१६ चैत्र २०८० शुक्रबार
समाज

प्रेमिकालाई गाडीसहित नदीमा फाल्ने युवालाई ३० वर्ष कैद

म्याग्दी - प्रेमिकालाई गाउँबाट अपहरण शैलीमा बेनीतर्फ ल्याउँदै गर्दा कालीगण्डकी नदीमा फाल्ने युवालाई जिल्ला अदालत म्याग्दीले ३० वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ। अन्नपूर्ण गाउँपालिका–७, घराम्दीकी २० वर्षीया सविता नेपालीलाई बेनी नगरपालिका–९, काउलेगौंडाका ३२ वर्षीय रवि खड्काले गाडीसँगै कालीगण्डकीमा खसालेका थिए। 

बुधबार म्याग्दीका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले ज्यान मुद्दामा सर्वस्वसहित २० वर्ष, जबरजस्ती शरीर बन्धक ८ वर्ष र घटनाको प्रकृति अनुसार थप २ वर्ष कैद र १ लाख जरीवाना तिराउने गरी फैसला गरेको प्रहरी नायव उपरीक्षक बिरबहादुर बुढामगरले बताए।‘प्रहरीको अनुसन्धानमा धेरै समय खर्च गरेका थियौं,‘दलित महिलासंगको सम्बन्धलाई नस्वीकारर्ने डरले नियतवश हत्या गरिएको हो’ प्रनाउ खड्काले भने। आरोपित खड्काले घराम्दीमा भएको भेलामा सविता गर्भवती रहेको र उनलाई श्रीमती बनाएर राख्ने भन्दै गाडीमा हालेपछि लगेर कालीगण्डकीमा गाडीसँगै खसालेका थिए।

गाडी र चालक रवि तथा गाडीमा सवार सविता सबै बेपत्ता भएको भनिए पनि १ हप्तापछि रवि प्रहरीको सम्पर्कमा आएका थिए। उर्लिएको भेलमा गाडी खसालेर खड्का पोखरा हुदै विभिन्न जिल्लामा पुगेका थिए। प्रहरीले पक्राउ गरी जबरजस्ती शरीर बन्धक र हत्याको मुद्दा चलाएको थियो। सविताको गर्भमा बच्चा रहेको गाउँमा थाहा भएपछि गाउँलेले रविलाई बोलाएर उनको जिम्मा लगाएका थिए। गाउँमा आमा समुहको भेलामा श्रीमतिको रुपमा स्वीकार गर्ने प्रतिबद्धता जनाएर फर्किएका खड्काले घरमा श्रीमती तथा बच्चा रहेको र परिवार एवं समाजले दलित भनेर नस्वीकार्ने डरले नियतवश हत्या गरेको अनुसन्धानको क्रममा भेटिएको थियो।आरोपित युवाले अदालतसमक्ष दलित भनेर परिवारले नस्वीकार्ने डरका कारण आफूले गाडीसहित युवतीलाई खोलामा फालेर भागेको बयान दिएका थिए।

२०७४ माघमा भएको म्याग्दी महोत्सवदेखि प्रेम सम्बन्धमा रहेका सविता र रवि निकट हुँदै गर्दा सविता गर्भवती भएकी थिइन्। यता बेपत्ता नेपालीकी आफन्तले न्याय पाएको प्रतिक्रिया दिएका छन्। हिस्तानकी वडा सदस्य समेत रहेकी विष्णु नेपालीले हत्यामा संलग्नलाई अदालतबाट दिइएको सजायले पीडितलाई राहत मिलेको बताईन्। ‘दलित भएकै कारण यो घटना भएको हो,‘समाजमा यस्ता घटनालाई अन्त्य गर्न कानुनी सेवा कडा हुनुपर्छ’ उनले भनिन्। पीडितले हत्या भन्दै किटानी जायरी समेत दिएका थिए। 

प्रकाशित: २४ माघ २०७५ ०९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App