२८ श्रावण २०७७ बुधबार
समाज

होलीको रौनक

‘आउनुस्, तीन सयमा दुई होलीका टिसर्ट किन्नुस्...।’ हातमा सेतो रंगको ‘ह्याप्पी होली’ लेखिएको टिसर्ट बेच्न ग्राहक बोलाउँदै थिए, चन्दनलाल। कहिले सुन्धाराको गल्ली त कहिले न्युरोडको गेटसम्म पुग्ने उनी दिनभर व्यापारका लागि हिँडिरहने बताउँछन्। मौसम अनुसारको लुगाको व्यापार गर्ने चन्दनलाल कहिले कुर्तीका डिजाइन बेच्ने गर्छन् भने कहिले चिसो मौसमका लुगा।

केही दिनयता भने उनलाई ‘ह्याप्पी होली’ लेखिएका टिसर्ट बिक्री गर्न भ्याइनभ्याई छ। साना उमेरका नानीदेखि पाकासम्मका लागि हुने टिर्सट बेच्ने उनी बताउँछन्। उनी भन्छन्, ‘हामी व्यापारीको लागि चाडपर्व कमाउने राम्रो माध्यम हो, होलीको समयमा मात्र यी टिर्सटको महŒव हुन्छ, अन्य समयमा यी सामानको महत्व नै हुँदैन।’ बेला मौकामा व्यापार गर्नुपर्ने भएकाले बिहानदेखि नै व्यापार गर्न व्यस्त हुने उनी बताउँछन्। होलीको समयमा टिसर्ट लगाउने ट्रेन्ड गत वर्षको तुलनामा धेरै बढेको उनी बताउँछन्। ‘विशेष गरी युवापुस्तामा होली मनाउने तरिकामा निकै परिवर्तन आएको छ,’ उनले भने। स्कुल र कलेज पढ्ने टिनएजका किशोर–किशोरीमा होलीको विशेष रौनक भएको उनी बताउँछन्।

उनीजस्तै व्यापारी शर्मिला खड्कीलाई रंग र पिच्कारी बेच्न भ्याइनभ्याइ छ। खड्की बिहानै ८ बजे असनमा आएर समान बेच्नमा व्यस्त हुन्छिन्। उनले मौसम अनुसार पुजाको सरसमान बेच्ने थालेकोे १६ वर्ष भइसक्यो। समय र मौसम अनुसार सडक व्यापार गर्ने उनी अचेल होलीलाई आवश्यक सरसमान बेच्नमा व्यस्त छिन्। ‘म त समय मौसम र पर्व अनुसारका सामान व्यापार गर्छु, चाडको बेलामा व्यापार राम्रै हुन्छ,’ उनले भनिन्। होलीको समयमा रातो, पहँेलो, हरियो, गुलाफी, नीलो लगायत रंगको व्यापार धेरै हुने उनी अनुभव सुनाउँछिन्। साना केटाकेटी पिच्कारी, लोलाको गुवारा खोज्न आउने उनी बताउँछिन्।

आउँदोे बुधबार अर्थात् चैत ६ गते पहाडमा  र बिहीबार चैत ७ गते तराईमा होली मनाइँदैछ। आफसी सद्भाव र शुभकामना आदान–प्रदान गरेर होली मनाउने चलन छ। होलीलाई रंगसँग मानवीयता तथा भावना साटासाट गर्ने अवसरको रूपमा मनाउँदै आएको बताउँछिन्, पाटनकी निसा महर्जन। ‘मलाई रंगहरूको मौसम, होली निकै मनपर्छ, प्रत्येक वर्ष परिवार साथीभाइसँग मिलेर खेल्छौं, यो वर्ष पनि परिवार र आफन्त एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने योजनामा छौं,’ उनले भनिन्।

गएको वर्ष परिवारका सदस्यको लागि ‘ह्याप्पी होली’ लेखिएको टिसर्ट ल्याए पनि यसपालि भने आफ्नो लागि सेतो रंगको कुर्ती र जिन्स लगाउने योजनामा रहेको उनी बताउँछिन्।  

