४ वैशाख २०८१ मंगलबार
समाज

विद्यार्थी बिरामी भएपछि विद्यालयमै बोका बलि

बिद्यालयमा धामिको उपचार। तस्बिर : नागरिक

रोल्पा - बुधबार बिहानै घामको झुल्कोसँगै बिद्यालयको हातामा कालो बोका बाँधियो। शक्तिशाली भनिएका धामीहरूले फूल–अक्षतालगायत झारफुकका सामग्री तयार पारे। विद्यार्थी र अभिभावकले स्कुल भरिभराउ भयो। सानाठूला विद्यार्थी विद्यालय हातामा प्रवेश गरेसँगै ‘ऊ आयो आयो’ भन्दै बेहोस हुन थाले। बिरामी भएर ढलेका विद्यार्थीको टाउको माथि मन्तर गर्दै धामीले ‘पाती र चँवर’ चलाउन सुरु गरे। पाच÷सातजना हँदै दर्जनभन्दा बढी विद्यार्थी चिच्याउँदै बेहोस हुन थालेपछि अभिभावक आत्तिए।

दुई महिनायता लगातार विद्यार्थी बिरामी पर्न थालेपछि रोल्पा सदरमुकाम लिवाङछेउमा रहेको पिताराज आधारभूत विद्यालयमा दोस्रोपटक धामी बसालिएको छ। ‘अभिभावकहरूले नै स्कुलमै धामी बसाल्नुभएको हो। जति गर्दा पनि भएन अनि आज त कालो बोकोसहित धामि बस्दै छन्,’ विद्यालयकी प्रधानाध्यापक लीला आचार्यले बताइन। ‘विद्यार्थी बिरामी हुन्छन्, नगर्नुस् भन्न पनि मिलेन।’ केही दिनअगाडि स्कुलमा आएर आफ्नो काम गरेका धामीले ‘सुधार भएन भने बोका काट्नुपर्छ’ भनेर सुझाएको रोल्पा नगरपालिका–२ का अध्यक्ष खिमबहादुर घर्तीले बताए। ‘त्यसैले आज बोकासहित अभिभावक पनि जम्मा हुनुभएको हो,’ उनले भने, ‘अस्पतालबाट डाक्टर पनि आउनुभयो। बच्चाहरूलाई अस्पताल पनि लगियो।’ तर महिनौं निको नभएपछि विद्यार्थीका बाबुआमाले भनेअनुसार धामी बोलाइएको घर्तीको भनाइ छ।

बिहान नबित्दै मन्त्रोच्चारण गर्दै फूल–अक्षता छर्दै स्कुलवरिपरि घुमे। एक जनाले धनु चलाएर ‘चुरेनी’ लखेट्ने भन्दै कोठाकोठा चहारे। अनि आगोसँगै बोकालाई स्कुलपारिको घट्टेखोलाको मुलमा गएर बलि चढाए। आजको आधुनिक युगमा सदरमुकाम भित्रै विद्यालयमा एकाबिहानै धामी बसालेको कुरा बजारभरि फैलियो। तर त्यसबारे छलफल गर्ने जाँगर कसैले चलाएनन्। ‘जिल्ला शिक्षा कार्यालय छैन। नगर शिक्षाले ध्यान दिनुपर्ने। हामी गएर भएन, जानेको मान्छे जानुपर्‍यो।’ शिक्षा विकास तथा समन्वय एकाइ रोल्पाका प्रमुख दानबहादुर गुरुङले भने। सम्पूर्ण जिल्लाको प्रशासकीय जिम्मेवारी पाएका प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसी पनि यो घटनाबाट बेखबरजस्तै छन। ‘मैले पनि रेडियो र पत्रिकाबाट सुनेको हुँ। खासै त्यति जानकारी छैन,’ उनले भने, ‘के गर्न सकिन्छ छलफल गर्नुपर्ला।’‘समस्या समाधानको उपाय खनेजन चिकित्सकसँग सल्लाह गर्नुपर्ने देखियो। जे सहयोग गर्नु परे पनि नगरपालिका तयार छ। मनोचिकित्सकको आवश्यकता हो भने पनि नगरपालिकाको पहलमा ल्याउने छौं,’ नागरिकसँग कुरा गर्दै नगर प्रमुख पूर्ण केसीले भने, ‘अभिभावकहरू धामीको विश्वासमा भएकाले पनि समस्या आएको हो।’

धेरैपटक बिरामी विद्यार्थिको उपचार गरेका जिल्ला अस्पताल रोल्पाका डाक्टरहरू पनि समस्या समाधान गर्न मद्दत माग्नैपर्ने बताउँछन्। ‘यो केसमा साइको सोसियल काउन्सिलर र साइक्याट्रीलाई बोलाउनुको विकल्प छैन। त्योसम्बन्धी विशेषज्ञता भएका विज्ञ नै चाहिन्छ,’ जिल्ला अस्पताल प्रमुख सुशील आचार्य भन्छन्, ‘ठूला मात्र नभएर साना बच्चा पनि बिरामी भएका छन्। यो समस्या देखिएको लामो समय भइसक्यो। अब त बिरामी देख्दै आएका अरूले पनि असजिलो मान्न थालेका छन्।’ वार्षिक परीक्षा नजिकिँदै गर्दा पठनपाठन हुन नसकेपछि विद्यार्थी, शिक्षक र अभिभावक दिक्क छन्। ‘छोराछोरी दिनहुँ बिरामी हुन थालेपछि कसरी स्कुल पठाउने ? जेसुकै होस् भनेर अब पढाइ छुटाउनुको विकल्प छैन,’ बिरामी छोरीलाई काखमा सुताएकी एक अभिभाकले भनिन्, ‘घरमा त ठीकै हुन्छ। स्कुल आउँदा कुन दैवले यस्तो गराएको होला ?’ विद्यालयमा करिब पाँच घन्टा धामी बसेको थियो।

प्रकाशित: ९ फाल्गुन २०७५ ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App