coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सामान नियन्त्रणमा पर्छन् तस्करीमा संलग्न उम्कन्छन्

लहान – पुसको दोस्रो साता अवैध ढंगले सीमावर्ती ठाढी नाका हुँदै भारततर्फ मरिच र हरियो केराउ लैजान लागिएको थियो। सोही बेला प्रहरीले ३२ सय ३६ किलो मरिच र २६ सय किलो मटरसहित ट्याक्टर र मिनी ट्रक नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझायो तर तस्करीमा संलग्नहरू भने उम्किन सफल भए। माघ १८ गते भारतबाट नेपालतर्फ ट्याक्टरमा ल्याउँदै गरेको १८ बोरा हार्डवेयरका विभिन्न सामान प्रहरीले नियन्त्रणमा लियो। तर चालक र तस्करीमा संलग्न सजिलै उम्किए। माघ २७ गते महेशपुर पत्तार नाकाबाट मोटरसाइकलसहित तस्करीका सामान मात्र बरामद भयो।

सिरहाका विभिन्न नाकाक्षेत्रबाट चिनियाँ स्याउ, मरिच र मटर भारत तस्करी हुने र भारतबाट नेपालतर्फ दैनिक उपभोग्य सामानदेखि हार्डवेयरका सामानसम्म तस्करी हुने यी उदाहरण मात्र हुन्। भन्सार छलेर भित्र्याइएका सामान र सामान बोक्न प्रयोग गरिने सवारीसाधन बेलाबखत प्रहरीको नियन्त्रणमा आउने गरेका छन्। तर तस्करीमा संलग्नलाई भने प्रहरीले पक्राउ गरेको पाइँदैन। तस्करीमा संलग्न भने भागेकाले नियन्त्रणमा लिन नसकेको जवाफ प्रहरीले दिने गरेको छ।

त्यसकारण तस्करीमा प्रयोग गरिएका सवारीसाधन र बरामद सामान मात्र सार्वजनिक गर्ने गरिन्छ। तस्करीमा संलग्न पक्राउ नपर्नुमा स्थानीयको आशंका भने प्रहरीतर्फ केन्द्रित हुने गरेको छ। ‘प्रहरीले दिउँसो ठूलो परिमाणमा सामान बरामद गर्छ, सवारीसाधनसमेत समाउँछ तर तस्करीमा संलग्न भाग्यो भन्ने जवाफ दिन्छ,’ सीमावर्ती झाझपट्टीका देवनारायण यादवले भने, ‘प्रहरी दौडन र जनशक्ति परिचालन गर्न सक्दैन ?’ प्रहरीकै मिलेमतोमा वारिका सामान पारि र पारिका वारि तस्करी हुने गरेको उनको आरोप छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी माधवराज खरेलले तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरी खटिएको बताए। ‘हामी भेट्टाएसम्म अवैध कारोबार गर्नेलाई छाड्दैनौं तर प्रहरीलाई देख्नासाथ सामान र साधन छाडेर भाग्छन्,’ उनी भन्छन्।

सिमानाका तस्करीमा संलग्नको राज

सिरहाको सीमावर्ती झाझपट्टी, नरगी, कजरा, कुसन्डी, बरियारपट्टी पछिल्लो समय तस्कर गर्ने ठाउँ बनेका छन्। लहानमा भण्डारण गरिने चिनियाँ स्याउ पिकअप जिप, ट्याक्टर र मिनी ट्रकमा दिउँसै सीमाक्षेत्रका यी बजारमा भण्डारण गरिन्छ। त्यहाँबाट सुरक्षित समयमा पारि पुर्याइन्छ। सीमाक्षेत्रमा रहेका सुरक्षाकर्मी र भन्सारका कर्मचारी समेतले मिलेमतो गरेकाले चाइनिज स्याउको तस्करीका लागि सीमा–नाका खुलेको सीमावर्ती नवराजपुरका एक ज्येष्ठ नागरिकले भने।

यता सिरहाको ठाढीअन्तर्गतका अभयनगर नाका पछिल्लो समय मदिरा तस्करीका लागि पनि चिनिएको छ। स्थानीय स्तरमा सुरक्षाकर्मीसित लाइन मिलाएर मदिरा भारततर्फ तस्करी हुँदै आएको स्थानीयहरूको कथन छ। बिहारमा मदिरा प्रतिबन्धित भएपछि नेपालबाट मदिराको तस्करी बढेको बताइन्छ। अभयनगर नाकासँगै कचनारी, बरियारपट्टी र नरगी नाकाबाट समेत मदिराको तस्करी बढ्ेको सीमाक्षेत्रका स्थानीयहरु बताउँछन्।

स्थानीय प्रहरीसँग सेटिङ मिलाएर थोरै सामान वारपार गर्नेहरू अहिले ठूलै परिमाणमा मदिरा, स्याउ, मरिच, मटर, दैनिक उपभोग्य सामान तस्करी गर्न थालेका छन्। पछिल्लो समय सिरहा नाकामा तस्करको रजाइँ छ। सेटिङ मिलेपछि तस्कर सामानसहित पक्राउ पर्ने सम्भावना कम हुन्छ। वारिपारिको व्यपारमा संलग्न एक जनाले भने, ‘प्रहरीलाई मिलाएपछि टन्टै साफ।’ पछिल्लो समय चिनियाँ स्याउ, मरिच र मटर तथा मदिरा तस्करीको प्रमुख नाका सिरहाका सीमावर्ती बजार बन्नुमा सहज सुरक्षा सेटिङलाई प्रमुख ठान्छन् त्यहाँका व्यपारीहरू।

‘बोर्डरको दृश्य देख्दा लाग्छ, यहाँ तस्करकै राज छ,’ झाझपट्टीका स्थानीय देवनारायणले भने, ‘साँझ परेदेखि बिहानसम्मै वारिपारि सामान ल्याउने पुर्याउने क्रम सुरु हुन्छ।’ नम्बर प्लेट नभएका ट्याक्टरको टेलरमा लोड भएका स्याउ, गिट्टी, बालुवा, मदिरा, मरिच, मटर दसगजामा राखिने गरेको उनको भनाइ छ। ‘दसगजामा पारिबाट इन्जिन मात्र भएको ट्याक्टरले सामान भरिएको टेलर लैजान्छ,’ उनले भने, ‘पैसाको बलमा जे पनि सम्भव हुने रहेछ।’

सिरहाको ठाढी नाकामा भन्सार कर्मचारी, सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट र प्रहरी चौकी छन्। झाझपट्टी नाकामा भन्सार कर्मचारी छैन। यहाँ सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट र प्रहरी चौकी मात्र छन्। कजरा जिझौल नाकामा प्रहरी चौकी छ। कुसन्डी नाकामा पनि प्रहरी चौकी छ। कचनारीमा पनि प्रहरी चौकी छ।

भन्सार कार्यालय ठाढीका प्रमुख उमेश भट्टराईका अनुसार यस नाका क्षेत्रबाट मंसिरदेखि माघसम्म करिब ५० लाखको तस्करीका सामान र सामान बोक्न प्रयोग भएको सवारीसाधन सुरक्षाकर्मीले बुझाएको छ।

प्रकाशित: १५ फाल्गुन २०७५ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App