४ वैशाख २०८१ मंगलबार
समाज

बालिका बलात्कार गरी जलाउने पक्राउ

जनकपुर – धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरकी ११ वर्षीया दुतिया रसाइलीको बलात्कार तथा हत्या आरोपमा एक जनालाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। उक्त घटनाका मुख्य योजनाकार रहेको आरोपमा प्रहरीले धनुषाकै बटेश्वर–४ का २२ वर्षीय निरन भन्ने निरज जर्घामगरलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

गत शुक्रबार राति हरिहरपुरमा जलेको अवस्थामा दुतियाको शव भेटिएको थियो। उनको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

‘शुक्रबार मामा घर पुगेकी दुतिया छिमेकी घरमा आयोजित वैवाहिक कार्यक्रममा अन्य बालबालिकाहरुसँगै नाचिरहेका बेला निरजले फ्रुटी र चाउचाउ किन्न भन्दै किराना पसल पठाएको देखिन्छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा धनुषा जिल्ला प्रहरी प्रमुख, एसपी शेखर खनालले भने, ‘सोही बहानामा बालिकालाई बस्तीदेखि करिब दुई सय मिटर पर पोखरीको डिलमा लगेर बलात्कार गरी हत्या गरेको रहेछ।’

विवाहमा खुसीले नाच्दै गरेकी गरिब परिवारकी प्रस्ट बोल्नसमेत नसक्ने बालिकालाई निरजले फकाएर बलात्कार गरी गाउँमा हल्ला हुने डरले हत्या गरेको प्रहरीको भनाइ छ। हत्याको प्रमाण नष्ट गर्न उखुको पातले बालिकालाई जलाएको अनुसन्धानमा देखिएको एसपी खनालले बताए। गाउँमा नाचगान हुँदै गर्दा पटक–पटक लाइन कट्न थालेपछि सहभागीहरू घरतर्फ लागे। लाइन आउने–जाने भइरहँदा सहभागीहरू घर फर्किने क्रममा पसल गएकी बालिका त्यहाँबाट निस्केर कहाँ गएको भन्ने कसैले ध्यान दिन नसकेको र अपराधीलाई सहज भएको घटना अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत बताउँछन्।

घटनालगत्तै जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयको संयुक्त टोली अनुसन्धानमा जुटेको थियो। बालिका बलात्कारपछि हत्या गरी भारततर्फ जान लागेका मगरलाई सुनसरीको दुहबीबाट सोमबार प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले बताए। दुर्व्यवहारमा फसेका निरज यसअघि पनि विभिन्न आपराधिक गतिविधि तथा चोरी घटनामा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ फाल्गुन २०७५ ०१:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App