२५ असार २०७७ बिहीबार
समाज

वैदेशिक रोजगारीले बदलिँदै माझी समुदाय

बदलिँदै गरेको खोटाङको लामीडाँडा रभुँवाको माझी गाउँ।    तस्बिरः दमन/नागरिक

खोटाङ – खोटाङको रावाबेंसी गाउँपालिका–३, लामीडाँडाको रभुँवा माझीगाउँका सोमबहादुर माझी हाल काठमाडौंको नयाँ बानेश्वरमा सहरी जीवनशैली अपनाएर बसिरहेका छन्। सोही ठाउँका बिर्खबहादुर माझी पनि हाल भक्तपुरको ठिमीमा घर बनाएर सुख–सयलका साथ जीवनयापन गरिरहेका छन्। केही दशकयता उक्त गाउँका माझी परिवार सहर स्थानान्तरण हुने क्रम बढ्दै गएको छ।

दूधकोसी किनारमा डुंगा चलाउने, माछा मार्ने पेसा अपनाउँदै आएका माझी समुदायका मानिस पछिल्लो समय वैदेशिक रोजगारीमा संलग्न हुन थालेका कारण उनीहरूको आर्थिकस्तर वृद्धि हुँदै गएको हो। विदेशको कमाइले अधिकत्तर माझी परिवारले सहरमा घरघडेरी जोडिसकेका छन्। सम्पत्ती नजोड्नेले पनि आफ्ना परिवारलाई सहरमा बस्ने तथा बालबच्चालाई पढाउने वातावरण सिर्जना गरेको वडासदस्य सोमबहादुर माझीले बताए।

स्थानीय सोम माझी २०४१ सालमा विदेश गएपछि रभुँवाका माझी समुदायका युवा विदेश जाने क्रम सुरु भएको हो। ३४ वर्षयता यहाँका अधिकत्तर माझी युवा वैदेशिक रोजगारीमा संलग्न भइरहेका छन्। उच्च शिक्षा हासिल गर्ने अवस्था नभएका कारण माझी समुदायको आर्थिक उपार्जनको एक मात्र विकल्प वैदेशिक रोजगार बनेको स्थानीय बताउँछन्। हाल रभुँवामा त्यस्ता माझी परिवार पाउन मुस्किल छ जसको सदस्य वैदेशिक रोजगारीमा नगएको होउन्। हरेक घरबाट एकदेखि तीन जनासम्म विदेश गएको स्थानीय बाबुराम जोशीले जानकारी दिए।

डुंगा चलाउने, माछा मार्ने पेसा अपनाउँदै आएका माझी परिवार पछिल्लो समय वैदेशिक रोजगारीमा संलग्न हुन थालेका कारण उनीहरूको आर्थिकस्तर वृद्धि हुँदै गएको हो। अहिले यहाँका अधिकत्तर माझी परिवारले सहरमा घरघडेरी जोडिसकेका छन्।

विदेशमा पसिना बगाएर कमाएको पैसाले यहाँका कतिपय माझी युवाले गाउँमै आकर्षक घरहरू बनाइरहेका छन्। तीन दशकअघिसम्म स–साना झुपडीमा बसोबास गर्ने माझी परिवार पछिल्लो समय नीलो र सेतो जस्ताका छानो हालेर बनाएको चिटिक्कको घरमा बस्न थालेका छन्। फुस्रो डाँडामा खरका छाना विस्थापित हुने क्रम तीव्र छ। स्थानीय जोशीले भने, ‘पहिला गाउँमा झुपडीमात्र थिए। अहिले आकर्षक घरहरू बनिरहेका छन्। यो सबै वैदेशिक रोजगारीको परिणाम हो।’

पहिला–पहिला माझी समुदायको जीवनयापन सहज थिएन। घाटमा डुंगा चलाउँदा प्राप्त हुने घाटे पाथी (अन्न) उठाएर र माछा मारेर जीविका चलाउँथे। तर ठाउँ–ठाउँमा पुल बनेपछि डुंगा चलाउने पेसा विस्थापित भयो। नदीमा पहिलाजस्तो माछा मार्ने क्रम पनि घटे। त्यसपछि माझी समुदाय खेतीपातीका काममा पनि लागे। ‘खेतीमा लाग्दा पनि माझी परिवारको खानपुग्ने अवस्था बनेन,’ वडासदस्य माझीले भने, ‘विदेश जानेबाहेक विकल्प बाँकी रहेन। विदेश जान थालेपछि आर्थिक अवस्थामा क्रमशः सुधार हुन थालेको हो।’ सहरमा बसोबास गरिरहेका माझी परिवार वैशाख पूर्णिमा र फागुन तेस्रो साता गरिने कोसी पुजाका बेलामा मात्र गाउँमा भेला हुने उनले बताए।

