१५ चैत्र २०८० बिहीबार
समाज

अझै जोखिमपूर्ण तुइनकै भर

सहिद लखन गाउँपालिका–४, ठेवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानी जोड्ने तुइनबाट दाउराको भारी ल्याउँदै महिला। तस्बिर: नरहरि/नागरिक

गोरखा - पहिलोपटक २०७२ सालमा प्रधानमन्त्री भएलगत्तै केपी शर्मा ओलीले दुई वर्षभित्र मुलुकलाई तुइनमुक्त बनाउने घोषणा गरे पनि सर्वसाधारण तुइनमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

ओलीले त्यसबेला तुइन हटाएर झोलुंगे पुल हाल्ने घोषणा गरेपछि झुन्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य दुर्गम भेगका सर्वसाधारणमा खुसी छायो। समय बित्दै गयो, केही ठाउँमा तुइन हटाएर झोलुंगे पुल पनि हालिए। तर तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अझै हटेको छैन। पृथ्वीराजमार्ग र गोरखा जोड्ने दुइटा झोलुंगे पुल ठेकेदारकै कारण नबन्दा अहिले पनि स्थानीय तुइन चढेर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। तुइनकै भरमा नदी वारपार गर्नुपर्ने बाध्यतामा रहेकालाई ओलीको त्यो घोषणा गफमै सीमित भएको छ।

पहिलोपटक २०७२ सालमा प्रधानमन्त्री भएलगत्तै केपी शर्मा ओलीले दुई वर्षभित्र मुलुकलाई तुइनमुक्त बनाउने घोषणा गरे पनि सर्वसाधारण तुइनमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

सहिद लखन गाउँपालिका–४, ठेवाटार र चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी जोड्ने एउटा तुइन छ। स्थानीयले वर्षौंदेखि तुइनकै भरमा त्रिशूली नदी वारपार गर्दै आएका छन्। ‘बजार आउन, जान, तरकारी बजारसम्म पुर्‍याउन, विद्यार्थी विद्यालय जान, आउन अहिले पनि तुइन प्रयोग गर्नुपर्छ’, स्थानीय रणबहादुर रानाले भने। चितवनको कुरिनटारस्थित शर्वशान्ति माध्यमिक विद्यालयमा पढ्न ठेवाटारका बालबालिका तुइन तरेर जान्छन्। यात्रा जोखिमपूण भए पनि १० मिनेटमा नदी वारपार गर्न सकिने र समयको पनि वचत हुने भएकाले सबैले (तारपुल) भनिने सुधारिएको तुइन प्रयोग गर्छन्। चेपाङ समुदाय बाहुल्य बस्ती रहेको ठेवाटार जोड्ने झोलुंगे पुल छिटो निर्माण गर्न ठेकेदार कम्पनीले चासो दिएको छैन।

तुइन नजिकै झोलुंगे पुलको जग ठड्याइएको वर्षौं भयो तर काम अघि बढेको छैन। नयाँ बाटो÷मना कन्स्ट्रक्सन जेभीले जिम्मा लिएको उक्त पुल २०७४ असोज १५ गते निर्माण पूरा हुनुपथ्र्यो। डेढ वर्ष नाघिसक्दा समेत उक्त पुल बनेको छैन। गोरखा र चितवनतर्फको जगमात्रै उठाएर अलपत्र अवस्थामा छाडिएको छ। झोलुंगे पुल छिटो बनाउन स्थानीयले ठेकेदारलाई पटक–पटक आग्रह गर्दै आएका छन्।

सोही कम्पनीले गण्डकी गाउँपालिका–८ घ्याल्चोकस्थित त्रिशूली नदीमाथि निर्माण गर्ने जिम्मा लिएको झोलुंगे पुल पनि अलपत्र छाडेको छ। तरकारी बेच्न, दैनिक बजार आउजाउ गर्न पृथ्वीरामार्ग छेउको चरौंदी बजार धाउनुपर्ने घ्याल्चोकवासी तुइनबाटै आउजाउ गर्न बाध्य छन्। घ्याल्चोक तरकारीको पकेट क्षेत्र हो। तुइन निर्माण ढिलो हुँदा तरबारी बजार ल्याउन दिनहुँ समस्या भएको गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए। ‘लठ्ठा तान्दै हिँड्नुपर्छ, वर्षौंदेखिको यो समस्या उस्तै रह्यो, ठेकेदारले छिटो काम नगर्दा समस्या भएको छ’, उनले भने। स्थानीयको औंला च्याप्ने, तारमा जोडले बल लगाएर तान्नुपर्दा बूढाबूढी र बालबालिकालाई समस्या हुने गरेको छ। स्थानीय १० वर्षअघि बनाइएको तुइनमा राख्ने कोर्केमा बसेर आउजाउ गर्छन्। यो पुल निर्माण हुनुपर्ने समय पनि वर्ष दिन नाघिसकेको छ। अहिले पिलर उठाउनेबाहेक अरु काम भएको छैन। निकै व्यस्त पृथ्वीरामार्गको छेउमै अलपत्र झोलुंगे पुल छिटो बनाउन उक्त बाटो भएर हिँड्ने शीर्ष नेता, मन्त्रीदेखि सरोकारवाला कार्यालयका कर्मचारीले पनि चासो नदिँदा ठेकेदारको अटेरी बढेको गुनासो स्थानीयको छ।

प्रकाशित: ११ चैत्र २०७५ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App