१५ चैत्र २०८० बिहीबार
समाज

एघारा योजनाको उपभोक्ता समिति एउटै

खोटाङ – अलगअलग उपभोक्ता समितिमार्फत काम गर्नु÷गराउनुपर्नेमा खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ११ वटा सडक योजनाका लागि एउटै उपभोक्ता समिति गठन गरिएको पाइएको छ। उपभोक्ता समिति गठन निर्देशिकाविपरीत एउटै उपभोक्ता समितिमार्फत २८ लाख ५० हजार रुपैयाँ निकासा गरी ११ वटा योजनाको काम अघि बढाइएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।

गाउँपालिकाले सुरुङखेल–हुम्मापोखरी सडक (१ लाख ४० हजार), खर्क–पाथीभरा सडक मर्मत (३ लाख ५० हजार), डाँडाखर्क–मार्से कृषि सडक निर्माण (१ लाख), मालबासे–काजीधारादेखि बस्नेत बीचटोल कृषि सडक (१ लाख ३० हजार, पार्टीगैरादेखि काभ्रेखोला सडक स्तरोन्नति (४ लाख) को काम जीवन तामाङको अध्यक्षतामा बनेको उपभोक्ता समितिलाई जिम्मा दिएको छ। यस्तै बाजगरादेखि काभ्रे कृषि सडक (३ लाख), जुम्ल्याहा डाँडादेखि कार्कीभन्ज्याङ कृषि सडक (१ लाख ३ हजार), घोडेडाँडा फोक्तुङ सडक ट्र््याक (२ लाख), भीरगाउँ–कार्कीगाउँ सडक (१ लाख ५० हजार), डिहीडाँडादेखि भानुमती दोभान सडक बिस्तार (१ लाख ५० हजार) को जिम्मा पनि सोही उपभोक्ता समितिलाई दिइएको छ।

नाकेपानी–सुरुङ्खेल सडक स्तरोन्नतिका लागि सडक विभागमार्फत प्राप्त आठ लाख बजेटसमेत सोही उपभोक्ता समितिमार्फत सञ्चालन प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ। कमिसनको खेलमा एउटा उपभोक्ता समितिलाई धेरै वटा योजना दिइएको स्थानीयको आरोप छ। हरेक योजनाको छुट्टा–छुट्टै उपभोक्ता समिति गठन गरेर काम गर्नका लागि गाउँपालिकासमक्ष माग राख्दा सुनुवाइ नभएको नेकपाका नेता याम राईले बताए। ‘गाउँपालिका प्रमुख र वडाध्यक्षको बैठकमा मैले एउटा उपभोक्ता समितिलाई सबै योजना जिम्मा लगाउनु नियमविपरीत हुन्छ भनेर कुरा राखेको थिएँ,’ राईले भने, ‘तर हाम्रो कुरा सुनिएन। आफुखुसी काम गरियो।’ हरेक योजनाका लागि छुट्टाछुट्टै उपभोक्ता समिति गठनको माग गर्दै नेकपाकै नेता तिलक बस्नेतले गाउँपालिकामा निवेदनसमेत दिएका छन्।

गाउँपालिका प्रमुख शंकर राईले भने हरेक उपभोक्ता समितिको खाता खोल्दा तीन हजारका दरले लाग्ने शुल्क बचाउनका लागि एउटा मूल उपभोक्ता समितिमार्फत काम अघि बढाउने निर्णय गरिएको बताए। उपभोक्ता समितिको खाता खोल्न खोटेहाङ गाउँपालिका पुग्नुपर्छ। ‘हरेक उपभोक्ता समितिको खाता खोल्दा तीन÷तीन हजार लाग्छ, खाता खोल्न जाँदा आउँदा कम्तीमा ३० जनाले दुःख पाउनुपर्ने हुन्छ,’ गाउँपालिका प्रमुख राईले भने, ‘एउटा उपभोक्ता समितिमार्फत बजेट निकासा गर्ने व्यवस्था भए एउटै खाताबाट सबैको काम हुन्छ। धेरै जनाले झन्झट बेहोर्नु नपरोस भन्ने हेतुले मूल उपभोक्ता समितिलाई सबै कामको जिम्मा दिइएको हो।’ चिसापानी वडा कार्यालयले गरेको निर्णय र सिफारिसका आधारमा एउटै उपभोक्ता समितिलाई सबै योजनाको काम जिम्मा दिइएको गाउँपालिकाले जनाएको छ।
आफ्नै पार्टी असन्तुष्ट

जन्तेढुंगा गाउँपालिका प्रमुख शंकर राई तत्कालीन एमालेबाट पालिका प्रमुखमा निर्वाचित भएका हुन्। ११ योजनाको काम एउटा उपभोक्ता समितिलाई सुम्एिपछि नेकपाकै नेता तथा कार्यकर्ता असन्तुष्ट देखिएका छन्। गाउँपालिका प्रमुखप्रति भित्रभित्रै फैलिएको आफ्नै पार्टीका नेता÷कार्यकर्ताको असन्तुष्टि सामाजिक सञ्जालबाटसमेत पोखिन थालेको छ। प्रतिपक्षीका रूपमा रहेको कांग्रेससम्बद्ध कार्यकर्ताहरू भने सो असन्तुष्टिको फाइदा उठाउने दाउमा छ। ‘कमिसनको प्रलोभनमा परी गैरकानुनी रूपमा वडाका सम्पूर्ण योजनाको काम एउटा उपभोक्ता समितिमार्फत गरिएको ठहर छ,’ स्थानीय बद्री वान्तवाले फेसबुकमा लेखेका छन्, ‘यस्ता गलत कार्यलाई जनतामाझ ल्याउनु हाम्रो दायित्व हो।’
विवाहमा जाँदा कार्यापालिका रित्तो

यसैबीच जन्तेढुंगा गाउँपालिका नै रित्तो बनाएर जनप्रतिनिधि र कर्मचारीहरू कार्यपालिका सदस्य अमृत विकको छोरीको विवाहमा सहभागी भएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ। बुधबार कार्यालय रित्तो बनाएर जनप्रतिनिधि र कर्मचारीहरू विवाह भोजमा सहभागी हुन गएपछि सेवाग्राही मारमा परेको भन्दै विरोध भएको हो। गाउँपालिका प्रमुख राईले भने खाजा खाने समयमा विवाह भोजमा सहभागी भएको बताए। ‘खाजा खाने समयमा दैनिक केही समय कार्यालय रित्तो नै हुन्छ,’ गाउँपालिका प्रमुख राईले भने, ‘त्यही खाजा खाने बेला पारेर कर्मचारीलाई विवाहमा जान दिइएको हो। कार्यालय नै रित्तो बनाएको भन्ने आरोप झुटो हो।’

प्रकाशित: ३ चैत्र २०७५ ०२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App