८ वैशाख २०८१ शनिबार
समाज

तलब भत्ता भुक्तानीका लागि पहल गरिदिन माग

जुम्ला – जुम्लाका स्वास्थ्यकर्मीहरूले तलब भत्ता भुक्तानीका लागि पहल गरिदिन माग गरेका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य तथा जनसंख्यामन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै उनीहरूले स्वास्थ्यकर्मीको ६ महिनाको तलब भत्ता भुक्तानीका लागि माग गरेका हुन।

नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन्, नेपाल नर्सिङ संघ, हान र लेफाले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेमार्फत स्वास्थ्यकर्मीको ध्यानाकर्षण गराएका हुन। स्वास्थ्यमन्त्री उपेन्द्र यादव आजै जुम्ला आइपुग्ने भएकोले तलव भत्ताको लागि परामर्श गरिदिन आग्रह गरेका थिए।

ज्ञापन पत्रमा कार्तिक महिनादेखि हालसम्मको तलब भत्ता नपाएको र पटक पटक सम्बन्धित निकायमा पहल गर्दा पनि सुनुवाई नभएकोले कर्मचारीहरूको दैनिक जीवन जीउन कष्टकर भएको उल्लेख गरिएको छ।

सरकारबाट तलब भत्ता शिर्षकमा विनियोजित बजेट जुम्लामा कार्यरत स्वास्थ्यकर्मीको वार्षीक रुपमा अपुग हुँदै आएकोले आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ मा अपुग तलब भत्ता शिर्षकमा रकम थप गरि पठाउनका लागि आवश्यक पहल गरिदिन समेत माग गरेका हुन।

उनीहरूले समायोजन प्रक्रियामा प्रशासनतर्फका कर्मचारीलाई एक तह बढुवा गरि समायोजन गरेकोले स्वास्थ्य सेवाका कर्मचारीहरूलाई पनि समायोजना ऐन अनुसार एक तह बढुवा गरि तहगत प्रणालीमा सम्मानजनक समायोजन गर्न माग गरेका हुन।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले स्वास्थ्यकर्मीले तलब नपाएको विषयमा स्वास्थ्यमन्त्रीसँग कुरा राख्ने बताइन्। उनले स्वास्थ्यकर्मीको तलब भत्ताको विषयमा आवश्यक पहल गर्ने जानकारी दिइन्।

उनले भनिन्,“स्वास्थ्यमन्त्री जुम्ला आउने भएकोले स्वास्थ्यकर्मीको तलब भत्ताको विषयमा छलफल चलाउछु। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालयमा फोन सम्पर्क गरेर भएपनि बुझ्छु।”

 

प्रकाशित: १५ चैत्र २०७५ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App