१५ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

तनहुँ घुमघाम वर्ष २०७५

वेदव्यास र आदिकवि भानुभक्त आचार्यको जन्मथलो रहेकै कारण तनहुँले साहित्य, दर्शन र आध्यत्मिकतालाई समेत पर्यटनसंग एकीकृत रूपमा अघि सारेको छ ।

तनहुँका स्थापित पर्यटकीय गन्तव्यहरूमा कत्तिको चहलपहल भैराखेको छ ?
तनहुँका पर्यटकीय गन्तव्यहरुमा बन्दिपुर, मिर्लुङकोट, व्यास पराशर क्षेत्र दमौली, तनहुँसूर, छिम्केश्वरी, देवघाट, रिसिङ रानीपोखरी, चुँदी रम्घा, सेदीनदी, ढोरबाराही क्षेत्र आदि पर्दछन् । पहाडकी रानी बन्दिपुरले आन्तरिक एवं वाह्य पर्यटकका लागि अफ सिजन भन्नु परेको छैन । मिर्लुङकोट क्षेत्र विशेषतः टुटेपानी होमस्टेमा रम्न तथा सहिद ग्राम पुलिमराङ, सिद्ध गुफा सहितको ठुलो ढुंङ्गा र रमणीय दृश्यावलोकन गर्नेहरूको संख्या दु्र्रत गतिमा वढ्दो छ । गत सालबाट व्यास नगरपालिकाको सक्रियतामा मानहुँकोटदेखि पुलिमराङसम्म राष्ट्रिय स्तरको अल्ट्रा म्याराथुन दौड प्रतियोगिताले समग्र जिल्लाभरि नै खेलकुद तथा साहसिक पर्यटनको विकासले फड्को मारेको छ । सेती नदीमा विभिन्न र्‍याफ्टिङ् कम्पनीका माध्यम दैनिक सरदर १० र्‍याफ्टले स्वदेशी तथा विदेशी बोकेर सयर गर्ने गरेको छ ।

तनहुँमा कस्ता किसिमका पर्यटक रमाउन सक्छन् ? पर्यटकीय संभावना भएका क्षेत्रहरू कुन कुन हुन् ?
तनहुँमा विशेषतः प्रकृति र संस्कृतिप्रेमी पर्यटकहरू रमाउने गरेको पाइन्छ । न्यानो आतिथ्य, स्थानीय खाना र संस्कृति कौरा (चुड्का) का साथ सञ्चालनमा रहेका होमस्टेहरूमा रमाउने आन्तरिक पर्यटक हाल तनहुँको फस्टाउँदो पर्यटन क्षेत्र हो । त्यसका अलावा देवघाट वेणीसंगमस्थित दैनिक स्नान तथा मकरसक्रान्ति मेला, हरेक मंगलबार थानीकोथानमा चढाइने फूलको डोली, छाव्दी र ढोरबाराहीमा दैनिक पूजामा लाग्ने भीड, कृषि तथा वन सम्वन्धी अध्ययन अनुसन्धानका लागि आउने खोजकर्ताहरू र पछिल्लो समय विभिन्न गीत, भिडियो तथा चलचित्रहरूको छायाङ्कन गर्नेहरूले इच्छाएको स्थलका रूपमा विकास हुँदैछ तनहुँ । वेदव्यास र आदिकवि भानुभक्त आचार्यको जन्मथलो रहेकै कारण तनहुँले साहित्य, दर्शन र आध्यत्मिकतालाई समेत पर्यटनसंग एकीकृत रूपमा अघि सारेको छ । सायद नेपालमै सवैभन्दा बढी हिमनदीले सिञ्चित जिल्ला तनहुँ हो, तिनै नदीमा विभिन्न उद्देश्यका साथ बाँधिने बाँधहरूको जलाशयमा सञ्चालन हुने पर्यटकीय गतिविध तनहुँको अर्को सम्भावना हो भने आदिवासी जनजातिहरुको जीवन्त कला, संस्कृति र रहनसहनमा आधारित पर्यटन तनहुँको निधि हो ।

आशा गरे अनुसार किन पर्यटक भित्र्याउन सकिएन ? पर्यटन विकासमा देखिएका प्रमुख समस्या केके हुन् ?
केही वर्ष अघिसम्म त जिल्लामा पर्यटन एक श्रृङ्गारिक विषयका रूपमा मात्र  थियो, हाल योजनावद्ध तरिकाबाट विकास हुने प्रक्रियाको थालनी भएको छ । त्यसैले पनि जिल्लामा बन्दिपुर र सेती नदी बाहेक अन्य स्थानमा पर्यटक भित्र्याउन नसकिएको हो । पर्यटन विकासमा देखिएका प्रमुख समस्याहरूमा प्रथमतः पूर्वाधार विकास नै हो (सजिलैसंग पुग्न सकिने बाटो तथा सडक, घरघरमा धारा, होमस्टेहरूमा आरामदायी कोठा, वहुउद्देश्यीय सामुदायिक भवन आदि), अर्को कुरा हो सोंचमा परिवर्तन । कृषिमा निर्भर बहुसंख्यक स्थानीय समुदायमा पर्यटकीय गतिविधिबाट पनि समृद्धि र सुसंस्कृति सम्भव छ भनेर बुझ्न नसक्नु । त्यसैगरी दक्ष जनशक्ति, प्रभावकारी बजारीकरण र यस क्षेत्रमा न्यून वजेट विनियोजन हुनुले पनि अपेक्षाकृत पर्यटनको विकास हुन नसकेको हो ।

