coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अश्वमेध महायज्ञको तयारी तीव्र

वीरगन्ज – नेपालमा पहिलोपटक वीरगन्जमा आयोजना गर्न लागिएको अश्वमेध गायत्री महायज्ञको तयारी तीव्र पारिएको छ। अखिल विश्व गायत्री परिवारले आयोजना गर्ने महायज्ञ फागुन १९ देखि २२ गतेसम्म सञ्चालन हुनेछ।

यसको तयारीअन्तर्गत दैनिक छलफल, रथ परिक्रमा, दीप यज्ञ, हवन यज्ञजस्ता कार्यक्रम भइरहेको अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्तिपीठ(वीरगन्ज)का संयोजक विजयकुमार सरावगीले जानकारी दिए।

राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउन नेपालमा पहिलोपटक अश्वमेध गायत्री महायज्ञ आयोजना गर्न लागिएको दाबी गरिएको छ। वीरगन्ज महानगरपालिकाका मेयरसमेत रहेका सरावगीले महायज्ञमा ४० देशका गरी पाँच लाख जना सहभागी हुने बताए।

भारतसहित गायत्री परिवारका शाखा रहेका अमेरिका, क्यानाडा, बेलायत लगायतका देशबाट सदस्यहरू आउने उनले बताए। ‘अश्वमेध गायत्री महायज्ञ हवन र पूजापाठ मात्र होइन, यो आध्यात्मिक प्रयोग हो र वैज्ञानिक पद्धतिको यज्ञ पनि,’ उनले भने, ‘लोककल्याणको मूल उद्देश्य यसमा निहित छ।’ यस यज्ञबाट जल, थल, वायु शुद्धीकरण हुने आयोजकको दाबी छ।

वीरगन्जको आदर्शनगर रंगशालामा हुने यज्ञको उद्घाटन फागुन १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तयारी रहेको सरावगीले जानकारी गराए।

प्रकाशित: २३ माघ २०७५ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App