१६ चैत्र २०८० शुक्रबार
समाज

तीन दिनमा ४ दुर्घटना

पोखराको आकाशमा प्याराग्लाइडिङमा उड्दै सोलो पाइलट। तस्बिर : उमेश पुन/नागरिक

पोखरा – प्याराग्लाइडिङ उडानमा दिनहुँजसो दुर्घटना हुन थालेका छन्। रसियन पाइलट डिमित्री स्टेपान्सिनको मंगलबार सराङकोटबाट ‘टेकअफ’ को क्रममा ज्यान गएको छ। बैदाम चौकीका डिएसपी कोमल शाहका अनुसार टेकअफ गर्ने क्रममा मंगलबार बिहान ११ बजेतिर डिमित्री भुइँमा बजारिएका थिए। आइतबार सराङकोटबाटै उडेका रोमानियाका पाइलट इबि चिसजिरले पनि प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए। सोमबारको दुर्घटनामा पनि दुई विदेशी पाइलट घाइते भए।

पछिल्लो तीन दिनमा भएका चारवटा प्याराग्लाइडिङ दुर्घटनामा दुई विदेशी पाइलटको ज्यान गएको छ भने दुईजना घाइते भए। प्याराग्लाइडिङ व्यवसायीका अनुसार चारवटै दुर्घटनाका पाइलट सोलो (एकल) उडानमा थिए। प्याराग्लाइडिङमा यात्रुसहितको उडानलाई टेन्डम भनिन्छ। प्याराग्लाइडिङ दुर्घटनामै परेर पछिल्लो चार वर्षमा आठजनाले ज्यान गुमाएका छन्।

पोखराको आकाशमा गरिने प्याराग्लाइडिङलाई अहिलेसम्म नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले नियमन गर्दै आएको छ। प्राधिकरणका पोखरा प्रमुख भोलाप्रसाद गुरागाईं पाइलटको हेलचक्र्याइँले दुर्घटना बढेको बताउँछन्। ‘सोलो पाइलट अनुशासनबाहिर गएर उड्ने गरेका छन्। त्यसले गर्दा दुर्घटना बढेका छन्,’ उनले भने, ‘साहसिक पर्यटकीय गतिविधिमा परेको प्याराग्लाइडिङमा भइरहेको दुर्घटनाले पोखराबारे नराम्रो सन्देश फैलिएको छ। यसलाई सुधार्न व्यवसायी र पाइलट नै अनुशासित हुनुपर्छ।’

पोखरामा अहिले पाँच दर्जनभन्दा बढी प्याराग्लाइडिङ कम्पनी छन्। पोखरा आएर उड्न चाहने विदेशी पाइलटलाई नेपाली कम्पनीको सिफारिसमा प्राधिकरणले एकपटकमा बढीमा १५ दिनका लागि उडान अनुमति दिन्छ। यसरी अनुमति दिँदा विदेशी पाइलटले ५ हजार ६ सय रुपैयाँ तिर्नुपर्छ।

पाइलटलाई जानकारी नै दिइन्न
पोखराका अनुभवी प्याराग्लाइडिङ पाइलट सानोबाबु सुनुवारका अनुुसार पोखराको आकाशमा उड्न आएका विदेशी पाइलटलाई यहाँ सामान्य प्रशिक्षण पनि दिइन्न। कुन तहको पाइलट हुन् भन्नेबारे सोधखोज पनि गरिन्न। उडान अनुमतिका लागि स्थानीय कम्पनीले प्राधिकरणमा सिफारिसमात्र गर्छन्। ‘शुल्क लिएर विदेशी पाइलटलाई सिफारिस दिलाइन्छ तर यहाँको भौगोलिक अवस्था, मौसमी परिवर्तन, नियम कानुलगायतको जानकारी दिइन्न,’ उनले भने। प्राधिकरणले तीन ठाउँबाट उड्न अनुमति दिन्छ तर व्यवसायीले उड्नै नपाउने ठाउँमा समेत पठाइदिने गरेको उनले बताए। ‘त्यसले गर्दा दुर्घटना हुन्छ। यसमा पाइलटभन्दा स्थानीय कम्पनी दोषी छन्,’ सुनुवारले भने।

आकाशमा उड्ने प्याराग्लाइडिङलाई कतैबाट नियमन हुँदैन। मनपरी भएकोले जोकोही जहाँ पायो त्यहींबाट उड्छन्। व्यावसायिक र सिकारु उड्ने ठाउँ एउटै हो। अनि एकआपसमा ठोक्किएर दुर्घटना हुन्छ। ‘कतिपयले मौसमी ख्याल समेत गर्दैनन्। विदेशी पाइलटले त टेकअफ र ल्यान्डिङ क्षेत्रको समेत अध्ययन गर्दैनन्,’ सुनवारले भने।

सुनुवारका अनुसार पाइलटको सिकाइको तह र उडाउने ग्लाइडरको अवस्था परीक्षण हुँदैन। ‘अनुमति लिएको भरमा हामफाल्न पुग्छन,’ उनले भने, ‘पाइलटको शारीरिक अवस्था, अनुभव, ग्लाइडरको आयु, मौसमी ज्ञान, हावाको वहावबारे जानकारी दिइन्न।’ अन्तर्राष्ट्रिय लाइसेन्स भन्दैमा पोखराको हावापानी भन्दा फरक वातावरणमा सिकाइ हुँदा उडानमा अप्ठेरो हुनसक्ने उनी बताउँछन्। ‘विदेशी भन्दैमा सबै सक्षम भन्ने छैन। लाइसेन्स पाउँदैमा सबै पाइलट सबै ठाउँमा उड्न सक्दैनन्,’ उनले भने, ‘त्यसले दुर्घटना हुन्छ।’