खोटाङको लामीडाँडा रभुँवा, घोपाटार, जयराम, भँडारेघाट, सानोभँडारे, रसुवाघाट, गोडुलीघाटलगायत सुनकोसी र दूधकोसी किनारमा माझी समुदायको बसोबास छ। लामीडाँडामा मात्र ८७ माझी परिवारको बसोबास छ। तीमध्ये ६२ घर माझी रभुँवामा रहेको माझी उत्थान संघले जनाएको छ।

विद्यालयबाट अझै टाढा माझीगाउँ

माझी समुदायको बाक्लो बस्ती भए पनि रभुँवामा आधारभूत तहको विद्यालयसमेत छैन। माझीगाउँमा रावा प्रावि मात्र छ। प्रावि तहको अध्ययन पूरा गरेपछि स्थानीय बालबालिका एक घण्टा उकालो हिँडेर विश्वज्योती मावि जान बाध्य छन्। यस्तो समस्याका बीच पनि सिर्जना माझी एक्लो स्नातक उत्तीर्ण विद्यार्थी हुन्। सिर्जनाकै भाइ तेजबहादुर माझी स्नातक अध्ययनरत छन्। पुनम माझी, एलिसा माझी, उषा माझी, सुस्मिता माझी, सुनिल माझी, अनिल माझी, रोजिना माझी कक्षा ११ मा पढिरहेका छन्। गाउँमा शिक्षाको वातावरण सिर्जना गर्न कसैको ध्यान नपुगेको माझी समुदायको गुनासो छ। वैदेशिक रोजगारीबाट माझी समुदायको आर्थिक उन्नती हुँदै गए पनि शैक्षिकस्तर भने अझै नाजुक छ।
स्थानीय तहको नेतृत्व तहमा समेत उनीहरूको सहभागीता प्रायः शून्य छ।

खानेपानीको समस्या उस्तै
लामीडाँडा माझी गाउँमा खानेपानीको समस्या पनि उत्तिकै विकराल छ। पाँच सय मिटर तल दूधकोसीमा कलकल पानी बगिरहँदा माझीगाउँ भने काकाकुल छ। सानो मुहान रहेको बरम्जी, चिउरीपानी र युरिपानीबाट पाइपमार्फत ल्याइएको पानीले माझी गाउँलाई धान्न छाडेको छ। वर्षामा पिउने पानी पुगे पनि हिउँदमा धौधौ पर्ने गरेको स्थानीय यम मगरले बताए।

४३७ जनप्रतिनिधिमा दुई माझी
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासे भँडारेघाटका ज्ञानबहादुर माझी आफ्नो समुदाय र टोलका अगुवा हुन्। गाउँपालिकाको कार्यपालिका सदस्यमा मनोनित भएपछि उनको काँधमा जिम्मेवारी थपिएको छ। ‘पहिला आफ्नै समुदायको उत्थानमा हातेमालो गरिरहेको थिएँ,’ माझीले भने, ‘कार्यपालिका सदस्य भएपछि जिम्मेवारी अझ फराकिलो भएको छ।’

उनलाई गाउँपालिका प्रमुख भूपेन्द्र राईले अल्पसंख्यक समुदायका तर्फबाट कार्यपालिका सदस्यमा मनोनित गरेका हुन्। ज्ञानबहादुर स्थानीय पञ्चकौशिका आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष पनि हुन्। कक्षा ८ उत्तीर्ण गरेपछि पढाइ छाड्ने माझी विद्यार्थीलाई लक्ष्य गरेर पञ्चकौशिका आधारभूत विद्यालयलाई मावि बनाउने ज्ञानबहादुर लगायतको अभियान यसपल्ट गाउँपालिकाले पूरा गरिदिएको छ। आगामी शैक्षिक सत्रदेखि पठनपाठन गर्ने गरी गाउँपालिकाले उक्त आधारभूत विद्यालयलाई माध्यमिक बनाउने निर्णय गरिसकेको छ।

यस्तै रावाबेंसी गाउँपालिका–३, रभुँवाका सोमबहादुर माझी वडासदस्यको भूमिकामा छन्। उनी कांग्रेसका तर्फबाट वडासदस्यमा विजयी भएका हुन्। उनले वडामै सबैभन्दा बढी ५ सय १४ मत ल्याएका थिए। वडासदस्य भएपछि उनको दिनचर्या बदलिएको छ। हाल उनको धेरैजसो समय वडाका योजना निर्माण, कार्यान्वयन लगायतका काममा बित्ने गरेको छ।

खोटाङका दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाका ४ सय ३७ जनप्रतिनिधिमध्ये माझी समुदायबाट ज्ञानबहादुर र सोमबहादुरले मात्र स्थानीय तहमा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्।

प्रकाशित: २९ फाल्गुन २०७५ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App