coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रेडपान्डा संरक्षण चुनौतीपूर्ण

जुम्ला - दुर्लभ बन्यजन्तु रेडपान्डाको संरक्षण जुम्लामा चुनौतीपूर्ण बन्दै गएको छ। बासस्थान विनाश, खण्डीकरण, चोरी सिकारी रेडपान्डा संरक्षणमा प्रमुख चुनौती हुन्। रेडपान्डाको चोरी सिकारी नियन्त्रणमा मिडियाको भूमिका विषयक छलफल कार्यक्रममा सहभागीले रेडपान्डा संरक्षणमा चुनौती थपिएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

उनीहरुले रेड पान्डा संरक्षणमा स्थानीय सरकार जागरुक बन्नुपर्नेमा जोड दिए। ‘रेडपान्डाको संरक्षण र चोरी सिकारीमा स्थानीय सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ’, नागरिक समाजका अगुवा राजबहादुर महत भन्छन्, ‘रेडपान्डाको संरक्षणमा स्थानीय सरकार जिम्मेवार हुनैपर्छ।’ रेडपान्डा संरक्षणमा सक्रिय संस्था रेडपान्डा नेटवर्कका कार्यक्रम संयोजक सरोज श्रेष्ठले रेडपान्डाको संरक्षणका लागि सामुदायिक वनका पदाधिकारीलाई सचेतना दिने काम गरिरहेको बताए। उनले भने, ‘सामुदायिक वन संरक्षणको काम अघि बढ्नेबित्तिकै रेडपान्डाको संरक्षण पनि हुने देखिन्छ।’

लजालु स्वभावको बन्यजन्तु रेडपान्डाको वासस्थान निगालोको जंगल भएको हो। जंगल विनाश हुँदै जाँदा रेडपान्डालाई बासस्थानको समस्या भएको छ।

लजालु स्वभावको बन्यजन्तु रेडपान्डाको वासस्थान निगालोको जंगल भएको हो। श्रेष्ठले निगालोको टुसा र पात खाने रेडपान्डाको बासस्थान जोगाउन सरोकारवालालाई सुझाव दिए। उनले भने, ‘वनक्षेत्रमा हुने आगलागी, गाईबस्तु चरीचरन, बढ्दो मानवीय गतिविधिले रेडपान्डा संरक्षण चुनौतीपूर्ण देखिएको छ। रेडपान्डाको चोरी सिकारीसँगै लेकाली गोठमा पालिने कुकुरको आक्रमणले पनि रेडपान्डा असुरक्षित हुने गरेका छन्।’

रेडपान्डा नेटवर्कका सञ्चार अधिकृत प्रगति शाही समुदायमा आधारित रेड पान्डा संरक्षण कार्यक्रम प्रभावकारी रुपमा अघि बढाउने बताउँछन्। सामुदायिक वनहरुसँग सहकार्य गर्दै रेडपान्डाको वासस्थान पहिचान गर्ने, नियमित अनुगमन गर्ने, सामुदायिक वनका पदाधिकारीलाई सशक्तीकरण गरेर बासस्थानको संरक्षण गर्ने कार्यमा जुट्नुपर्ने बेला आएको बताए। उच्च पहाडी क्षेत्रका वन क्षेत्रमा पाइने रेडपान्डाको आयु ८ देखि १० वर्षसम्म हुन्छ। रेडपान्डालाई पर्यटन प्रवद्र्धन गर्न र अध्ययन अनुसन्धान गर्न महत्वपूर्ण बन्यजन्तु मानिएको बताउँदै शाहीले स्थानीय सरकारका तर्फबाट यसको संरक्षणमा ध्यान दिनुपर्ने बताए। रेडपान्डा नेटवर्कसँगको सहकार्यमा कर्णाली हातेमालो सेवा समाज जुम्लाले दुईवटा स्थानीय तहमा रेडपान्डा संरक्षणको कार्य गर्दै आएको छ।

जुम्लाको पातारासी र सिंजा गाउँपालिकामा रेडपान्डाको संरक्षणका विषयमा काम गर्दै आएको समाजका कार्यकारी निर्देशक टेकबहादुर रावतले जानकारी दिए। उनले भने, ‘रेडपान्डाको संरक्षणका लागि स्थानीय तहमा तीव्र छलफल भइरहेको छ। स्थानीय तहले पनि सकारात्मक प्रतिक्रिया दिँदै आएका छन्।’

डिभिजन वन कार्यालय जुम्लाका निमित्त प्रमुख निरज झा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा १ देखि १० वर्षसम्म कैद वा एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेको बताउँछन्। रेडपान्डाको सहवास समय र सन्तान जन्माउने समयमा बासस्थानमा स्थानीयलाई जान नदिने, चरीचरन गर्न नदिने, कुकुर लिन नदिने गरेमा यसको संरक्षण हुने उनको भनाइ छ। रेडपान्डाको बासस्थान विनाश नगराई सामुदायिक वनलाई रेडपान्डा संरक्षणमैत्री गतिविधि सञ्चालन गराउनुपर्नेमा जोड दिए। समुद्र सतहबाट झन्डै ३ हजार ६ सय मिटर उचाइमा रेडपान्डा बढी पाइन्छ।

नेटवर्कका अनुसार मुलुकका २३ हिमाली तथा पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, डोल्पा, जुम्ला, मुगु, कालीकोट र जाजरकोटमा रेडपान्डा पाइन्छ।
तस्बिर

जुम्लामा पाइने रेडपान्डा। तस्बिर ः डिबी÷नागरिक

प्रकाशित: १० फाल्गुन २०७५ ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App