८ वैशाख २०८१ शनिबार
समाज

एसईई विकृति, मिलोमतोमा चिट

लहान- ‘अलर्ट... एभ्रिबडी बी अलर्ट !’

सिरहा लहानस्थित लक्ष्मण ललिता कुशवाहा मावि(ललकु) केन्द्रमा  बाहिरबाट कोही पुग्नासाथ केन्द्राध्यक्ष (सुपरिटेन्डेन्ट) र गार्ड (निरीक्षक) हरु नै परीक्षार्थीलाई सतर्क गराउँछन्।

एसईई २०७५ मा सहभागी विभिन्न सात विद्यालयका परीक्षार्थी (३ सय १३) आदेशअनुसार झटपट आफ्ना चिजबिज (उत्तर सामग्री) सँगाल्छन्।

अनुगमन टोली केन्द्र आउँछ, चिट चोर्ने–चोराउने कसैलाई हेर्दैन, परीक्षार्थीको हाजिर टिप्छ र फर्कन्छ। जुन विषयको परीक्षा चलिरहेको छ, केन्द्रमा त्यसैका विज्ञ शिक्षकको मेला लाग्छ, चिट बनाउने र भित्र सप्लाई गर्ने जिम्मेवारीसहित खटिएका।

परीक्षा मर्यादित बनाउन खटिएकाहरु नै शान्त वातावरणमा जाँच चलिरहेको भान पर्नेगरी तलदेखि माथिसम्म मिलाएर जारी एसईई परीक्षामा चिट चोराउन सक्रिय छन्।

ललकु मावि प्रतिनिधि केन्द्र हो, जिल्लाका जनता मावि वस्तिपुर, पशुपति मावि लहानलगायत अधिकांश ठाउँमा परीक्षाको विकृति उस्तैउस्तै देखिन्छ।

परीक्षा मर्यादित बनाउन खटिएका अधिकांश अनुगमन अधिकारी ‘अमर्यादित परीक्षाका लागि मिलोमतो’ देखे नदेख्यै गर्छ। परीक्षा अनुगमनमा खटिने विद्यालय निरीक्षक, स्रोत व्यक्ति लगायतका अनुगमनकर्ताहरु केन्द्राध्यक्षसँग खासखुस गरेर फर्कन्छन्। उसैले सञ्चारकर्मीलाई परीक्षाकेन्द्रको समाचार संकलनमा रोक लगाउन केन्द्राध्यक्ष उचाल्छन्।

विभिन्न सञ्चारमाध्यमका संवाददाताहरु ललकु मावि परीक्षा केन्द्रमा समाचार संकलनका लागि पुग्दा गेटमै सशस्त्र प्रहरीका जवाले रोके। पछि गेट भित्र प्रवेश त गर्न दिए तर अगाडि बढ्न दिएनन्। केन्द्राध्यक्षलाई जानकारी गरइदिनु भन्दा पनि सशस्त्र प्रहरीले गेटमै अल्झाउन खेजे। पछि एक प्रहरीले केन्द्राध्यक्षसमक्ष संवाददाताहरु आएको जानकारी पुर्याए। केन्द्राध्यक्ष शिवशंकर महतोले गेटभित्र प्रवेश नदिनु निर्देशन सहित उनलाई फर्काए। त्यसपछि संवाददाताहरु शिक्षा विकास तथा समन्वय ईकाई सिरहाका प्रमुख डोलराज पाण्डेलाई केन्द्राध्यक्षले समाचार संकलन गर्न रोकेको जानकारी गराएपछि बल्ल प्रवेश पाएको अन्नपूर्ण पोष्टका संवाददाता शम्भु यादवले बताए।

संचारकर्मीको सहज पहुँच हुनुपर्ने परीक्षा केन्द्रमा किन रोकियो? कारण खोतल्दै परीक्षा कोठातर्फ अगाडि बढ्दा गार्ड (निरिक्षक) ले परीक्षार्थीलाई अलर्ट गराउँदै गए। केन्द्राध्यक्ष महतो बाहिरै अल्झाउने प्रयत्न गर्दै थिए। अडचन छिचोल्दै परीक्षा कोठातर्फ चियाउँदा कोठैभरी चिजबिज (उत्तर सामग्री) छरपस्टै देखिन्थ्यो। लगत्तै एक सरकारी अनुगमन टोली आए र उनले परीक्षार्थीसँग कुनै अमार्यादित चिजबिज भए निकाल्न आग्रह गरे। त्यसपछि  ह्वारह्वार उत्तर सामग्री निस्किन थाल्यो। यो दृश्य देखेर केन्द्राध्यक्ष महतो मुख विगार्न थाले। हुँदाहुँदा केन्द्राध्यक्ष महतोले अनुगमन टोलीलाई हप्कीदप्की र धम्की दिन थाले। यतीसम्मकी महतोले अनुगमन टोलीलाई तत्काल ननिस्किए आफू नै परीक्षा केन्द्र छोडेर निस्किने धम्की दिए। 

