१५ चैत्र २०८० बिहीबार
समाज

सर्लाहीमा गोली हानी हत्या

सर्लाही  – सर्लाहीको सदरमुकाम मलंगवामा गोली हानी एक युवकको हत्या गरिएको छ। प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार मलंगवा नगरपालिका–२ का ३१ वर्षीय मनोजकुमार यादवको हत्या भएको हो। शरीरका विभिन्न ठाउँमा पाँच गोली लागेको अवास्थामा आइतबार बिहान ७ बजे यादवको शव मलंगवा नगरपालिका–८ मा फेला परेको उनले बताए।

स्थानीयले शव देखेर खबर गरेपछि मात्र प्रहरीले घटनाबारे थाहा पाएको थियो। यादवलाई शनिबार राति साढे ८ बजे मलंगवाको पूर्वी रिङरोडबाट ५० मिटर पूर्व सडकमै गोली प्रहार गरिएको थियो। राति कसैले काम छ भन्दै फोन गरेर बोलाई यादवको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनास्थलमा प्रयोग भएका पाँच थान र प्रयोग नभएको एक थान गोली फेला परेको छ। शवदेखि केही परसम्म रगतका टाटा देखिएकाले पहिला केही टाढाबाट एक गोली हानेपछि लर्खराउँदै भाग्ने क्रममा नजिकै गएर यादवमाथि स्वचालित पेस्तोलले थप चार गोली प्रहार गरिएको प्रहरीले अनुमान गरेको छ।

हत्यामा संलग्नहरूको खोजी तीव्र पारिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए। प्रहरीका अनुसार मृतकको साथमा मोबाइलसमेत फेला परेको छ। तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिक सम्बद्ध विद्यार्थी संगठनका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य रहेका यादव पछिल्लो समय नेपाली कांग्रेसमा आवद्ध रहेको बताइएको छ। घटनाबारे गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट केही सय मिटरकै दूरीमा गोली हानी हत्या भएको घटनाले सदरमुकामवासी त्रसित भएका छन्। पोस्टमार्टमका लागि शव सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा राखिएको छ।

प्रकाशित: २० फाल्गुन २०७५ ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App