चितवन - ज्ञानेश्वर सामुदायिक वनले सञ्चालन गर्दै आएको वन्यजन्तु उद्धार केन्द्रलाई खुला चिडियाघरमा रूपान्तरण गर्ने योजना अघि बढाइएको छ। सामुदायिक वनमा रहेको उद्धार केन्द्रलाई व्यवस्थित गर्दै अध्ययन, अवलोकनमा समेत उपयोग गर्न खुला चिडिया घर बनाउन लागेको वनका अध्यक्ष राजन अधिकारी बताउँछन्। साना वन्यजन्तु मात्र राखिएको उद्धार केन्द्रको क्षेत्रलाई विस्तार गरी ठूला प्रजातिका वन्यजन्तुसमेत राख्नेगरी चिडिया घर बनाउन लागिएको हो।
केन्द्रीय चिडियाघर काठमाडौंमा मात्र भएकाले बाहिर पनि चिडिया घर बनाउनुपर्छ भनेर लागिएको उनी बताउँछन्। यस्तै महानगर क्षेत्रमा यतिको व्यवस्थित र लामो समयदेखि वन्यजन्तु राखेर हेरचाह गरिँदै आएको स्थानलाई प्रवद्र्धन गर्ने महानगरपालिकाको नीतिअनुसार खुला चिडियाघर बनाउन लागिएको उनले बताए। खुला चिडियाघरमा वन्यजन्तुलाई हिँडडुल गर्न र खानेकुरा खान सहज हुने र प्राकृतिक वातावरणको बासस्थानको व्यवस्था हुनेछ।
सानो क्षेत्रको तारबारभित्र नभई एउटा वन्यजन्तु आवश्यक पर्ने न्यूनतम क्षेत्रको फराकिलो स्थानको व्यवस्था गरेर खुला रूपम वन्यजन्तु राख्न र अवलोकनकर्तालाई अवलोकनको सुविधा दिन खुला चिडियाघर बनाउन लागिएको उनले बताए। खुला चिडियाघरका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्षमा दुई लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। डिपिआर तयार भएपछि कति वन्यजन्तु राखिने र कति क्षेत्रफलमा चिडिया घर बनाउने भन्ने तय हुनेछ।
गैंडा, बाघ, भालु, हात्ती, चितुवालगायतका वन्यजन्तुसमेत राख्नेगरी खुला चिडियाघर बनाइने अध्यक्ष अधिकारीले जानकारी दिए। भरतपुर महानगरपालिका–१६ मा रहेको ज्ञानेश्वर वनले २०६० सालदेखि वनमा वन्यजन्तु उद्धार गरेर राख्न थालेको हो। वनमा घाइते भएका र वनबाट निस्केर मानव बस्तीमा पुगेका साना वन्यजन्तुलाई उद्धार गरेर राख्ने अवधारणाअनुसार वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको हो। सुरुमा जरायो र अजिंगर राखेर उद्धार केन्द्र स्थापना गरिएको थियो।
मानिस र वन्यजन्तुका कारण घाइते भएका साना वन्यजन्तुको उद्धार गरेर केन्द्रमा राख्ने र उपचार तथा हेरचाहपछि वनमा नै छाड्ने गरिन्थ्यो। नजिकका बस्तीमा अजिंगरहरू भेटिँदा पनि वनलाई खबर आउने गर्छ। गाउँमा भेटिएका अजिंगर समातेर उद्धार केन्द्रमा राखिन्छ। धेरैवटा राखेर पाल्न खर्चिलो हुने भएकाले निको भएका वन्यजन्तुलाई जंगलमा लगेर छाड्ने गरिएको छ। केही वन्यजन्तु भने उद्धार केन्द्रमा राखेर सामुदायिक वन घुम्न आउनेलाई हेर्न दिने गरिएको अध्यक्ष अधिकारी बताउँछन्।
वनको उद्धार केन्द्रमा हरिण, मृग, रतुवा, अजिंगर, मगर गोही, बँदेल, अस्ट्रिच, मयूर, खरायो, हुचिल, खरायो, गोल्डेन पिजनलगायत वन्यजन्तु राखिएका छन्। चोरी तस्करी गरेर लैजाँदै गर्दा चितवनको जिल्ला वन कार्यालयले एक वर्षअघि फेला पारेको एक जोडी गोल्डेन पिजन वनलाई दिएको उनले बताए। जिल्लामा वन्यजन्तु राख्न बासस्थानसहितको सुविधा अरू सामुदायिक वनमा छैन। घाइते वन्यजन्तुलाई त्यही सामुदायिक वनमा राखिएकाले त्यहाँ घुम्न आउने पर्यटकका लागि अवलोकन क्षेत्र बनेको छ।
‘मिनी जु’का रूपमा रहेको उद्धार केन्द्रलाई विस्तार गरेर खुला चिडियाघर बनाउन भरतपुर महानगरपालिकासँग समन्वय भइरहेको अध्यक्ष अधिकारी बताउँछन्। ‘वन्यजन्तु उद्धार गर्नु मात्र नभई अध्ययन केन्द्रका रूपमा विकास गर्नु प्रमुख उद्देश्य हो,’ उनी भन्छन्, ‘सहरीकरण र आधुनिकीकरण भइराखेको समयमा धेरैलाई वन्यजन्तुबारे जानकारी दिन चिडियाघरले मद्दत हुनेछ।’ वन्यजन्तु चिन्ने, अवलोकन गर्ने, वन्यजन्तुको संरक्षण गर्नुपर्छ, वन्यजन्तुलाई माया गर्नुपर्छ भन्ने सन्देश खुला चिडिया घरले दिने अध्यक्ष अधिकारी बताउँछन्। तीन महिनाको अन्तरमा वन्यजन्तुको स्वास्थ्य परीक्षण गरिँदै आइएको छ। वन्यजन्तुलाई खानपान र हेरचाहको व्यवस्था गर्न कर्मचारीको व्यवस्था गरिएको छ।
सामुदायिक वनले यही महिना मात्र आगामी १० वर्षका लागि कार्ययोजना बनाएको छ। कार्ययोजनामा खुला चिडिया घरलाई समेत प्राथमिकतामा राखिएको छ। ज्ञानेश्वर वन पिकनिक स्पटका रूपमा समेत परिचित छ। असोजदेखि माघसम्म पिकनिकका लागि सो वनउपयुक्त मानिन्छ। एक दिनमा ९२ वटा टोलीसम्म पिकनिकका लागि वनमा आएको अध्यक्ष अधिकारीले बताए। वन क्षेत्रको नारायणी नदीकिनार, पार्क, उद्धार केन्द्र घुम्न आउने पनि दैनिक एक सय ५० जनासम्म हुने गरेका छन्। सामुदायिक वनको पर्यटकीय क्षेत्र, पार्क, वन्यजन्तु उद्धार केन्द्र अवलोकन गर्न २५ रुपैयाँ शुल्क वनले लिँदै आएको छ।
प्रकाशित: २५ फाल्गुन २०७५ ०२:०१ शनिबार