७ वैशाख २०८१ शुक्रबार
समाज

हेलिकप्टर दुर्घटना : हेर्दाहेर्दै पहरामा ठोक्कियो

पाँचथर - ‘हिँउ परिरहेको थियो। चिसो अत्यधिक बढिरहेको थियो। घाँस काट्न गएका थियौं। नजिकैबाट निक्कै ठूलो कराएको आवाज सुनियो। स्विइयँ हेलिकोप्टर आयो। उठेर हेर्दै थियौं। एकै छिनमा गएर ड्याङ्ङ ठोकियो। एउटा पङ्खा उछिट्टिएर भिरतिर डाँडापारि पुग्यो। अनि धुवाँ निस्क्यो, धुवाउँदै पहरामा खस्यो।’ ताप्लेजुङ मायम घर भई घास काट्न गएका प्रत्यक्षदर्शी सुकवीर भट्टराईले ताप्लेजुङमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान जानेगरी भएको हेलिकोप्टर दुर्घटनाको दृश्य यसरी सुनाए। उनका अनुसार सेतोपहरा भन्ने ठाउँमा हेलिकोप्टर ठोक्किएको थियो।

‘एउटा भाइ र म घाँस काट्न गएका थियौं। हामी त हेरेको हे¥यै भयौं। सपना जस्तो लाग्यो’, उनले थपे। उनका अनुसार हेलिकोप्टर ठोक्किएको ठाउँ सिधा हिँड्दा एक किलोमिटर मात्रै टाढा थियो। ‘कुहिरोले मौसम धुम्म हुन लागेको थियो। १२ बजेर ४५ मिनेट गएको थियो। हिउँ पनि पर्दै थियो। नजिकैबाट गएको हेलिकोप्टर ठोक्कियो। हामी तर्सियौं। सात्तो गयो। हतारहतार मोबाइल झिकेर जिल्लाको ठानामा फोन गरें। पैलोपल्ट देखेर खबर गर्ने मै हुँ। अनि ठूलो फेदीमा रहेको आफ्नै होटल र पुलिसलाई फोन गरें। सत्यानाश भइसकेको थियो। ठूला मान्छेहरु रहेछन्। आँखैअघि तेस्तो भएको सपनाजस्तो पनि लाग्यो’, उनले भने ‘कृष्णभीरदेखि दक्षिण, पाथीभरादेखि उत्तरमा यस्तो घटना भएको हो।’

हेलिकोप्टर सम्पर्कविहीन भएको खबर फैलिएपछि माथिल्लो फेदीमा रहेका प्रहरी र स्थानीय दौडिए। निकै टाढा थियो। भूगोल निकै अप्ठ्यारो। घटनास्थल पुग्दा आगो लागिरहेको त्यहाँ पुगेका स्थानियले बताए। माथिल्लो फेदीबाट पुगेका स्थानीय घनश्याम पौडेलका अनुसार घटना स्थलमा आगो लागिसकेको अवस्था थियो। भिरमा ठोक्किएजस्तो पाइएको उनले सुनाए। ‘प्रहरी र हामी सँगै पुगेक थियौं। हामीलाई एक घण्टा लाग्यो’, उनले भने ‘यस्तो हृदयविदारक घटना कहिल्यै देखेको थिइनँ।’ भौगोलिक रुपमा निकै कठिन ठाउँमा भएको दुर्घटनाबारे थाहा पाएर पुग्दा आगोले हेलिकोप्टर र त्यसमा सवार यात्रुलाई क्षविक्षत बनाएको स्थानीयले बताए। पाथीभरा देवीको दर्शनपछि फर्कने क्रममा दुर्घटना भएको थियो।

प्रकाशित: १६ फाल्गुन २०७५ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App