१६ चैत्र २०८० शुक्रबार
समाज

‘अहिलेसम्म सरकारबाट कुनै सेवा पाएका छैनौं’

बाँकेको अति विकट मानिने खयरभट्टीलाई नेपालको सुगम क्षेत्रसँग जोड्न स्थानीयले श्रमदान गरेर खनेको बाटो। तस्बिर:अर्जुन/नागरिक

खयरभट्टी (बाँके) - पहाडको काख र घनाजंगलबीचमा छन् बस्तीहरू। यी बस्ती अहिलेसम्म नेपालको सुगम ठाउँसँग सडक सञ्जालले जोडिएका छैनन्। त्यसलै यहाँका बासिन्दा हरेक कामका लागि सीमापारि भारतीय बजार पुग्छन्। खयरभट्टी क्षेत्रमा रहेका आधा दर्जनभन्दा बढी बस्तीबाट साइकल चढेर भारतीय बजार बघौडा पुग्न ४५ मिनेट मात्र लाग्छ। तर आफ्नै देशका सुगम ठाउँसम्म पुग्न झन्डै तीन घन्टा हिँड्नुपर्छ।

भारतीय बजार पुग्न सहज भए पनि यहाँका बासिन्दा आफ्नै देशसँग जोडिन चाहन्छन्।बाँकेको पूर्वी–दक्षिणमा भारतीय सीमा र दाङसँग जोडिएको उक्त क्षेत्रमा नेपाली बस्ती बसेको करिब दुई दशक भएको छ। यहाँका बासिन्दाको पेसा गाईबाख्रा पाल्ने, बाबियो काट्ने, डोरी बनाउने हो। साविक बैजापुर गाविस–४ मा पर्ने उक्त क्षेत्र हाल राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्छ। सो क्षेत्रमा खयरभट्टी, गुर्दनगौडी, महेशपुर, कुण्ठेपानी, माछापानी, बाँसखोली, चुनभट्टी र झुरुवा बस्ती छन्। एक दशकअघि मात्र पत्ता लागेको उक्त बस्तीमा करिब डेढ सय घरधुरीको बसोबास छ। ‘नयाँ बस्ती’ पत्ता लागेपछि जिल्ला प्रशासन कार्यालयले यहाँका बासिन्दालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको थियो। चोरीसिकार, काठदाउरा, घाँसपात गर्न आउने भारतीय नागरिकको बढी चहलपहल हुने यहाँ साविक मध्यपश्चिमका सल्यान, रोल्पा, रुकुम, प्युठान, दाङ, बाँकेलगायत जिल्लाबाट बसाइँ सरेर आएकाहरू बसेका छन्। बाटोलगायत खानेपानी, स्वास्थ्य, सञ्चार, सिँचाइ, विद्युत्लगायत सेवा सुविधाबाट उनीहरू वञ्चित छन्।

साइकल चढेर भारतीय बजार बघौडा पुग्न ४५ मिनेट मात्र लाग्छ। तर आफ्नै देशका सुगम ठाउँसम्म पुग्न उनीहरूलाई झन्डै तीन घन्टा हिँड्नुपर्छ।

गाउँलाई आफ्नै देशका सहरसँग जोड्न भरपर्दो सडक सञ्जाल हुनुपर्ने यहाँका बासिन्दाको माग छ। ‘जंगलमा बसेर जीवनयापन गरिरहेका छौं, सीमा क्षेत्रको आफ्नो भूमिमा बसे पनि अहिलेसम्म नेपाल सरकारबाट कुनै पनि सेवा सुविधा पाएका छैनौंै,’ खयरभट्टीका कृष्णबहादुर बुढाथोकीले भने, ‘तर पनि नेपाली हुनुमा गर्व छ हामीलाई, आफ्नै देशको माया लाग्छ, आफ्नै देशसँग जोडिन चाहन्छौं।’ आफूहरू यहाँ बस्न थालेपछि नेपाली भूमि संरक्षण भइरहेको उनको भनाइ छ। आफ्नो क्षेत्रलाई नेपालको सुगम ठाउँसँग जोड्न स्थानीयले श्रमदान गरी झन्डै पाँच किलोमिटर बाटो बनाएका छन्। ‘प्रत्येक घरबाट एक जना सहभागी भएर यो बाटो खनेका हौं,’ स्थानीय गणेशबहादुर बुढाथोकीले भने, ‘एउटा घरबाट ७०÷७२ दिनजति बाटोमा श्रम खर्च भएको छ।’ आफ्नै साधनबाट बाटो खनेको उनले बताए। बुढाथोकीले थपे, ‘सामान खरिद–बिक्री गर्न भारतीय बजार जान सहज त छ, तर नागरिकता, जन्मदर्ता, विवाहदर्ताजस्ता काम गराउन हामी आफ्नै देशसँग जोडिन आवश्यक छ, बाटो बनेपछि हामीलाई नेपाल सरकारले दिने सेवा सुविधा लिन जान सजिलो हुन्थ्यो।’

