coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लागुऔषधको डरलाग्दो अवस्था, ५ वर्षमा १८ हजार बढी पक्राउ

काठमाडौ– पछिल्लो तथ्याङकले लागुऔषध ओसार पसार र प्रयोगकर्ताको संख्या  बढेको देखिएको छ।  लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा यसको कारोबारमा संलग्न अपराधीहरु पक्राउ पर्ने क्रम पनि उल्लेख्य रुपमा बढेको प्रहरीको तथ्यंकले देखाएको छ। सन् २०१४ देखि २०१८ सम्मको ५ वर्षको अवधिमा यसमा संलग्न विदेशीसहित १८ हजार बढी पक्राउ परेका छन्।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले दिएको जानकारी अनुसार नेपालभरि यस अवधिमा १८ हजार १ सय ९ जना लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न पक्राउ परेका हुन् ।

सन् २०१४ मा दुई हजार ९ सय १८ जना, सन् २०१५ मा दुई हजार ६ सय ५६, सन् २०१६ मा तीन हजार ६ सय ९६, सन् २०१७ मा तीन हजार ९ सय  ४१, सन् २०१८ मा चार हजार ८ सय ९८ जना  गरी   १८ हजार १ सय ९ जना लागुऔषधका कारोवारी र प्रयोगकर्ता क्रममा पक्राउ परेका हुन्। प्रकाउ पर्नेमा भारतीय, क्यानेडियन, फ्रान्सेली र चिनीयाँ लगायत देशका नागरिक रहे पनि भारतीयको संख्य धेरै रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

सन् २०१४ मा पक्राउ परेकामध्ये १ सय ३३ भारतीय छन् भने अन्य मुलकका १९ जना छन्। त्यस्तै सन् २०१५ मा  १ सय ११ भारतीय छन् भने अन्य मुलकका १३ जना रहेका छन्। त्यसै गरी सन् २०१६ मा पक्राउ परेकामध्ये १ सय १३ भारतीय छन् भने अन्य मुलकका २६ जना छन्। त्यस्तै
सन् २०१७ मा १ सय ४४ भारतीय छन् भने अन्य मुलकका १५ जना छन्। त्यस्तै  सन् २०१८ मा पक्राउ परेकामध्ये १ सय ५६  भारतीय छन् भने अन्य मुलकका ११ जना छन्।

५ वर्षको यो अवधिमा गाँजा २५ हजार ८ सय ८५ किलोग्राम , चरेस ८ हजार ९ सय ७८ किलोग्राम, अफिम एक सय ८४ किलोग्राम र हेरोइन २६ किलोग्राम र कोकिन ३६ किलोग्राम बरामद गरिएको छ। 

‘ट्रान्जिट’ को रुपमा नेपाल

भारतसँग खुला सीमाका कारण अन्तराष्ट्रिय लागुऔषध तस्करले नेपाललाई तस्करीका लागि ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्ने गरेका छन्। 

पेरु, ब्राजिल, लगायतका ल्याटिन अमेरिकी महादेशका अधिकांस राष्ट्रबाट नेपालमा कोकिन र हेरोइन आउने गरेको अनुसन्धानको क्रममा फेला पारिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती कोकिन र हेरोइन नेपालमा प्रयोग हुने भन्दा पनि छिमेकी मुलुक भारत, चीन, सिङ्गापुर, थाइल्यान्ड, हङ्कङ, मलेसियालगायतका पूर्वी एसियाका मुलुकमा तस्करी हुने गरेकोे लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्ष (एसपी) चक्र बहादुर सिंहले बताए।
‘आइस ड्रग’ को रुपमा रहेको एम्फिटामाइन हङकङ, थाइल्यान्ड हुँदै ट्रान्जिटका रुपमा नेपाल ल्याइने बताइन्छ। धेरैजसो तस्करहरुले साधारण व्यक्तिलाई भरियाको रुपमा प्रयोग गर्दै ती मुलुकमा पठाउने गरेको भेटिएको छ। 

नेपालको सन्दर्भमा गाँजा, चरेस जस्ता पदार्थ तथा नरफिन, फेनारगन, डाइजापाम, बुफ्रिनोफाइनजस्ता औषधिजन्य लागुऔषधको प्रयोग बढी हुने गरेको ब्यूरोका प्रमुख डीआईजी दिनेश अमात्यले बताए। 

खुला सीमाकै कारण तराईका अधिकांस जिल्लामा लागुऔषध प्रयोग कर्ता र कारोबारीको संख्या ह्वत्तै बढेको समेत प्रहरीको तथ्यांकले देखाएको छ। 

प्रकाशित: २४ माघ २०७५ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App