१६ चैत्र २०८० शुक्रबार
समाज

खाजाले तान्यो विद्यार्थी

सोलुखुम्बु - सोलुखुम्बुको सोताङस्थित पाथीभरा आधारभूत विद्यालयमा खाजाको व्यवस्था गरिएपछि विद्यार्थी नियमित स्कुल आउन थालेका छन्। गैरसरकारी संस्था रिड नेपालको आर्थिक सहयोग र सोताङ गाउँपालिकाको सामग्री व्यवस्थापनमा गत मंसिरदेखि दिउँसो खाजा खुवाउने गरिएपछि विद्यार्थी नियमित आउन थालेका विद्यालयले जनाएको छ।

रिड नेपालले जिल्लाका पाँच विद्यालयमा गरेको अनुगमनपछि पाथीभरा आधारभूत विद्यालयलाई छनौट गरेको थियो। अधिकत्तर तामाङ बालबालिका पढ्ने विद्यालयमा दिवा खाजाका लागि अविभावकले समेत सहयोग गरेका छन्।

विद्यालय आउन मन नगर्ने विद्यार्थीलाई नियमित आउने बनाउन, बीचमै पढाइ छाड्ने प्रवृत्ति कम गर्ने उद्देश्यले सुरु गरिएको खाजा कार्यक्रम प्रभावकारी भएको विद्यालयका प्रध्यानाध्यापक नवराज थापाले बताए। उनले भने, ‘दिवा खाजा दिन थालेपछि विद्यार्थी नियमित स्कुल आएका छन्। यसअघि हरेक दिन १२ भन्दा बढी विद्यार्थी गयल हुने गरेकामा अहिले घटेर दुई÷तीन जनामा झरेको छ।’ विद्यालयमा ३६ जना विद्यार्थी छन्।

विद्यालयमा खाजा व्यवस्थाका लागि रिड नेपालले दिनको प्रतिविद्यार्थी ५० रुपैयाँका दरले सहयोग गरिरहेको छ। यस्तै खाजा वितरणका लागि आवश्यक भाँडाकुँडा खरिद गर्न सोताङ गाउँपालिकाले ४६ हजार रुपैयाँ सहयोग गरेको विद्यालयले जनाएको छ। दिवा खाजालाई प्रभावकारी बनाउन अभिभावकले पनि खुलेर साथ दिइरहेका छन्। ‘उनीहरू हरेक दिन पालैपालो खाजा पकाउन र खुवाउन विद्यालयमा उपस्थित हुन्छन्,’ प्रध्यानाध्यापक थापाले भने, ‘हरेक अभिभावकले महिनाको एकभारी दाउरा पनि सहयोग गर्दै आउनुभएको छ।’

आफ्ना बालबालिकाका लागि विद्यालयमै खाजाको व्यवस्थापन भएपछि अभिभावक पनि खुसी छन्। उनीहरूले स्वतःस्फूर्त रूपमा पालैपालो खाजा बनाउने र खुवाउने निर्णय लिएका हुन्। एक अभिभावक भुवनसिंह राईले आर्थिक अवस्था कमजोर भएकै कारण आफ्ना बालबालिकालाई दिउँसो खाजाको व्यवस्था गर्न नसक्ने अभिभावकका लागि यो कार्यक्रमले निकै राहत पु¥याएको बताए। उनले भने, ‘गरिबीका कारण दैनिक बालबालिकालाई खाजाको व्यवस्था गर्न सकिन्नथ्यो। सबैको सहयोगमा खाजा दिने काम सुरु भयो। बालबच्चा पनि खुसी छन्। सधैं विद्यालय जान्छौं भन्छन्। खाजाले पढाइमा पनि सहयोग मिलेको छ। यसले साना बालबालिकाको पोषणमा पनि सुधार आएको छ।’

खाजाका रूपमा स्थानीय स्तरमा उत्पादन भएका खाद्यवस्तुहरू प्रयोगमा ल्याइएको छ। गाउँघरमा पाइने आलु, स्कुस, पिँडालु, कोदो, मकै, भटमास लगायतका खाद्यवस्तु खाजाका लागि प्रयोग गर्ने गरिएको विद्यालय प्रशासनले जनाएको छ।

प्रकाशित: ३० फाल्गुन २०७५ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App