संवाददाताहरुसँग केन्दाध्यक्ष महतोले भने,‘अनुगमन भनेको त बाहिरबाट ‘रंगहवा’ हेरेर फर्किने हो विद्यार्थीसंग भएका चिजबिज खोस्ने होइन।’

विद्यालय निरीक्षक भवानी प्रसाद कट्टेलको अनुगमन टोलीले महतोले भनेजस्तै बाहिरबाट ‘रंगहवा’ हेरेर फर्केका थिए। कट्टेललले नागरिकसँग भने हामीलाई शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुखले परीक्षा कोठाको अमर्यादित क्रियाकलाप बाहिरबाटै हेर्न भनिएको छ। हामी निरीक्षकहरुलाई सम्झाइबुझाई फर्कने गरेको उनले बताए।

शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख डोलराज पाण्डेले भने, ‘ परीक्षा मर्यादित बनाउन खटिने अनुगमन टोलीले निरीक्षकलाई सम्झाउने भन्दा पनि परीक्षा कोठामा अमर्यादित कार्य भएनभएको हेर्ने र नियन्त्रण गर्ने पनि हो। परीक्षा कोठाभित्र परीक्षार्थीले उत्तर समग्री छिराएको भए खोस्ने र खोस्न लगाउने काम पनि अनुगमन टोलीकै भएको उनले भने। ललकु मावि परीक्षा केन्द्रमा अमर्यादित परिक्षा भइरहेको सूचना छ, यसलाई नियन्त्रण गर्छौ, उनले थपे।’

जनता मावि वस्तिपुर परिक्षा केन्द्रको पनि उही बेथीति छ। सेटिङमा परीक्षा कोठासम्मै उत्तर समग्री पुर्याएको पाइएको छ। अनुगमन टोलीले यस केन्द्रमा परीक्षा कोठाबाटै बोराका बोरा उत्तर सामग्री निकालेको छ।

सिट मिलाउनेदेखि निरीक्षकसम्ममा सेटिङ

स्रोतका अनुसार परीक्षाकोठामा सिट मिलाउनेदेखि निरीक्षक राख्ने सबैमा सेटिङ छ। परीक्षा आचारसंहिता अनुसार सिट प्लानिङ गर्दा केन्द्र भएका सबै विद्यालयका परीक्षार्थीलाई मिसाउने र निरीक्षकको सूची स्पष्ट देखिने गरी टाँस्नुपर्ने उल्लेख छ। ललकु, बस्तिपुर, पशुपतिलगायतका केन्द्रमा गार्डको सूची टाँसिएको पाइएन।

परीक्षामा अमर्यादित कार्य गर्नेलाई कारबाही गर्न परीक्षा समन्वय समितिले जिल्लाभरिका ३८ केन्द्र अनुगमनका लागि ८ वटा मूल टोली बनाएको छ। तर, नगरपालिका गाउँपालिकाका ईलाका प्रहरी कार्यालयहरुका प्रमुखहरु पनि अनुगमनमा खटिएको इकाई प्रमुख पाण्डेले बताए।

यसपालि एसईई परीक्षामा सिरहाबाट ९ हजार ६ सय ७० परीक्षार्थी सहभागी हुँदै छन्। जसमध्ये ४ हजार ९ सय ५६ छात्र र ४ हजार ४ सय ७६ छात्रा छन्। 

पहिलो, दोस्रो र तेस्रो दिनको परिक्षा हेर्दा प्रणाली फेरिएपनि प्रवृती उस्तै रहेको पाइएको शिक्षाविद् धरनीधर अधिकारीले बताए। जिल्लामा जारी परीक्षाको विकृति हेर्दा इमान्दार अनुगमन अझै नपुगेको हो की, उनले भने।

प्रकाशित: १३ चैत्र २०७५ ०८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App