coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राउतलाई जनकपुरमा समर्थकको स्वागत

जनकपुर विमानस्थलमा समर्थककाबीच सिके राउत । तस्बिर : सुरेश/नागरिक

जनकपुरधाम - नेपाल सरकारसँग राष्ट्रिय अखण्डताको पक्षमा लिखित सम्झौता गरेको दुई दिनपछि आइतबार जनकपुर आएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त (सिके) राउतलाई उनका समर्थकले भव्य स्वागत गरेका छन्।

‘हमको चाहिए आजादी, गल्ली गल्लीमे नारा हैं मधेस देश हमारा है र सिके राउत जिन्दावाद’ जस्ता नारा घन्काउँदै राउतको स्वागतमा जनकपुर विमानस्थल परिसरमा ठूलै संख्यामा समर्थक आएका थिए । कार्यक्रममा एक दर्जन युवा फरक भेषमा देखिए। भारतमा भिभिआइपीको सुरक्षामा परिचालन गरिने ‘ब्ल्याक कमाण्डो’ जस्तो पहिरनमा देखिएका उनीहरू राउतको सुरक्षामा खटिएका थिए । उनीहरूस्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता रहेको राउतका समर्थकहरूले बताए । यसका अतिरिक्त नेपाल प्रहरीको दुई भ्यान र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत परिचालित थियो।

गत बिहीबार सर्वोच्च अदालतको आदेशमा पाँच महिनापछि थुनामुक्त भएका राउत भोलिपल्टै नेपाल सरकारसँग ‘स्वतन्त्र मधेस देश’ सम्बन्धी अभियान परित्याग गर्ने सम्झौता गरे । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मूलधारको राजनीतिमा ल्याउन पहल गरेबापत अन्तरआत्माले धन्यवाद दिए । र, थुनामा परेपछि संविधानले उपलब्ध गराएको स्वतन्त्रताको महत्व बुझेको आत्म चिन्तनबाट सिकेको पाठ सुनाए।

त्यसको दुई दिन नबित्दै आइतबार जनकपुरमा उनको स्वागतका लागि भेला भएका सयौं समर्थक तथा कार्यकर्ताले स्वतन्त्र मधेस देशको नारा लगाइरहँदा राउत मात्र मुस्कुराइ रहे । सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिन नमानेका उनी कार्यकर्तामा आपूmप्रतिको सम्मान देखेर निकै जोशिए । तर, कार्यकर्तालाई कुनै सन्देश दिन सकेनन् ।

‘डाक्टर साब (राउत) ले सरकारसँग ११ बुँदे सम्झौता गरेपछि मधेशमा जबरजस्त रूपले विरोध र आलोचना भइरहेको छ । उहाँ जनकपुर आउने भएपछि सम्झौताको रहस्य र अबको योजनाबारे केही सन्देश पाइएला भन्ने अपेक्षा लिएर यहाँ आएको थिएँ,’ सप्तरीबाट राउतको स्वागतमा जनकपुर विमानस्थलमा आएका गठबन्धनका एक कार्यकर्ताले भने, ‘प्रत्यक्षरूपमा उहाँको हँसिलो अनुहार देखेपछि राम्रै भविष्यको लागि सम्झौता गरेको हुनुपर्छ भन्ने लाग्यो । तर, उहाँकै मुखबाट सुन्ने चाहना पूरा भएन ।’ विमानस्थलमै स्वागतमा आएको जस्तो देखिए पनि अन्य जिल्लाका कार्यकर्ता पनि राउतकै मुखबाट सम्झौताको कारण र यथार्थ सुन्न आएको उनले बताए।

सप्तरी स्थायी घर भएका राउतले स्वतन्त्र मधेस गठबन्धन निर्माण गरी मधेसलाई अलगै देश बनाउनुपर्ने तर्कसहित औपचारिक अभियानमा सक्रिय भएपछि चार वर्षअघि जनकपुर आए । दुई वर्षदेखि उनले जनकपुरमै निजी घर बनाएर बस्न थालेका हुन् । आइतबार जनकपुर विमानस्थलमा कार्यकर्ता र समर्थकको स्वागत ग्रहणपछि उनी केही नबोलेर सिधैं जनकपुर –८, बलुवा टोलस्थित घर पुगे।

राउतले गठबन्धन र पुरानो अभियानबारे तय गरेका नयाँ योजनाबारे जानकारी लिन आएका कार्यकर्ता भने निराश भएर फर्केका छन् । ‘हिजो हामीले कोठाबाहिर मतदान गराउन चुनावकै बेला अभियान चलाएपछि मधेस केन्द्रित दलका नेता, कार्यकर्ताको निसानामा परेका थियौं,’ महोत्तरीबाट आएका एक कार्यकर्ताले भने, ‘अब उनीहरूबीच कसरी प्रस्तुत हुने ? उहाँको तर्क सुन्न आएको उहाँले केही बोल्नु नै भएन ।’ राउतकै मुखबाट नयाँ दिशा र योजनाबारे केही नसुनेसम्म आजाद मधेसका लागि संघर्ष जारी राख्ने उल्लेख गर्दै उनले थपे, ‘११ बुँदे सम्झौताको पहिलो बुँदाले नै कन्फ्यूज बनाइरहेको छ।’

 

प्रकाशित: २७ फाल्गुन २०७५ ०२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App