१६ चैत्र २०८० शुक्रबार
समाज

फरार हत्या आरोपी पक्राउ

उदयपुर – उदयपुरमा महिलाको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्। १० दिनअघि जिल्लाको चौडण्डीगढी नगरपालिका ७ की ४५ वर्षीया भिमा परियारको हत्या गरी फरार रहेको आरोपमा खोजीको सूचीमा रहेका २१ वर्षीय उमेश खत्री मंगलबार पक्राउ परेका हुन्। खत्रीलाई चौनपाकै लामिचौरीबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।

माघ २७ गते भिमाको हत्या भएको थियो। उनको हत्यामा संलग्न भएको आशंकामा इलाका प्रहरी कार्यालय बेल्टारले अनुसन्धान गरिरहेको थियो। अनुसन्धानको क्रममा उनलाई पक्राउ गर्न सफल भएको इप्रका बेलटारका निरीक्षक गंगाप्रसाद पौडेलले बताए।

उनका अनुसार माघ २७ गते साँझ दाजुको घर आएकी परियारलाई रक्सी खान होटलतिर जाउ भन्दै हिँडाएका खत्रीले नजिकैको लाटीखोलामा लगेर हत्या गरेको उजुरी परेको थियो। उजुरीका आधारमा खत्रीलाई पक्राउ गरिएको पौडेलले बताए। रक्सी खान भनेर दुवै हिँडेको तर, बाटोमा दुईपक्षबीच विवाद भएपछि खत्रीले घाँटी थिचेर परियारको हत्या गरेको अनुसन्धानबाट खुलेको इन्सपेक्टर पौडेलले बताए।

पक्राउपछि बयानको क्रममा खत्रीले परियारकै घाँटीको सलले कसेर हत्या गरेको स्वीकारेको पौडेलले बताए। हत्या गरेर फालिएको अवस्थामा परियारको बेवारिसे शव घट्नाको भोलिपल्ट खोलामा भेटिएपछि हत्याराको खोजी भइरहेको थियो।

अनुसन्धानबाट परियारको हत्या खत्रीले गरेको खुलेको र पक्राउपछि बयानमा पनि सो कुरा पुष्टि भएको प्रहरी भनाई छ। गत वैशाखमा श्रीमान् गोपाल परियारले आत्महत्या गरेपछि छोराछोरीको रेखदेख गर्दै आएकी भिमाको हत्या भएपछि ४ छोराछोरीको बिचल्ली भएको स्थानीयले बताएका छन्।

प्रकाशित: ८ फाल्गुन २०७५ ०५:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App