उडानमा रोक
लगातारजसो प्याराग्लाइडिङ दुर्घटनामा पर्न थालेपछि विदेशी पाइलटको उडान अनुमतिका लागि सिफारिस गरेका दुईवटा कम्पनीलाई प्राधिकरणले कारबाही गरेको छ। ब्लुस्काई र फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनीको उडानमा प्राधिकरणले रोक लगाएको हो। आइतबारको घटनामा ब्लुस्काई र मंगलबार फ्रन्टियर्स कम्पनीको सिफारिसमा प्राधिकरणबाट अनुमति पाएका पाइलटको ज्यान गएको थियो। सोमबार पनि फ्रन्टियर्सबाटै अनुमति लिएका पाइलट दुर्घटनामा परेका थिए। ‘ब्लुस्काई र फ्रन्टियर्सलाई तत्कालका लागि निलम्बन गरेका छौं। उनीहरुलाई स्पष्टीकरण सोध्ने र त्यसपछि थप कदम चाल्नेछौं,’ प्राधिकरण पोखरा प्रमुख गुरागाईंले भने, ‘चित्तबुझ्दो जवाफ आएमा मात्र ती कम्पनीले उडान गर्न पाउनेछन्।’

त्यसबाहेक सबै सोलो पाइलटलाई १५ दिनका लागि उडान रोक्न प्राधिकरणले निर्देशन दिएको छ। प्राधिकरणबाट यति बेला धेरै संख्यामा विदेशी पाइलटले अनुमति लिएकाले थप दुर्घटना हुन नदिन सोलो उडानमा रोक लगाएको उनले बताए। गुरागाईंका अनुसार फागुन १० देखि २० गते (१०दिन) भित्र २ सय १६ जना सोलो पाइलटले अनुमति लिएका छन्। तीमध्ये सबैभन्दा बढी फ्रन्टियर्सबाट ७८, ब्लुस्काईबाट ६७, न्यु प्यारावल्र्डबाट ३६ जनाले अनुमति लिएका छन्। ‘१२ वटा कम्पनीबाट पाइलटले पछिल्लो समय अनुमति लिएका छन्। यिनै कम्पनीबाट अनुमति लिएका पाइलट नै दुर्घटनामा परे,’ उनले भने, ‘त्यसैले तत्काल सोलो उडान रोकेका छौं।’

महानगरको पनि कारबाही

पोखरा महानगरपालिकाले पनि मनोरञ्जन र पर्यटन कर नतिरेको भन्दै बुधबारदेखि प्याराग्लाइडिङ उडानमा रोक लगाउने भएको छ। महानगरले सबै कम्पनीलाई वार्षिक एक लाख रुपैयाँ पर्यटन शुल्क र बाँकी मनोरञ्जन कर तिर्न ताकेता गरेको थियो। तर कम्पनी महानगरमा दर्ता गर्न पुगेका छैनन् र कर तिर्न पनि मानेका छैनन्। महानगरका अनुसार अहिलेसम्म माउन्टेन भ्यु प्याराग्लाइडिङ कम्पनीले मात्र महानगरमा दर्ता गरेर कर तिरेको छ।

प्याराग्लाइडिङ कम्पनीले महानगरलाई आर्थिक वर्र्ष २०७२–७३ मा ५५ सय रुपैयाँका दरले कर तिर्न बाँकी छ। त्यो करलाई महानगरले आर्थिक वर्ष २०७४–७५ मा बढाएर ५० हजार रुपैयाँ पुर्याएको थियो। त्यो कर घटाएर चालु आर्थिक वर्षमा २५ हजार रुपैयाँमा झारेको छ। बक्यौतासमेत गरेर कम्पनीले अहिलेसम्म महानगरलाई ८६ हजार रुपैयाँ तिर्न बाँकी छ। पर्यटक शुल्क एक लाख र मनोरञ्जनको बक्यौतासमेतको ८६ हजार रुपैयाँ गरी एक लाख ८६ हजार रुपैयाँ नतिर्ने कम्पनीलाई उडान गर्न नदिने महानगर प्रमुख मानबहादुर जिसीले बताए। ‘मनोरञ्जन कर पनि तिर्न नमान्ने, अनि पर्यटन शुल्क पनि नतिरेपछि उडान रोक्नुको विकल्प छैन,’ जिसीले भने, ‘स्थानीय तहको अधिकारभित्र टेकेर पर्यटन शुल्क लगाएका हौं। कर पहिल्यैदेखिको बाँकी हो।’

व्यवसायी भने करमा भन्दा पनि पर्यटन शुल्कमा आपत्ति रहेको बताउँछन्। हवाई खेलकुद संस्था (एनएए) का अध्यक्ष योगेश भट्टराई प्रदेश सरकार र महानगरले पर्यटनमा शुल्क लगाएकाले दुईतिर तिर्न नसक्ने बताउँछन्। ‘प्रदेश सरकारले पनि पर्यटन शुल्क भन्दै एक लाख रुपैयाँ मागेको छ। महानगरले पनि एक लाख रुपैयाँ मागेको छ। दुईतिर तिर्न सकिन्न,’ उनले भने, ‘मनोरञ्जन करमा आपत्ति होइन तर जथाभावी लिन थालेको पर्यटन शुल्कमा आपत्ति हो।’ महानगरले भने दुईतिर (प्रदेश र स्थानीय तह) को सट्टा एकातिर मात्र पर्यटन शुल्क र कर तिरेमा तत्काललाई पुनर्विचार गर्न सकिने बताउँदै आएको छ।

प्रकाशित: २२ फाल्गुन २०७५ ००:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App