नेबित्तिकै बाबुलाई हृदयाघात भयो। यो कुरा छोराले थाहा पाएनन्। गोपाललाई हृदयाघात भएपछि टयाक्सीचालकले हेल्पिङ ह्यान्डस नजिकैको सडक किनारमा अलपत्र छाडेर हिँडे। सडकमा छटपटाइरहेका उनलाई अस्पतालको ड्युउटीमा खटिएका प्रहरी र केही बटुवाले हेल्पिङ ह्यान्डस अस्पताल लगे। तत्कालै चिकित्सकले उनलाई मृत घोषणा गरिदिए।

‘अमानवीय दुर्घटना भयो। अस्पतालभित्र लगिदिएको भए बिरामीको उपचार हुन्थ्यो। चालकमा मानवीय संवेदना देखिएन’, गौशाला बृत्तका डिएसपी मल्लले भने, ‘कोही ट्याक्सीचालक आफ्नो ट्याक्सीमा छुटेको सामान यात्रुलाई फिर्ता गर्छन्। श्रेष्ठको हकमा भने यस्तो देखिएन। उनी संवेदनही देखिए।’ डिएसपी मल्लका अनुसार बिरामीलाई ट्याक्सीबाट झिकेर सडकमा छाडेर भागेका चालकलाई अस्पतालमा रहेको सिसिटिभीको सहयोगमा पक्राउ गरिएको हो। सिसिटिभीले चारवटा ट्याक्सीको नम्बर संकेत गरेको थियो। महानगरीय प्रहरी कार्यालयका प्राविधिक सई दीपेन्द्र श्रेष्ठले सिसिटिभीले संकेत गरेका चारवटा नम्बरमध्ये श्रेष्ठको ट्याक्सी पनि थियो। बुधबार साझँ गौशाला वृत्तको आग्रहमा महानगरीय ट्राफिक महाशाखामा ती ट्याक्सी ल्याइएपछि मात्रै श्रेष्ठले गोपाललाई आफ्नो ट्याक्सीबाट बाहिर निकालेको पुष्टि भएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले गोपाललाई हृदयाघात हुनेबित्तिकै अस्पताल लगिदिएको भए उनी बाँच्न सक्ने दाबी गरे। ‘बिरामीलाई सडकमा अलपत्र छाड्नुको साटो अस्पतालभित्र लगिदिएको भए यस्तो दुर्घटना (मृत्यु) हुँदैन्थ्यो होला’, डिएसपी बोगटीले भने। उनका अनुसार चालक श्रेष्ठले अमानवीय कार्य गरेकाले उनलाई सार्वजनिक अपराध ऐनअन्र्तगत कारबाही गर्न अनुसन्धान भइरहेको छ। डिएसपी बोगटीका अनुसार श्रेष्ठले आफू आत्तिएर गोपाललाई ट्याक्सीबाट झिकी सडकमा छाडेर भागेको बताएका छन्। ‘यस विषयमा अनुसन्धान भइरहेको छ’, डिएसपी बोगटीले भने।

प्रकाशित: १६ चैत्र २०७५ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App