१६ चैत्र २०८० शुक्रबार
समाज

बेलामा बजेट नपठाउँदा योजना बेटुंगो

खोटाङ - प्रदेश १ सरकारले प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको बजेट नपठाउँदा खोटाङका सडक योजनाको काम बेटुंगो बनेको छ। त्यस किसिमको बजेट विनियोजन भएको जानकारी पाएर सडक निर्माणका लागि तम्तयार भएर बसेको तीन महिना बित्न लागे पनि हालसम्म योजना सुरु र सम्पन्न हुने मिति अनिश्चित रहेको भन्दै स्थानीयको गुनासो आउन थालेको छ।

खोटाङको साकेला गाउँपालिकाको डाँडागाउँ–छापटोल–साप्सु सडक निर्माणका लागि प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमको १७ लाख बजेट विनियोजन गरिए पनि प्रदेश सरकारको व्यवहारका कारण काम अघि बढ्न सकेको छैन। यस्तै हलेसी तुवाचुङ नगरपालिको बलुई–बाइटार–रातमाटे सडक निर्माणका लागि त्यसै कार्यक्रमबाट १० लाख विनियोजन गरिएको जानकारी सार्वजनिक भएको छ। तर हालसम्म सो बजेट प्राप्त नहुँदा सडक निर्माणको काम पनि बेटुंगो बनेको छ। उपभोक्ता काम गर्न आतुर छन् तर विनियोजित बजेट प्रदेशबाट पठाइएको छैन।

बेलामा प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमको बजेट उपलब्ध नहुँदा पुनः असारमा हतार–हतार खर्च गर्ने परम्पराले निरन्तरता पाउने अवस्था आएको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए।

खोटाङ ‘क’का प्रदेशसभा सांसद राजन राई र ‘ख’का रामकुमार राईले पुस २५ गते दिक्तेलमा पत्रकार सम्मेलन गरेर जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ३२ योजनाका लागि बजेट विनियोजन गरेको तथ्य सार्वजनिक गरेका थिए। तर आर्थिक वर्ष बित्न चार महिना बाँकी रहँदासम्म प्रदेश सरकारले पूर्वाधार विकास कार्यक्रमको बजेट सम्बन्धित स्थानीय तहमा पठाएको छैन। बेलामा बजेट नपठाउँदा प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमको बजेट कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएको साकेला गाउँपालिका प्रमुख अर्जुन खड्काले बताए।

‘उपभोक्ता काम गर्न तयार छन्। तर बजेट पठाइएको छैन,’ गाउँपालिका प्रमुख खड्काले भने, ‘बजेट पठाउन जति ढिला भयो उत्ति नै बजेट लाखार–लुखुर पारेर सिध्याउने वा फ्रिज हुने सम्भावना बढ्दै गएको छ।’ अब पनि बजेट निकासामा ढिलाइ भए कार्यान्वयन गर्न कठिनाइ हुने खड्काको भनाइ छ। प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत खोटाङ ‘क’ र ‘ख’का लागि १६÷१६ वटा योजनाका लागि बजेट विनियोजन गरिएको छ। अधिकांश बजेट सडक निर्माणका लागि छुट्याइएको छ। तर बजेट कार्यान्वयनमा भने प्रदेश सरकारको ढिलासुस्ती देखिएको छ। पूर्वाधार विकास कार्यक्रमको बजेट प्राप्तिमा ढिलाइ हुँदा कतिपय जनप्रतिनिधिमाथि बजेट ल्याउन ‘पहल नगरेको’ आक्षेप लाग्ने गरेको छ। जनप्रतिनिधिहरूका अनुसार योजनाको काम सुरु गर्न किन ढिलाइ गरेको भन्दै जनताले प्रश्न सोध्ने गरेका छन्।

बेलामा प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमको बजेट उपलब्ध नहुँदा पुनः असारमा हतार–हतार खर्च गर्ने परम्पराले निरन्तरता पाउने अवस्था आएको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए। ‘यो बेला प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमको बजेटबाट धमाधम काम भइरहेको हुनुपर्ने हो,’ उनले भने, ‘एकैचोटि असारमा हतपत गर्दै खर्च गर्ने परम्पराले निरन्तरता पाउने अवस्था देखिएको छ, जुन विकासका दृष्टिकोणले असफल तरिका हो।’ असारे विकासका क्रममा बजेट दुरुपयोगको खतरा बढी हुने भएकाले उपभोक्ता चनाखो हुनुपर्ने बेला आएको राईको भनाइ छ।

प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमको बजेटबाट काम गर्नका लागि कतिपय ठाउँमा उपभोक्ता समिति गठन गरिसकिएको छ। कतिपय ठाउँमा गठनको क्रममा छ। संघले बेलामा कर्मचारी व्यवस्थापन गर्न नसक्दा प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमको बजेट पठाउन ढिलाइ भएको खोटाङ ‘क’का प्रदेशसभा सदस्य राजन राईले बताए। ‘प्रदेशमा कर्मचारी नहुनाले बजेट पठाउन ढिलाइ भएको हो,’ प्रदेशसभा सदस्य राईले भने, ‘तर अब छिट्टै बजेट आउँछ।’

प्रकाशित: ३ चैत्र २०७५ ०२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App