१६ चैत्र २०८० शुक्रबार
समाज

वन मासेर ढुंगाखानी

ललितपुरको लेले, टीकाभैरव क्षेत्रमा सञ्चालन भएको अवैध ढुंगाखानी। तस्बिर : शिवहरि/काष्ठमण्डप

जनप्रतिनिधिको संलग्नतामा अवैध ढुंगाखानी र बालुवाखानी सञ्चालन गरिँदा ललितपुरको दक्षिणी भेगमा पर्ने लेले, टीकाभैरव, दुम्सिडोल र देवीचौरस्थित सामुदायिक वन तहसनहस भएको छ। जनताको कामसँगै तल्लो तहमा विकास निर्माणको मुख्य योजनाकारका रूपमा चुनिएका गोदावरी नगरपालिकाका जनप्रतिनिधिबाटै उक्त क्षेत्रमा वन विनास भइरहेको हो।

अवैध ढुंगाखानी र बालुवाखानी सञ्चालन गर्नका निम्ति यहाँका डाँडाकाँडा ताछिएका छन्। वनक्षेत्रमा पर्ने करिव ५ किमी क्षेत्रफल मरुभूमिजस्तै भएको छ। लेले, नल्लु खोलाको धार परिवर्तन खोलालाई धमिलो पारिएको छ। बिहानैदेखि बेलुकीसम्म ढुंगा, गिटी र बालुवा बोक्न प्रयोग गरिएका ट्रिपरका कारण उपत्यकालाई हेटौंडासँग जोड्ने सबैभन्दा छोटो मार्ग कान्तिलोकपथ निर्माणमा समेत बाधा पुगेको छ।

ढुंगा निकासी र बालुवाखानी सञ्चालनमा गोदावरी नपा वडा–६ का वडा अध्यक्ष विष्णुमान महर्जनको प्रत्यक्ष संलग्नता छ। यस्तै, वडाध्यक्ष महर्जनका भाइ तथा व्यापारी वीरेन्द्र महर्जन, श्याम महर्जन र मधुसुदन डोटेलको अवैध निकासीमा संलग्नता छ। त्यस्तै, गोदावरी नपा वडा १० का वडाध्यक्ष दर्शनकुमार विष्ट र वडा ५ का वडाध्यक्ष मिलन सिलवालको पनि यस क्षेत्रका अवैध खानीमा लगानी र संलग्नता छ। ‘एक ठाउँमा खानी दर्ता गरेर धेरै ठाउँमा अवैध खानी सञ्चालन गर्ने जनप्रतिनिधि नै हुन्,’ स्रोतले भन्यो, ‘गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले पनि वडा अध्यक्षसँग मिलेर अवैध खानी सञ्चालन गरेका छन्, होइन भने यसरी अवैध निकासी भइरहँदा मेयरले किन कारबाही गर्न नसकेको ?’ अवैध ढुंगाखानी र बालुवाखानी सञ्चालन गर्नका निम्ति यहाँका डाँडाकाँडा ताछिएका छन्। वनक्षेत्रमा पर्ने करिव ५ किमी क्षेत्रफल मरुभूमिजस्तै भएको छ। लेले, नल्लु खोलाको धार परिवर्तन गरिएको छ। बिहानदेखि बेलुकीसम्म ढुंगा, गिटी र बालुवा बोक्न प्रयोग गरिएका ट्रिपरका कारण उपत्यकालाई हेटौंडासँग जोड्ने सबैभन्दा छोटो मार्ग कान्तिलोकपथ निर्माणमा समेत बाधा पुगेको छ।

विभिन्न व्यवसायीसँगको ‘सेटिङ’मा जनप्रतिनिधिले लेले, टीकाभैरव क्षेत्रको वन र खोलामा दुई वर्षयता ढुंगाखानी र बालुवाखानी सञ्चालन गर्दै आइरहेका हुन्। जनप्रतिनिधि भइसकेपछि पनि ढुंगा बालुवाको अवैध निकासी गर्दा त्यसको असर वन क्षेत्र र स्थानीयमा परेको छ। शनिबार स्थलगत रिर्पोटिङको लागि नागरिककर्मी अवैध निकासी भएको क्षेत्र लेलेमा पुग्दा ढुंगा र बालुवा बोक्न प्रयोग गरिएका बा३ख १४८५, बा३क १९९९, बा३क १९९७, बा१ख ८९३९ लगायत नम्बरका ट्रिपर नल्लु खोलामा लामवद्ध थिए।

अवैध निकासीले ५ रोपनीभन्दा बढी वन क्षेत्रको जग्गा मासिएको स्थानीय बताउँछन्। ‘पानी निस्कने मुहानमा जथाभावी उत्खनन् भइरहेको छ,’ लेलेका एक स्थानीयवासीले भने, ‘हामीले कैयौंपल्ट विरोध गर्दा पनि नगरपालिका र जनप्रतिनिधिको ध्यान गएन।’ उनका अनुसार यो क्षेत्रका वनमा दिनहुँ दर्जनौं स्काभेटर (हेभी इक्युपमेन्ट) र भ्रेकर (भाइब्रेसनका मद्दतले ठुल्ठूला ढुंगा फोर्ने मेसिन)को प्रयोग गरी ढुंगा उत्खनन् भइरहेको छ। यहाँबाट ढुंगा, गिटी र बालुवा बोकेर निस्किएका ट्रिपर चापागाउँ प्रहरी वृत हुँदै सातदोबाटो, चापागाउँ दोबाटो, नक्खु हुँदै गुड्छन्। तर, तिनको निगरानी प्रहरीले पनि गरेको देखिन्न।

महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी ईश्वरकाजी खिउजुले अवैध निकासीबाट ढुंगा, गिटी, बालुवा बोकेका ट्रिपरलाई पूर्ण नियन्त्रण गरेको दाबी गरे। उनले एक्लो प्रहरीले मात्रै यस क्षेत्रका अवैध खानी रोक्न नसक्ने बताए। ‘हामीले अवैध रूपमा भित्रिएका हरेक सामग्री चापागाउँ नाकामा रोक्दै आएका छौं, खानीको विषयमा हामीलाई त्यति जानकारी छैन, यसबारे जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग सबैले चासो दिनुपर्छ, प्रहरीलाई गाली ख्वाएर अरुले फाइदा लिनु भएन।’

गोदावरी नगरपालिकाको तथ्यांक अनुसार नगरपालिकाभित्र २२ क्रसर उद्योग छन्। वडा अध्यक्ष विष्णुमान महर्जनको ‘सगरमाथा क्रसर उद्योग’ २०७३ यता नवीकरण भएको छैन। वडा अध्यक्ष दर्शनकुमार विष्ट र विष्णुमान महर्जनले लेलेमै सञ्चालन गरेको ढुंगाखानी पनि खानी दर्ता नभए जिल्ला समन्वय समितिले जनाएको छ। घरेलु तथा साना उद्योग विकास ललितपुरको तथ्यांक अनुसार ललितपुर सबैखाले खानी र क्रसर उद्योग गरेर जिल्लाभर ५७ वटा छन्। गत कात्तिक २८ मा जिल्ला समन्वय समिति ललितपुरले पुराना र अवैध खानीको अनुगमन गरी नवीकरण गर्न निर्देशन दिएको थियो। खानी व्यवसायीहरूले नियमित रूपमा खानी र क्रसर उद्योग दर्ता नगरेको जिल्ला समन्वय समितिका अध्यक्ष अमरबहादुर खड्काले जानकारी दिए। ‘खानी सञ्चालनको विषय निकै विवादित बनेको छ, हामीले एकथरीबाट अनुगमन गरेका हुन्छौं, नगरपालिकाले आफ्नै तरिकाले अनुगमन गर्छ,’ उनले भने, ‘घरेलु तथा साना उद्योगले फेरि फरक ढंगबाट अनुगमन गर्छ, सबै निकायले समन्वय गरेर अवैध खानी तथा क्रसर उद्योगलाई निगरानी नगर्दा यसको समस्या आएको हो।’  

डेढ वर्षअघि संसद्को प्राकृतिक स्रोत साधन समितिले समेत यस ठाउँमा वातावरणीय प्रभाव, वन विनास, धुलो–धुवाँ लगायतका प्रदूषण, स्थानीयको कष्टकर जनजीवनलाई हेरेर खानी तथा क्रसर सञ्चालन गर्न पूर्ण रूपमा रोक लगाएको थियो। तर, यस क्षेत्रका जनप्रतिनिधिले नै उक्त निर्देशनविपरित खानी सञ्चालन गर्न दिएको स्थानीयको आरोप छ। टीकाभैरवका स्थानीय लक्ष्मण रानाका अनुसार जनप्रतिनिधिले यस क्षेत्रका विभिन्न ठेकेदार र टोलका जग्गा व्यवसायी उठाएर दर्तै नगरी खानी सञ्चालन गरेका छन्। ‘अवैध निकासी थालिएसँगै टीकाभैरव र देवीचौर क्षेत्रका वनको क्षेत्रफल घट्न थालेको छ,’ उनले भने, ‘करिब १० रोपनी क्षेत्रफलमा ढुंगा निकासी भइरहेको छ। महर्जनले सोही वडाकै दुम्सीडोल ठूलो सामुदायिक वन, दैवीचौर सामुदायिक वन मासेर अवैध ढुंगा खानी सञ्चालन गर्न ठेकेदार लाई अनुमति दिएका छन्।’
गोदावरी नगरपालिकाले निगरानी नराख्दा रुख काटिदै छन् भने भित्तो उधिनेर ढुंगा निकासी बढ्दो छ। तर, मेयर गजेन्द्र महर्जनले यसबारे अनुगमन गर्ने भन्दै टार्न खोजे। खानीमा आफ्नो कुनै पनि संलग्नता नरहेको मेयर महर्जनले दाबी गर्दै उनले लेले क्षेत्रका खानी अन्त सार्ने तयारी भइरहेको बताए। ‘अवैध रूपमा सञ्चालन भएका खानी रहेछन् भने तिनलाई बन्द गर्छौं,’ उनले भने, ‘यसबारे नगपालिकाले पहिलेदेखि नै ध्यान दिँदै आइरहेको छ।’ वडा अध्यक्ष विष्णुमान महर्जनले जनप्रतिनिधि हुनुपहिले नै आफू ढुंगा र बालुवा व्यवसायमा लागेकाले अहिले पनि त्यसैमा निरन्तर लागेको बताए। ‘हामीले गर्न जानको काम यही हो, यसबाट केही युवालाई रोजगार पनि दिएछौं,’ उनले भने, ‘यसले पुनःनिर्माणमा सहयोग पु-याएको छ।’

प्रकाशित: ४ चैत्र २०७५ ०५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App