२७ असार २०७७ शनिबार
समाज

कम्प्युटर छ, बिजुली छैन

धादिङ - चेपाङ बस्ती बढी रहेको धादिङको दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ गाउँपालिकास्थित गोइराङमा अहिलेसम्म बिजुली पुगेको छैन। टुकी र सोलारका भरमा रहेका गोइराङवासी गाउँलाई उज्यालो बनाउने प्रयासमा छन्। उनीहरू बिजुली पु-याएर गाउँ झलमल्ल पार्ने सपना देखिरहेका छन्। भर्खरै सडक पुग्दै गरेको गाउँमा बिजुली नपुग्दै कम्प्युटर पुगेको छ। गाउँपालिकाले गोइराङ आधारभूत विद्यालयलाई तीनवटा कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो।

पृथ्वी राजमार्गको हुग्दीखोलाबाट ग्रामीण बाटो हुँदै पुग्न सकिने विद्यालयमा चारवटा कम्प्युटर छन्। तीनवटा कम्प्युटर गाउँपालिकाले दिएको हो भने एउटा विद्यालयको नै हो। बिजुलीको अभावमा कम्प्युटर प्रयोगविहीन बनेको विद्यालयकी शिक्षिका सुष्मा भट्टराईले बताइन्। ‘कक्षा ६ देखि ८ सम्म कम्प्युटर कक्षा भनेर कोर्स राखिएको छ,’ भट्टाराईले भनिन्, ‘गाउँमा अहिलेसम्म पनि बिजुली पुगेको छैन, थ्योरी पढायो, प्राक्टिकल गर्न पाउँदैनन्।’

सेतोपाटीमा कम्प्युटरका विभिन्न भागको चित्र कोरेर विद्यार्थीलाई सिकाउनुको विकल्प नभएको शिक्षिका भट्टराईले भनिन्। ‘यो किबोर्ड हो अनि यो मनिटर। यसलाई चाहिँ माउस भन्छन्’ भन्दै पढाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ। ‘कम्प्युटरका पार्टपुर्जाबारे पढ्न मात्र पाइन्छ, देख्न पाइँदैन,’ भट्टराईले भनिन्, ‘भर्खर स्कुलमा कम्प्युटर आइपुगेको छ, त्यसैलाई हेरेर चित्त बुझाउनुपरेको छ।’ गाउँमा बिजुली नभएकै कारण विद्यालयमा भएका कम्प्युटर पनि त्यतिकै बसेका छन् भने कम्प्युटर, प्रिन्टिङसम्बन्धी काम गर्नुपर्दा बजारसम्म झर्नुपर्ने हुन्छ।

गाउँमा बिजुली पुगेको छैन तर गाउँपालिकाले विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। वितरित कम्प्युटर प्रयोगविहीन बनेको छ।

विद्यालयमा वर्षौंदेखिबाट कम्प्युटर विषयको कक्षा सञ्चालन भइरहेको छ। थ्योरी (सैद्धान्तिक) मात्र पढ्न पाउँछन् तर प्राक्टिकल (प्रयोगात्मक अभ्यास) कहिले पनि गर्न पाइँदैनन्। थ्योरी पढेका आधारमा कम्प्युटरबारे जानकारी लिनुपर्ने अवस्था छ। भौगोलिक विकटता, सडकको समस्याका कारण यहाँका अधिकांश विद्यार्थी खाली खुट्टा र बिनाड्रेस विद्यालय आउने गरेका छन्। एक छाक टार्न हम्मे पर्ने यस भेगका विद्यार्थी कम्प्युटर विषयमा त परै जाओस्, पढाइमा समेत त्यति ध्यान दिँदैनन्।

यता बेनीघाट रोराङ गाउँपालिका–१ मा रहेको बाँसखर्क आधारभूत विद्यालयमा पनि कक्षा ६ देखि ८ सम्म कम्प्युटर विषयको पढाइ हुँदै आइरहेको छ। विद्यालयका प्रधानाध्यापक सुरेन्द्र श्रेष्ठका अनुसार २०६४ सालतिरबाट कम्प्युटर विषयको पढाइ हुन थालेको बताए। ‘गाउँमा बिजुली नहुँदा कम्प्युटरको थ्योरी कक्षा मात्र सञ्चालन हुने गर्दछ,’ उनले भने, ‘प्राक्टिकल कक्षा भने विद्यार्थीले कहिल्यै गर्न पाउँदैनन्।’

