coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

उपचारमा भारतीय अस्पतालकै भर

बाँके खयरभट्टीका नन्दकिशोर पत्नी श्यामकुमारी चौधरीलाई साइकलमा राखेर भारतीय अस्पताल बघौंडा लैजाँदै।    तस्बिरः अर्जुन/नागरिक

(बाँके) खयरभट्टी – खयरभट्टीका नन्दकिशोरकी पत्नी श्यामकुमारी केही दिनअघि बिरामी भएर थला परिन्। घनाजंगल बीचमा रहेको उक्त बस्ती जोड्ने सडक सञ्जाल नहुँदा नन्दकिशोरले नेपालगन्ज पुर्याएर पत्नीको औषधि उपचार गराउने कल्पना नै गरेनन्। बरु साइकलमा डोर्याउँदै भए पनि जंगलको बाटो हुँदै भारतको बघौंडास्थित अस्पतालमा पुर्याए। आफ्नो बस्तीबाट बिरामी बोकेर नेपालगन्ज पुर्याउन सम्भव नहुँदा पत्नीलाई भारतीय अस्पतालमा लैजानुपरेको उनले बताए।

‘हाम्रो बस्तीबाट आफ्नै देशका अन्य स्थानमा जान गाडी हिँड्ने सडक नै छैन,’ जानुपर्ने अवस्था आइहाल्यो भने पनि भारतीय भूमि हुँदै बस चढेर ३–४ घन्टामा मात्र पुग्न सकिन्छ,’ उनले भने, ‘बोकाएर नेपालगन्ज पुर्याउने समयमा त बिरामीले बघौंडामै उपचार पाउँछ।’ आफ्नो बस्तीबाट बाँकेको बैजापुरसम्म सीधा सडक सञ्जाल जोड्न सकेमा मात्र यहाँका बासिन्दाले आफ्नै देशमा औषधि उपचार पाउन सक्ने उनी बताउँछन्। सुगम जिल्लाको ‘अतिदुर्गम’ क्षेत्रका रुपमा परिचित क्षेत्र हो, खयरभट्टी।

बाँकेको पूर्वी–दक्षिण भारतीय सिमानासँग जोडिएको उक्त क्षेत्रमा नेपाली बस्ती बसेको करिब दुइत भएको छ। साबिक बैजापुर गाविस–४ मा पर्ने उक्त क्षेत्र हाल राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्छ। सो क्षेत्रमा खयरभट्टीसहित गुर्दनगौडी, महेशपुर, कुन्ठेपानी, माछपानी, बाँसखोली, चुनभट्टी र झुरुवा बस्ती छन्। यी बस्तीमा करिब डेढ सय घरपरिवार छन्।

गाई बाख्रा पाल्ने, बाबियो काट्ने, डोरी बनाउने यहाँका बासिन्दाको पेसा हो। किनमेल र औषधि उपचारका लागि सहज रुपमा पुग्न सकिने भएकाले यहाँका बासिन्दा भारतीय बजार धाउँछन्। यहाँका बासिन्दालाई राप्तीसोनारीको बैजापुरसम्म पुग्न पनि करिव ३ घन्टा पैदल हिँड्नुपर्छ। स्थानीयका अनुसार उक्त बस्तीबाट सबैभन्दा नजिकमा रहेको नेपाल सरकारको बैजापुर स्वास्थ्यचौकी पुग्न घन्टौं हिँड्नुपर्छ। तर छोटो दूरी र कम समय लाग्ने हुँदा औषधि उपचारका लागि भारतीय बघौंडा बजार पुग्ने गरेको स्थानीय अमरबहादुर बुढाथोकीले बताए। ‘बाटोघाटो राम्रो हुन्थ्यो भने उपचार गराउन बैजापुर स्वास्थ्यचौकी जान्थ्यौं तर बाटोको समस्याले गर्दा सामान्य ज्वरो आए पनि भारतीय स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता छ,’ उनले भने।

सरकारले उक्त क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउन दुई वर्षअघि गुर्दनगौडीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको थियो। साबिक बैजापुर गाविसको आर्थिक सहयोगमा स्वास्थ्य एकाइ भवन निर्माण गरिएको थियो। त्यहाँ तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयले अनमी सुमिता चौधरीसहित ३ जना कर्मचारी खटाएको थियो तर उनीहरू कार्यालयमा नियमित बसेनन्। बैजापुर स्वास्थ्यचौकीका इन्चार्ज रामचन्द्र ओलीका अनुसार त्यहाँ कर्मचारी नियमित बस्न छाडेपछि उनीहरुको करार नवीकरण भएन। ‘अहिले स्वास्थ्य संस्था स्थानीय सरकार मातहत आएपछि हामीले गाउँपालिकालाई त्यहाँको सामुदायिक स्वास्थ्य एकाइ पुनर्स्थापना गर्नुपर्या भनेर सिफारिस गरिसकेका छौं, इन्चार्ज ओलीले भने, ‘खयरभट्टी क्षेत्रका जनताका लागि तत्काल सामुदायिक स्वास्थ्य एकाइ पुनस्र्थापना गर्न जरुरी छ।’

सामुदायिक स्वास्थ्य एकाइ भवन अहिले प्रयोगविहीन छ। आफ्नो ठाउँमा स्वास्थ्य संस्था नहुँदा उपचारका लागि अधिकांश व्यक्ति भारतीय अस्पताल जाने गरेको उनले बताए। यी बस्तीमा सल्यान, रोल्पा, रुकुम, प्युठान, दाङ, बाँकेलगायत जिल्लाबाट बसाइ सरेर आएका मानिस बस्छन्।

केही दिनअघि त्यसक्षेत्रमा पुगेर फर्केका राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले गाउँपालिकाले तत्काल सामुदायिक स्वास्थ्य एकाइ पुनस्र्थापना गर्न लागेको बताए। ‘म आफैं त्यहाँ पुगेर आएको छु, त्यहाँको अवस्था साँच्चिकै पीडादायी छ,’ उनले भने, ‘अब एक–दुई दिनभित्रै कर्मचारी पठाएर सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गर्छौं।’ घना जंगल बीचमा रहेका ती बस्तीमा पहिला बाटो पुर्याएर जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने अध्यक्ष थारुले बताए।

प्रकाशित: १५ फाल्गुन २०७५ ०२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App