भरपर्दो बाटो नभएका कारण आफ्नो देशका ठूला मान्छेको आवतजावत कम हुने गरेको उनले दुखेसो पोखे। आफूहरूले ट्रयाक खोलेको बाटोलाई स्थानीय, प्रदेश र संघीय सरकारको बजेटबाट पूरा गर्नुपर्ने स्थानीयको माग छ। खयरभट्टीलाई बैजापुरसम्म जोड्न जंगल क्षेत्रमा अझै १० किलोमिटरजति बाटो बनाउन आवश्यक रहेको स्थानीय बासिन्दा बताउँछन्।सरकारी पूर्वाधारका नाममा खयरभट्टीमा प्राथमिक तहको एउटा सामुदायिक विद्यालय मात्र छ। दुई वर्षअघि स्थापना गरिएको सामुदायिक स्वास्थ्य एकाइ बन्द छ। उज्यालोका लागि केहीले सोलार जडान गरेका छन्, भने धेरैजसोले टुक्की बत्ती नै बाल्छन्। बिरामी भएमा भारतको बघौडा बजार उपचार गर्न जान्छन्। नेपाली सञ्चार माध्यमको पहुँचमा छैनन्। कुनै सरकारी काम गराउनु परेमा स्थानीय बासिन्दा हिँडेर बैजापुरस्थित वडा कार्यालय र अगैयामा रहेको गाउँपालिका कार्यालय पुग्छन्। सरकारले आफ्नो भूमि संरक्षण गर्न भए पनि खयरभट्टी क्षेत्रसम्म भरपर्दो सडक सञ्जाल जोड्नुपर्ने गुर्दनगौडी गाउँका छोटेलाल आले बताउँछन्। स्थानीय सरकार भएको नाताले विशेष गरी गाउँपालिकाले यहाँको विकासलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। ‘हामीहरू यहाँ बसेर आफ्नो जीविका त चलाएकै छौं, नेपाली भूमिको पनि संरक्षण गरेका छौं,’ आलेले भने।

खयरभट्टी क्षेत्रका स्थानीयले देखाएको अग्रसरताबाट स्थानीय तहका जनप्रतिनिधि आश्चर्यचकित परेका छन्। उक्त बाटो अवलोकन गरिसकेका राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले आफ्नो देशसँग जोडिन खयरभट्टी क्षेत्रका बासिन्दाले गरेको योगदान प्रशंसनीय रहेको बताए। ‘जुनसुकै कुनामा दुःखकष्ट सहेर बसे पनि आफ्नो देशप्रति नेपालीहरू कति वफादार हुन्छन् भन्ने उदाहरण खयरभट्टीका जनताले देखाएका छन्,’ उनले भने। आफ्नै प्रयासले बाटो खनेका यहाँका बासिन्दाको श्रमको मूल्यांकन हुने अध्यक्ष थारूले बताए।

खयरभट्टी क्षेत्रमा भरपर्दो सडक सञ्जाल विस्तार गर्न विशेष प्राथमिकता दिने उनको भनाइ छ। आफ्नो कार्यकालभित्र खयरभट्टीका जनतालाई सरकार पुगेको अनुभूति दिलाउने अध्यक्ष थारूको दाबी छ। राप्तीसोनारी–४ का वडाअध्यक्ष कान्छा थारूले खयरभट्टी क्षेत्रको विकासका लागि वडा कार्यालयले प्राथमिकता दिने बताए। ‘हाम्रो वडामा पर्ने खयरभट्टी क्षेत्र विकासका हिसाबले एकदमै पछाडि परेको छ, यहाँका बासिन्दालाई राज्यको पहुँचमा ल्याउन हामी सक्दो प्रयास गर्नेछौं,’ उनले भने।

प्रकाशित: १७ फाल्गुन २०७५ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App