१५ चैत्र २०८० बिहीबार
समाज

तीन हजारको लागि हत्या

धनगढी– चैत २ गते गोदावरी नगरपालिका ४ राजमार्गबाट खैरानी जाने सडक खण्डमा टाउकोमा चोट लागेको अवस्थामा एक अधबैसें पुरुषको शव फेला पर्यो। दुर्घटनामा परेको हो वा हत्या एकिन गर्न नमिल्ने त्यो शव बैतडी दशरथ चन्द नगरपालिका वानं २ का ४५ बर्षीय हर्क बहादुर भण्डारी थियो। 

उनीसँग भएको पैसा लुट्नका लागि योजना बनाएर कञ्चनपुर लालझाडी गाउँपालिका २ चान्देउ शिविर बस्ने २४ बर्षीय पुन्टु भाट र कैलाली गोदावरी नगरपालिका ६ लालपुर बस्ने २३ बर्षीय गोविन्द आउजीले उनको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। योजना बनाएर उनको हत्या गरेको दुवै जनाले स्वीकारेको कैलालीका प्रहरी उपरीक्षक आभुषण तिमिस्नाले बताएका छन्। दुवै जनालाई प्रहरीले शुक्रवार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ। ‘उनीसँग भएको ३ हजार रुपैयाँ लुट्नको लागि दुई जना मिलेर हत्या गरेको खुलेको छ’, उनले भने।

यसरी गरियो हत्या

बैतडी घर भएका ४५ बर्षीय भण्डारी कञ्चनपुरको वाणीमा आफन्तको घरमा पटक पटक आउने गरिराख्थे। पुन्टुभाट र गोविन्द आउजी नाताले भिनाजु साला पर्छन। पहाड घर बैतडी दशरत चन्द नगरपालिका भएकाले भाटले भण्डारीसँग चिनजान गरे। लुटपाट लगायतका अपराधिक गतिबिधी गरिराख्ने भाट र आउजी पैसा लुट्ने दाउमा थिए। पहाडबाट आएका भण्डारी झोला बोकिराख्थे। 

उनीहरुले भण्डारीसँग पैसा भएको अड्कल काटे र लुट्नका लागि उनलाई उपयुक्त पात्र रोजे। उनलाई लुट्ने योजना बुने। चैत १ गते अंकल भनेर उनीहरुले भण्डारीसँग नजिक भए। अत्तरियामा बसपार्क नजिक ल्याएर एक होटलमा तिनै जनाले मदिरा सेवन गरे। मदिराको पैसा समेत दुई युवकले तिरे। निकै हितैसी व्यवहार गरेर राती आफ्नै घरमा भण्डारीलाई जान आग्रह गरे। भण्डारीले उनीहरुको षडयन्त्रको कल्पनासमेत गरेनन्। भण्डारी आग्रह मानेर उनीहरुको घर जान तयार भएको प्रहरी उपरीक्षक तिम्सिनाले बताए। अटोमा चढेर ३ जना उनीहरुको घरजान भनेर गए। राती ९ बजेतिर गोदावरी नगरपालिका ४ जंगल छेउमा अटो रोक्न लगाई कुटपिट गरि ढुंगाले टाउकोमा हानेर हत्या गरेको उनले बताए। उनीसँग भएको रकम लिए। हत्या गरेको खुल्ने डरले चैत २ गते बिहान ४ बजे पुन उनीहरु त्यहाँ आए। ढुंगाले शवको मुखमा हानेर क्षतबिक्षत नचिनिने बनाएर सडकमा ल्याएर फाले। 

दुर्घटना भएको देखाउन करिब १ सय ४४ फिट तानेर सडकमा शव फालेको उनीहरुले बयान दिएको प्रहरीले बताएको छ।‘सडक खण्डमा कुनै गाडीले ठक्कर दिएर वा दुर्घटना भएर मृत्यु भएको देखाउन उनीहरुले सडकको बिचमा ल्याएर फाले’, उनले भने।

हत्यापछि उनीहरु २, ३ दिन लुकेर बसेका थिए। प्रहरीले होटलमा उनीसहित ३ जनाले मदिरा खाएको जानकारी पाएपछि कलडिटेल लगायतको आधारमा खोजबिन गरेर हत्यारासम्म पुगेको उनले बताए। हत्यारा पत्ता लगाउन दुर्घटना भएर मृत्यु भएको भनेर हल्ला समेत फैलाएको उनको भनाई छ। उनीहरु घरमा जाँदा लुगामा रगत लागेको देखिएको थियो।  उनीहरुलाई भण्डारीसँग अलि बढी पैसा भएको आंकलन गरेर उनीसँग दोस्ती गरेर लुट्ने योजना बनाएको प्रहरीले बतायो। 

भाट यसअघि पनि बलात्कारको मुद्धा साढे ३ बर्ष जेल सजाय काटिसकेका व्यक्ति हुन। भारतमा मजदुरी गर्ने आउजी भने केही समय पहिले घर आएको र भाटको योजनामा उनी हत्यामा संलग्न भएको बताइएको छ।

प्रकाशित: ८ चैत्र २०७५ १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App