coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वन्यजन्तुपीडित परिवारलाई राहत

तस्बिर : राहत वितरण गरिँदै।

रसुवा - वन्यजन्तुले क्षति पुर्‍याएका परिवारलाई लाङटाङ राष्ट्रिय निकुञ्जले राहत वितरण गरेको छ। निवेदन दिएकामध्ये बिहीबार चार पीडितमध्ये कर्मा धिन्दुप तामाङलाई ३० हजार, कैसाङ तामाङलाई ३५ हजार, सोनाम साबो तामाङलाई ३० हजार राहत वितरण गरिएको निकुञ्जले जनाएको छ। त्यसैगरी पूर्णबहादुर तामाङको परिवारलाई १ लाख राहत वितरण गरिएको छ। जिल्लाको नौकुण्ड गाउँपालिका–४ सरमथलीका तामाङलाई गत वर्ष भालुले आक्रमण गरेको थियो। उनको केही समयपहिले निधन भइसकेको छ।

मूल्यअनुसारको क्षतिपूर्ति नपाए पनि क्षतिबापतको राहत पाएकोमा खुसी लागेको पीडित कर्मा धिण्डुपले बताए। ‘हामी यसलाई क्षतिपूर्ति त भन्दैनौं,’ उनले भने, निकुञ्जले राहत दिएर भए पनि घाउमा मलम लगाउने प्रयास गरेको छ।’ वन्यजन्तुले क्षति गर्न थालेपछि पीडितले खेती गर्ने तथा पशुपालन गर्ने कार्य कम हुन थालेको छ। जंगली जनावरले क्षति गर्‍यो भन्दैमा आफ्नो पेसा नै छाड्न नहुने उनको भनाइ थियो।

धेरैजसो जंगली बँदेलले बालीमा क्षति पुर्‍याएको निवेदन आएको छ। वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (दोस्रो संशोधन २०७४) अनुसार राहत वितरण गरिएको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन्। ‘वन्यजन्तुले क्षति गरे अनुसार क्षतिपूर्ति दिन सकिँदैन,’ उनले भनिन्, ‘सहयोगस्वरूप राहत दिएका हौं।’ मानव र वन्यजन्तुबीच हुने द्वन्द्वका कारण संरक्षणमा चुनौती सिर्जना हुने निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताए। ‘निकुञ्जमा मानव वन्यजन्तुबीच द्वन्द्व हुने गरेको छ,’ उनले भने, ‘पीडितलाई थोरै भए पनि राहत दिँदा संरक्षणमा उनीहरूले भूमिका निर्वाह गर्छन्।’कार्यालयबाटै राहत वितरण गर्न पाउँदा खुसी लागेको मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष टेम्पा नुर्पु तामाङले बताए। ‘पहिले राहत रकम लिन विभागमै जानुपथ्र्यो,’ उनले भने, ‘अहिले कार्यालयबाटै रकम दिने व्यवस्था भएपछि सहज भएको छ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको राहत अक्षयकोषको ब्याजबाट राहत वितरण गरिएको निकुञ्जले जानकारी दिएको छ। २०६९ सालदेखि वन्यजन्तुबाट पीडित भएका परिवारलाई राहत वितरण गर्न थालिएको हो। हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, जंगली बँदेल, ध्वाँसे चितुवा, जंगली कुकुर, अर्ना, मगर गोही, गौरी गाई र अजिंगरले क्षति गरे राहत पाउने निर्देशिकामा व्यवस्था छ। तर रसुवामा बाँदरले बढी क्षति पुर्‍याउने गरेको छ। बादरले क्षति पुर्‍याएबापत पीडितले राहत पाउँदैनन्।

प्रकाशित: १० फाल्गुन २०७५ ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App