ग्रामीण पर्यटनको अबस्था कस्तो छ ? टुटेपानी र मिछुर्लुङ जस्ता गाउँलाई कसरी अघि बढाउँदै हुनुहुन्छ ?
ग्रामीण पर्यटनको अवस्था वास्तवमा गाउँबासीको सहभागिता, मेहनत र प्रतिवद्धता अनुसार सन्तोषजनक रहे पनि संवन्धित निकायको योजना, कार्यान्वयन र रिजल्टलाई हेर्ने हो भने सन्तोष मान्ने स्थितिछैन । तनहुँमा एक दर्जन भन्दा वढि गाउँहरु होमस्टेका लागि प्रचुर संभावना रहेका छन् तर समन्वयनात्मक तरिकाबाट लयमा अघि वढेका गाउँहरु सीमित छन् । लयमा अघि वढेकाहरू मध्ये टुटेपानी र मिछुर्लुङ पनि हो । टुटेपानी (गुरुङ) आव ०७२÷०७३ मा जिल्ला विकास समिति तनहुँको जिल्ला परिषद्द्धारा नमुना होमस्टेका लागि छनोटमा परेको गाउँ हो भने मिछुर्लुङ (मगर) आव ०७४÷०७५ मा भीमाद नपाको नगरपरिषद्बाट । दुवै गाउँको एकीकृत पर्यटन विकास तथा व्यवस्थापन योजना निर्माण भएको छ । टुटेपानीमा सहीद कृष्ण गुरुङ पार्कमा भ्यू टावर, गाउँका सवै घरमा निजी धारा, सांस्कृतिक संग्रहालय निर्माण, होमस्टे घर तथा कोठा सुधार कार्यक्रम, स्वागतद्धार निर्माण, विभिन्न तालिमकासाथै विभिन्न सञ्चारका माध्यद्धारा वजारीकरण गर्ने कार्यक्रमहरुलाई प्राथमिकताका साथ अघि सारिएको छ । मिछुर्लुङमा पनि प्राय माथिकै जस्तो कार्यक्रममा थप एक कार्यक्रम आँटीथाप झरनालाई क्यानोनिङ तालिम केन्द्रका रूपमा विकास गर्ने रहेको छ । मिछुर्लुङ तनहुँले अघि सारेको मगर हेरिटेज ट्रेल अन्तर्गत पर्ने होमस्टे हो भने टुटेपानी बुद्ध शान्ति पदमार्ग (मनाङ–लुम्बिनी) र क्यासमिरि पदमार्ग अन्तर्गत पर्दछ ।   

पर्यटकीय क्षेत्रमा आधारभूत सुविधाहरु पानी, बाटो, होटल, होमस्टे, बिजुली आदिको अबस्था के छ ?
जिल्लास्थित पर्यटकीय सेवा सुविधाहरुमा बत्ती र सञ्चारको अवस्था संतोषजनक छ । पिउने पानीको समस्या छैन तर पर्यटन विकासको हकमा बन्दिपुर लगायत जिल्लाका प्रायः सवै पर्यटकीयस्थल र होमस्टेमा पानीको समस्या छ । सडक पुगेका छन् तर स्तरोन्नती हुन सकेको छैन जसको कारण बाह्रैमास ती गन्तव्यमा सजिलैसंग पर्यटक पुग्न सक्दैनन् । सदरमुकाम दमौली धार्मिक एवं सांस्कृतिक पर्यटकीय क्षेत्र, तनहुँ जलविद्यूत योजनास्थलका साथै शैक्षिक केन्द्रका रुपमा समेत विकास हुँदा स्तरीय होटलको भने विकास हुन सकेको छैन ।

तनहुँको पर्यटनको ब्राण्डिङ गर्ने विषयमा के हुँदै छ ?
‘विविधतायुक्त तनहुँ’ नै तनहुँ जिल्लाको पर्यटकीय ब्राण्ड हो । साथै नेपाल भ्रमण वर्ष सन् २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्ष तनहुँ घुमघाम वर्ष २०७५ अन्तर्गत विदेश तथा स्वदेशका पनि विभिन्न स्थानमा रहनु हुने जिल्लाबासी तथा आफन्तजनलाई जिल्ला भ्रमणका लागि कार्यक्रमहरू सञ्चालनमा छन् । बन्दिपुर बजार क्षेत्रमा सडकवत्ति, सूचना केन्द्र, भाषा तथा सीप विकास सम्वन्धी तालिमका साथै केवलकार सम्वन्धी कार्यहरू अघि वढ्दैछ । दमौली वरपर पार्क र धर्मशाला सहित वेदव्यासको १०८ फीटको मूर्ति निर्माण योजनावद्ध तरिकाबाट अघि वढ्दैछ । समग्र तनहुँ जिल्लाको पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गर्ने उद्देश्यका साथ होमस्टे मार्ट र र्‍याफ्टिङ् फेस्टिभल आयोजना हुँदैछ । नेपाल सरकाद्धारा छनोटमा परेका सय गन्तव्य मध्य तनहुँको जंगलपार्क दमौली र सिद्ध गुफा इको पार्क भीमादको पूर्वाधार विकासका कार्यक्रमहरु अघि वढ्दैछ । गण्डकी प्रदेशको होमस्टे सञ्चालन कार्यविधि २०७५ अनुसार स्थानीय सरकारमा पर्यटन समन्वय समितिहरुको निर्माण तथा कार्यान्वयनले एउटा रुप निर्धारण गरिसकेको छ ।

प्रकाशित: ४ फाल्गुन २०७५ ०४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App