१६ चैत्र २०८० शुक्रबार
समाज

बालमैत्री शिक्षण गर्ने प्रतिबद्धता

तस्बिर : बालमैत्री शिक्षण सिकाइ वातावरण विकास कार्यशालामा सहभागी शिक्षकहरू।

सोलुखुम्बु  – ओखलढुंगाको विकट क्षेत्रमा कार्यरत शिक्षकहरूले आउने शैक्षिक सत्रदेखि बालमैत्री शिक्षण अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) ले दस दिन सञ्चालन गरेको बालमैत्री शिक्षण सिकाइ वातावरण विकास कार्यशालामा सहभागी शिक्षक–शिक्षिकाले यस्तो प्रतिबद्धता जनाएका हुन्।

पात्ले माध्यमिक विद्यालयमा सञ्चालित कार्यशालामा मोलुङ गाउँपालिका–७ र खिजिदेम्बा गाउँपालिका–९ मा रहेका विभिन्न विद्यालयका ६० जनाभन्दा बढी शिक्षक–शिक्षिका सहभागी भएका थिए। कार्यशालामा सिकेका सीपहरू कक्षा कोठासम्म पु-याउने शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज तामाङले बताए। दस दिनसम्म सात महिनाको बच्चा च्यापेर तालिममा सहभागी भएकी शिक्षिका चम्पा कटवालले शिक्षणका लागि पहिलोपटक अर्थपूर्ण सीपहरू सिक्न पाएको बताइन्।

बालमैत्री कक्षाकोठाको व्यवस्थापन तथा बाल मनोविज्ञानअनुरूप शिक्षण तथा क्रियाकलाप सञ्चालन गर्न कार्यशाला आयोजना गरिएको रिड नेपालकी तालिम व्यवस्थापक गीता सुवेदीले जानकारी दिइन्। कार्यशालासँगै रिड नेपालले विद्यालयहरूलाई शैक्षिक सामग्रीसमेत वितरण गरेको छ।पात्ले माध्यमिक विद्यालयका प्रधानाध्यापक ल्हाक्पा शेर्पाले विकट क्षेत्रमा स्रोतसाधनबिना काम गर्न बाध्य रहेको अवस्थामा तालिमसँगै भौतिक विकासका लागि पनि रिड नेपालले सहयोग गर्नुपर्ने बताए। मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले शैक्षिक गुणस्तरका लागि तल्लो कक्षादेखि नै योजनाबद्ध रूपमा पठपाठन गराउनुपर्नेमा जोड दिए।

रिड नेपालले सोलुखुम्बु र ताप्लेजुङमा गुणस्तरीय शिक्षाका लागि लामो समयदेखि यस्ता कार्यक्रम गर्दै आएको छ। स्थानीय तहहरूसँग समन्वय तथा सहकार्य गरी कार्यक्रमहरू सञ्चालन गरिएको रिड नेपालका अध्यक्ष भीमबहादुर बोगटीले बताए।

प्रकाशित: १६ फाल्गुन २०७५ ०५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App