२१ श्रावण २०७७ बुधबार
समाज

विपतमाथि ऋणको भारी

धादिङबेंसीको दामागाडेस्थित भाडाको कोठामा बिरामी छोरी जसमाया तामाङका साथमा बाबु सोनाम। तस्बिर : सरिता/नागरिक

धादिङ - करिब चार वर्षअघि भूकम्पले उनको घर ढालिदियोे। अनुदान पाएको पैसामा साढे दुई लाख थपेर साढे पाँच लाखमा बनाएको घर पनि आगोले खाइदियो। रुवीभ्याली गाउँपालिका–५, लापाका सोनाम तामाङ रुखबाट लडेकी छोरीलाई उपचार गराउन सदरमुकाम धादिङबेंसी नजिकै दामगाडेमा डेरा लिएर बसेका छन्। उनका पत्नी, छोरा, बुहारी, छोरी, दुई नातिनी गाउँमा कन्तबिजोग अवस्थामा छन्।

खेतीकिसानीले जीविका धान्दै आएको तामाङ परिवारको घर २०७२ वैशाखको भूकम्पले लडाइदियो। जग्गा पनि चिराचिरा प¥यो। चिराचिरा परेको घर र गाउँमा बस्न नसक्ने भएपछि तामाङ सदरमुकाम झर्न बाध्य भए। सदरमुकाम धादिङबेसीको दामगाडेमा त्रिपालमुनि बस्दै आएका उनको परिवारमा अर्को विपत्ति आइलाग्यो। ०७२ चैतमा दाउरा खोज्ने क्रममा रुखबाट लडेर छोरी घाइते भइन्। काठमाडौंको ट्रमा सेन्टर र काभ्रेको साँगा अस्पतालमा गरी आठ महिना उपचार गराउँदा पनि छोरीको अवस्थामा सुधार आएन। उपचार क्रममा सात लाख रुपैयाँ सकियो। उनले त्यो रकम ऋण खोजेर जुटाएका थिए। सोनामले भने, ‘ पैसा सकियो तर छोरीको अवस्थामा सुधार छैन, ज्युका त्युँ छ। अहिले ओछ्यानमा छिन्।’ हातखुट्टा नचलेपछि उनी हिँडुल गर्न सक्दिनन्।

छोरीको उपचारका लागि भौतारिरहेका सोनामको थाप्लोमा अहिले २५ लाख रुपैयाँ ऋणको भारी छ। ‘भूकम्पले घर लडायो, दुःखले बनाएँ, घर आगोले सखाप बनाइदियो’, सोनामले भने, ‘गरिबलाई भगवानले पनि दुखैदुःख दिँदोरहेछ, बिरामी छोरीको उपचारका लागि भौतारिरहेको छु।’ उनी रातदिन छोरीको उपचार खर्च कहाँबाट जुटाउने भनेर सोचिरहेका हुन्छन्। गाउँमा भएका पत्नी, छोरा, बुहारी, छोरी र नातिनीको अवस्था सम्झेर झनै भक्कानिन्छन्। अनुदान रकम र ऋण काढेर बनाएको घर आगोल खाइदिएको उनले बताए। सदरमुकामबाट करिब दुई दिन पैदल यात्रामा पुग्न सकिने लापा सडक सञ्जालसँग जोडिन सकेको छैन।

छोरीलाई उपचार गर्न भनेरै सोनाम डेरा लिएर सदरमुकाम नजिकैमा बसेका हुन्। कोठामा लुगाकपडा, भाडावर्तन यत्रतत्र छरिएको छ। खाटमा २३ वर्षीया छोरी (माइली) जममाया सुतिरहेकी छिन्। शरीरको कुनै पनि अंग नचल्ने छोरीको स्याहारसुसारमा उनको दिन बित्छ। छोरीको उपचारका लागि बालुबा बोकेर ६ दिनमा ३६ हजार कमाएका उनी अहिले आफैं पनि काम गर्न नसक्ने अवस्थामा पुगेका छन्। कम्मर दुख्ने, टाउको दुख्ने व्यथा भएका कारण आफैं पनि थलिएको उनले सुनाए।

छोरीको उपचारका लागि उनले आफन्त, संघसंस्थासँग गुहार मागे तर कसैको साथ पाएनन्। चार छोरी, तीन छोरा, बुहारी र नातिनीको रेखदेखको जिम्मा पनि उनैको काँधमा छ। उनले भूकम्पपछि अनुदान पाएको रकममा केही पैसा थपेर गाउँमै घर बनाए। तर बनेको घर बस्न नपाई आगोले खायो। घर जलेपछि उनको मन पनि जल्दै गयो। ‘नयाँ बनेको घरमा आगो लागेपछि श्रीमतीसहित परिवारका सदस्यले अर्काको घरमा शरण लिनुपरेको छ’, उनले भने, ‘यता छोरीको उपचार खर्च जुटाउन नसक्दा आफैं थला परेको छु। टाउकोमा ऋणमाथि ऋणको भारी थपिएको छ।’

गाउँमा दुई साताअघि घर जलेपछि खानेबस्ने ठाउँ नभएको दुखेसो उनले पोखे। आफन्त, छरछिमेकीले पनि ऋण नपत्याउने अवस्था आएको उनले बताए। घरखर्च चलाउन, घर बनाउन र छोरीको उपचारका लागि लिएको ऋण २५ लाख जति पुगेको उनले बताए। उनले भने, ‘ऋण कसरी तिर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ।’ जममायाको बिहे २०७१ सालमा भएको थियो। उनका श्रीमान मनोज तामाङ म्यानपावर कम्पनीमा काम गर्छन्। बिहे भएको एक वर्षसम्म श्रीमानको साथ पाएकी उनले रुखबाट लडेर घाइते भएपछि त्यो साथ पाउन छाडिन्। सुरुमा अस्पताल भर्ना भएको दुई महिनासम्म उनलाई भेट्न पति पुगेका थिए। त्यसपछि उनले जसमायालाई भेटेका छैनन्, उपचारबारे सोधेका पनि छैनन्। उपचार खर्च बेहोर्ने कुरा त परै जाओस्। ‘अहिले पति कहाँ छन् भन्नेसमेत थाहा छैन, फोनसमेत हुँदैन,’ जसमायाले भनिन्। पतिको साथ नपाएपछि उनी माइतीको शरणमा पुगेकी हुन्। उनका बुबाले ऋण खोजेर उपचार गराइरहेका छन्। रुखबाट लडेर अस्पताल भर्ना हुदाँ जसमायाको पेटमा पाँच महिनाको गर्भ थियो तर बचाउन सकिएन। ‘उठ्न पनि सक्दिनँ, पसिना आउने, मुटु दुख्ने गर्छ’, जसमायाले भनिन्, ‘पिसाब पनि पाइपनलीको सहायतामा गर्नुपर्छ, बाँच्नलाई साह्रै गाह्रो भयो।’

प्रकाशित: १९ फाल्गुन २०७५ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App