दुर्ई सय १३ जना अध्ययनरत विद्यालयमा तीन चेपाङबाहेक सबै तामाङ समुदायका विद्यार्थी छन्। कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा घन्टौं धाएर विद्यार्थी पढ्न विद्यालय पुग्ने गर्छन्। गाउँपालिकाले यसै वर्ष दुईवटा कम्प्युटर र एकवटा प्रिन्टर सहयोग गरेको छ। गाउँपालिका आफैंले कम्प्युटर जडानका लागि व्यक्ति पठाइदिने भनि पनि अहिलेसम्म कोही नगएको श्रेष्ठले बताए। गाउँमा बिजुली पु¥याउन अहिले पोलहरू लैजाने कार्य भइरहेको छ। पोल गाड्ने, तार जडान गर्ने कार्य भइसकेपछि मात्र प्रत्येकको घरघरमा बिजुली पुग्ने गर्छ।

गाउँमा बिजुली नपुग्दा वर्षौदेखि नै गाउँबासी अन्धकारमा बस्न बाध्य छन्। विकासका नाममा बिजुली नपुगेको ठाउँमा बिजुलीबाट चलाउने यस्ता सामानहरू दिएर गाउँपालिकाले बजेट सिध्याउने मेलो मात्र गरेको छ। गाउँपालिकाले यस वर्ष शिक्षा क्षेत्रमा ९५ लाख बजेट छुट्ट्याएको गाउँपालिकाका शिक्षा शाखाका स्रोतव्यक्ति रामेश्वर पोखरेलले जानकारी दिए। ‘गाउँमा बिजुली पु¥याउन पोलहरू लैजाने कार्य भइरहेको छ,’ उनले भने, ‘वार्षिक रूपमा शिक्षा क्षेत्रमा छुट्ट्याएको रकमबाट कम्प्युटर र प्रिन्टर वितरणमा खर्च गरेका हौं।’

गाउँपालिकाले यस वर्ष सातवटा आधारभूत विद्यालयलाई कम्प्यूटर वितरण गरेको छ। बेनिघाट रोराङ–१ मा रहेको बाँसखर्क आधारभूत विद्यालय, वडा २ मा रहेको राहुलडाडा आधारभूत विद्यालय, वडा ४ मा रहेको कालिका आधारभूत विद्यालय, वडा ९ मा रहेको बितेस आधारभूत विद्यालय, वडा १० मा रहेको गोइराङ आधारभूत विद्यालय र राष्ट्रिय आधारभूत विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको छ। पृथ्वी राजमार्गनजिकै रहेको शंखादेवी माविलाई भने २५ वटा कम्प्युटर वितरण गरेको छ।

६ वटा विद्यालयमा सात लाख सात हजार रुपैयाँ खर्च गरेर दुईवटा कम्प्युटर र एक वटा प्रिन्टर वितरण गरिएको गाउँपालिकाले जनाएको छ। त्यस्तै शंखादेवी माविलाई पनि सात लाख ५० हजार तिरेर कम्प्युटर वितरण गरिएको जनाइएको छ। गाउँपालिकाले कम्प्युटर किन्न मात्रै १७ लाख बजेट छुट्ट्याएको पोखरेलले जानकारी दिए। गाउँपालिकाले यस वर्ष शिक्षा क्षेत्रमा छुट्ट्याएको बजेटबाट गाउँपालिकास्तरीय खेलकुद प्रतियोगिता, बालकक्षा शिक्षकका लागि तलब, स्रोतकेन्द्रको बैठक, सहिदस्मृति प्रतियोगितालगायत खर्च गरिने पोखरेलको भनाइ छ।

शैक्षिक क्षेत्रको गुणस्तर सुधारका लागि भनेर साढे दुई महिनाअघि मात्र गाउँपालिकाले कक्षा १ देखि ८ सम्म पढाइ हुने विद्यालयलाई कम्प्युटर वितरण गरेको हो। गाउँका विद्यालयमा कम्प्युटर वितरण त गरिएको छ, न कम्प्युटर जडान गरिएको छ न कम्प्युटर चलाउन दक्ष शिक्षक नै छन्। वितरित कम्प्युटर पनि त्यसै थन्किएका छन्। वितरण गरिएका केही विद्यालयमा बिजुली पुगे पनि अधिकांशमा बिजुलीबत्ती नहुँदा कम्प्युटर कक्षा सञ्चालनमा समस्या परेको छ।

प्रकाशित: १९ फाल्गुन २०७५ ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App