७ वैशाख २०८१ शुक्रबार
समाज

सेटिङमा चुरे क्षेत्रबाट ढुंगा उत्खनन

चुरेक्षेत्रबाट उत्खन्न गरिएको ढुंगा बोकेको ट्याक्टर सिरहाको बन्दिपुरतर्फ आउँदै। तस्विर : मिथिलेश यादव

सिरहा- धनगढीमाई नगरपालिका– १४ खुट्टीस्थित चुरे क्षेत्रबाट ढुंगा उत्खनन गरी निकासी तीव्र पारिएको छ। दिनभरि उत्खनन गरी साँझ टिपरमा लोड गरि निकासी भइरहेको पाइएको छ।

चुरे र चुरे संरक्षित क्षेत्रबाट उत्खनन तथा निकासीमा प्रतिबन्ध छ। खेलानदीमा ढुंगा रितिएपछि पछिल्लो समय ढुंगा माफियाहरु चुरेमै प्रवेश गरि उत्खनन तीव्र पारेका छन्।

चुरे क्षेत्रमा भैरहेको ढुंगा उत्खन्नबारे प्रहरी, स्थानीय प्रशासन र वन डिभिजन कार्यालयलाई जानकारी गराउँदा पनि चासो नदेखाउनुले सेटिङमामा यो कारोबार फस्टाएको गुनासो बढेको छ।

२० दिनदेखि खुट्टी उत्तरको चुरेक्षेत्रमा ढुंगा उत्खनन भैरहेको सूचना पछ्याउँदै जाँदा राति करिब ८ बजेतिर ढुंगा बोकेको दुई वटा टिपर उत्तरबाट दक्षिणतर्फ आइरहेको धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरीलाई जानकारी आयो। उनले तत्काल उक्त जानकारी डिभिजन वन कार्यालय लहानका प्रमुख वीरेन्द्रप्रसाद पटेल, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी उपरीक्षक जीवन श्रेष्ठ इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर विजय यादवलाई गराए।

सबैले हुन्छ हुन्छ पनि भने तर ढुंगा बोकेको टिपर जति जति राजमार्ग नजिक आउँदै गयो लहानका इन्सपेक्टर यादवले फोन अफ गरे, प्रहरी उपरीक्ष श्रेष्ठले फोननै उठाएनन्, डिभिजन वन प्रमुख पटेलले पनि फोन नउठाएको नगरप्रमुख चौधरीले गुनासो गरे।

पछि प्रहरी चौधरी कसहाका असइ सोमनाथ ढुंगानासहितका प्रहरीले कसहाको गम्बा चोकमा चुरेबाट ढुंगा बोकेर आएको दुई वटा टिपरलाई नियन्त्रणमा लिन खोज्यो। तर, प्रहरी थोरै थिए। ढुंगा माफियाहरुको थप बल आएर प्रहरी नियन्त्रणमा रहेको टिपर उम्काउन सफल भयो।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार प्रहरीले रोक्न खोज्दाखोज्दै सम्भव भएर तर आज उम्केको ढुंगा बोकेको टिपर भोलि पर्सि त फेरि आउँला नि। त्यो बेला नियन्त्रणमा लिइन्छ, उनले भने। तर, यसमा अरु सम्बन्धित पक्षको पनि जिम्मेवारी होला नि, उनले बताए।

डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्रप्रसाद पटेलले यसबारे प्रतिक्रिया नै दिन चाहेनन्। उनले फोनमा भने, ‘म बाहिर छु, यसबारेमा अहिले केही बताउन सक्दिनँ।’

नगर प्रमुख चौधरीका अनुसार ढुंगा बोकेको टिपर प्रहरी नियन्त्रणबाट फुत्केर जिरोमाइल हुँदै दक्षिणतर्फ लागेको जानकारी समेत प्रहरी र वनकर्मीलाई गराइएको थियो। चुरे क्षेत्रबाट ढुंगा बोकेको टिपर नियन्त्रणमा लिन नियन्त्रणकारी निकायको उदासीनताले शंका उब्जिएको नगर प्रमुख चौधरीले भने।

चुरे क्षेत्रबाट पछिल्लो समय सेटिङमा ढुंगा तस्करीका लागि सिरहा सुरक्षित भूमी बनेको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका अन्तर्गत कमला पुलदेखि उत्तर कमला नदीको चुरे संरक्षित क्षेत्रमा बोल्डर साइजका ढुंगा निकाल्न ढुंगा तस्करहरु सक्रिय छन्। चट्टानलाई ट्याक्टरको कोरेसोले जोतेर ढुंगा उत्खन्न गरेपनि नियमनकारी निकाय मौन बस्नुले स्थानीयहरु सेटिङको शंका गरेका छन्। उत्खनन क्षेत्रका एक स्थानीयले भने,‘सबै अंगलाई मिलाएर यहाँबाट ढुँगा निकालिँदै छ। न प्रहरीले रोक्छ न वनका कर्मचारीले नै, उनले थपे।’

ढुंगा व्यवसायीहरु कमला नदी उत्तरपूर्वको चुरे संरक्षित क्षेत्रबाट समेत ढुँगा उत्खनन गरिरहेको पाइएको छ। दैनिक एकसय भन्दा बढी ट्याक्टर ढुंगा यस क्षेत्रबाट उत्खन्न गरि कर्जन्हा नगरपालिका ३ स्थित क्रसर उद्योगमा पुर्याउँदै आएको एक ट्रयाक्टर चालकले बताए।

ढुंगा व्यवसायीले प्रहरी, प्रशासन र वनसँग सेटिङ मिलाएर अबैध तरिकाबाट ढुंगा उत्खन्न र ओसारपसार गर्दै आएको स्थानीयको आरोप छ। एक स्थानीयले भने,‘चुरे खोस्रेर ढुँगाको धन्दा तीव्र पारिएपछि तैंचुप मैचुपको अवस्थाले शंका जन्माउँछ।

उत्तरबाट ल्याइने ढुँगा बन्दिपुर चोक हुँदै पूर्व र दक्षिण निकासी हुन्छ। बन्दिपुरमै चोकमै ट्राफिकको पोष्ट र प्रहरी चौकी छ। तर, ट्याक्टरको टेलरमा ओभरलोड गरेर खुला रुपमा ल्याइने ढुँगा बेरोकटोक निकासी हुन्छ।

 

प्रकाशित: ३० फाल्गुन २०७५ ०७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App