रंगबाट छालालाई कसरी जोगाउने ?
छालालाई रंगबाट पनि बचाउनु आवश्यक हुन्छ। चैतमा चिसो हावा चल्ने भएकाले छाला फुटेर रुखो हुने तथा घाउ हुन सक्ने सम्भावना भएकाले विशेष ध्यान दिनु पर्ने ब्युटिसियन वन्दना राई बताउँछिन्। छालाको उचित स्याहारका लागि होली खेल्नुअघि निकै सावधानी अपनाउनु पर्ने उनी बताउँछिन्।

होलीको लागि प्रयोग गरिने रंगमा छालालाई नकारात्मक असर गर्ने केमिकलयुक्त रंगले छालामा समस्या निम्त्याउने उनी बताउँछिन्। मिसावट नभएर मुलायम अबिरको प्रयोग गर्न उनी सुझाउँछिन्। रंगबाट छालालाई जोगाइराख्न लागि होली खेल्नुअघि छालामा मोस्च्यराइजर क्रिम, सनब्लक क्रिम अथना गाउँघरमा उपलब्ध तोरीको तेल लगाएर खेल्नुपर्ने उनी बताउँछिन्। होलीको रौनकमा रम्दा स्वास्थ्यमा असर नगरोस् भन्नको लागि लामो बाहुँला भएका पहिरनको प्रयोग गर्नुपर्ने उनी सुझाउँछिन्। कपाललाई रंगबाट बचाउनको लागि स्कार्फ, रुमालको प्रयोग गर्न सकिन्छ। टाउकोमा तेल लगाएर अथवा हेयर क्रिमको प्रयोग गर्दा लाभ हुने उनी बताउँछिन्। होली खेल्नलाई हिँडेपछि बारम्बार साबुन पानीले रंग धुन प्रयोग नगर्न उनी सुझाउँछिन्।

होली अर्थात् फागु पूर्णिमाको इतिहास
होली अर्थात् फागु पूर्णिमा प्रत्येक वर्षको अन्त्यमा मनाउने गरिन्छ। आपसी सद्भाव, भाइचारालाई यथावत राखिराख्न यो पर्व प्रत्येक वर्ष हर्सोउल्लासका साथ मनाउने गरेको समाजशास्त्री विनोदराज शर्मा बताउँछन्। हिन्दू धर्मको पौराणिक मान्यता अनुसार परापूर्वकालमा हिरण्यकश्यपुकी बहिनी ‘होलिका’को अन्त्यको खुसीमा होली मनाउँदै आइएको छ। यससँगै होलीलाई वसन्त ऋतुको आगमनको खुसीको रुपमा मनाउने गरिएको पाइन्छ।

उनी भन्छन्, ‘वर्षको अन्त्यमा वसन्त ऋतुको आगमनमा नयाँ पालुवा पलाउने, रंगीचंगी फूल जस्तै रंगिन सम्बन्ध कायम गर्न होली पर्वलाई उल्लासका साथ मनाउने गरिन्छ।’ होली अर्थात् ‘फगुआ’ फागुन शुक्ल अष्टमीको दिन ‘चीर’लाई रंगीन कपडा बाधेर गाडी पूजा गरेपछि होली सुरु भएको मानिने उनी बताउँछन्। ‘चीर’ अर्थात् इज्जतको स्थापना गरेर मनाउने प्रचलन रहेको उनी बताउँछन्। ‘होली पर्वमा चीरको पूजा गरेर इज्जतलाई पछिसम्म जोगाएर राख्नलाई पूजा गरिने जनविश्वास छ,’ उनले भने।

टोलटोलमा समूह मिलेर आगनमा भीमसेन र द्रोपतीको पूजा गरेर मनाउने उनी बताउँछन्। ‘भीमसेन र द्रोपतीलाई शिव पार्वतीको अवतारका रुपमा पूजा गर्ने चलन  छ,’ उनी भन्छन्। तर, पछिल्लो समय होलीलाई असभ्य तरिकाले मनाउने विकृति बढेको उनको भनाइ छ। यसको संरक्षणका लागि सरोकारवाला सबैले चासो दिनुपर्ने उनको भनाइ छ। होलीलाई भव्यताका साथ मनाउने प्रचलन लोप भएकोमा उनी गुनासो पोख्छन्। उनी भन्छन्, ‘सुरुवातदेखि होलीको समयमा अबिरको प्रयोग गरिन्थ्यो। रंग, लोला, ग्रिसिङको प्रयोग गर्ने विकृति पछि मात्रै भित्रिएको हो।’

प्रकाशित: ४ चैत्र २०७५ ११:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App