८ वैशाख २०८१ शनिबार
समाज

जब आगोमाथि नाचे युवा

भक्तपुर - भक्तपुरका युवाहरुले परम्पराअनुसार आगोको भर्भराउँदो भुंग्रोमाथि नाच्ने नाच सम्पन्न गरेका छन्। शुक्रबार राति भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलस्थित बैरिखेलमा भट्टराई खत्रीको वशिष्ठ गोत्रका एक दर्जन युवासहित धामी र गुरुहरु गरी कुल २३ युवाहरुले एक सय आठ भारी दाउराको भर्भराउँदो भुंग्रोमाथि नाचे। प्रत्येक वर्ष एक पटक उनीहरु यसरी नै नाच्ने गर्दछन्।

सिपाडोलको बैरिखेलमा भट्टराई खत्रीको वशिष्ठ गोत्रहरुका परम्परादेखि आएको यो चलनलाई खली खाने भनिन्छ। गाउँका सबै युवाहरुलाई एकै थलोमा जम्मा पारी महिनौं लगाएर तान्त्रिक विधिबाट कामेका युवाहरुलाई मात्रै भर्भराउँदो आगोमा नचाएर खली खुवाइने चलन छ। लडेर, डुबेर, डडेर, विषसेवन वा अकालमा ज्यान गुमाएका आत्माको चीर शान्तिका लागि यस्तो गर्ने परम्परा रहेको स्थानीय बताउँछन्। जिवित रहेका सन्ततीहरुको सुख र समृद्धिका लागि भन्दै खली खुवाइने गरेको उनीहरु बताउँछन्। भर्भराउँदो भुंग्रोमाथि नाचेर खली खाई भट्टराई खत्रीका कुलायन पूजामा सहभागी बनेकाहरुले आफूहरुलाई पहिले सुरुमा डर लागे पनि मज्जाले आगोमा नाच्न सकेको बताउँछन्।

कुलका पुराना धामी कुमाल भट्टराई खत्रीले यस्तो परम्परा गरेपछि गोत्रभित्रका परिवारका सदस्यतमा शान्ति मिल्ने विश्वासका साथ प्रत्येक वर्ष यो प्रचलनमा रहेको बताए। गोत्रभित्र धेरैलाई काम्ने, छोप्ने समस्या आएको र जुनसुकै उपचार गरे पनि निको नहुने भएकाले यस्तो गर्नुपरेको विश्वास रहेको उनले सुनाए। आगोको भुंग्रोमा खाली खुट्टाले नाच्ने काम सामान्य नभएता पनि दैविक शक्तिकै कारण धामीहरुका लागि यो सम्भव रहेको अर्का धामी युवराज भट्टराई खत्री बताउँछन्। एकजना गुरु धर्मेन्द्र विष्टले यो परम्परा विगतदेखि नै चल्दै आएको बताउँदै कुलभित्रका कोही व्यक्तिले आत्महत्या वा अकालमा मृत्यु भएको खण्डमा कुलभित्र अशान्ति हुने र यसो गरेको खण्डमा कुलका सबैलाई शान्ति मिल्ने विश्वासका साथ चलनले निरन्तरता पाएको बताए।

एक महिनादेखि पूजा र ध्यानमा बसेपछि साइत जुराएर खलीको लागि युवाहरुलाई तयार गर्ने चलन छ। खली खुवाउने दिन बेलुका उनीहरुलाई तयार पारी एक सय आठ भारी दाउरा बालेर बनेको भुंग्रोमा नाच्न लगाइन्छ। नाच्दा सबै भुंग्रोलाई खरानीमा परिणत गर्नुपर्ने चलन छ। खरानी नबन्दासम्म उनीहरु र गुरुहरु भुंग्रामा नाचिरहन्छन्। जब खरानी हुन्छ, अनि विभिन्न नाममा थापिएको देवीदेवतालाई बली दिइन्छ। बलीपश्चात ती युवाहरुलाई बत्ती खुवाइन्छ र खली खुवाउने कार्यक्रम समाप्त हुन्छ।

प्रकाशित: १० चैत्र २०७५ ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App