८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरमा बढ्यो सवारी जाम

भक्तपुर जगातीमा भएकाे सवारी जाम । तस्बिरः कृष्ण/नागरिक

भक्तपुर – काठमाडौंमा जस्तै पछिल्लो समय भक्तपुरमा पनि ज्यादै सवारी जाम हुन थालेको छ। विशेष गरेर भक्तपुर नगरपालिका क्षेत्र घेर्ने सडकको चौघेरामा बिहानदेखि बेलुकासम्मै सवारी जाम हुने गरेको छ।

अरनिको राजमार्गअन्तर्गत सल्लाघारीदेखि भक्तपुर नगरपालिका क्षेत्र परिक्रमा गर्ने सल्लाघारीसम्मको सडकमा जहिले जाम हुने गरेको हो। सल्लाघारीबाट सूर्यविनायक, जगाती, च्याम्हासिंह, कमलविनायक, व्यासी हुँंदै पुनः सल्लाघारी नै पुग्ने भक्तपुर नगरपालिका क्षेत्र घेर्ने सडकमा जताततै जाम हुन थालेका हुन्। यसमा पनि विशेष गरेर जगाती, च्याम्हासिंह अनि कमलविनायक क्षेत्रमा बढी सवारी जाम हुने गरेका छन्। यहाँ दैनिक बिहानदेखि बेलुकासम्म सवारी जामले सताउने गरेको छ।

भक्तपुर मिनिबस सेवा समितिका अध्यक्ष दिनेश प्रधानले सडक दुई लेनबाट कहिले नबढाउने अनि सवारीसाधन भने प्रत्येक वर्ष थपिँदै जाने गरेका कारण जाम हुने गरेको बताए। उनका अनुसार पाँच वर्षयता यी सडकमा चल्ने सवारीसाधनको संख्या धेरै गुणाले बढेका छन्। सार्वजनिकबाहेक मोटरसाइकल, ट्रक, टिपर, निजी सवारीसाधन अत्यधिक मात्रामा बढेका छन्। तर सडक भने अहिलेसम्म दुई लेनको दुई लेनमै सीमित छ। विशेष गरेर बिहान र बेलुकी कार्यालय समयमा जाम हुने गरेको अध्यक्ष प्रधानले सुनाए।

सडक दुई लेनबाट कहिले नबढाउने अनि सवारीसाधन भने प्रत्येक वर्ष थपिँदै जाने गरेका कारण सवारी जाम बढेको भक्तपुर मिनिबस सेवा समितिका अध्यक्ष दिनेश प्रधान बताउँछन्।

भक्तपुर मिनिबस सेवा समितिअन्तर्गत मात्रै ३ सय २० वटा मिनिबस यी सडकमा सञ्चालन हुन्छन्। समितिको मात्रै दूधपाटी र कमलविनायकमा बसपार्कहरू छन्। यसबाहेक मध्य उपत्यका बस व्यवसायी संघअन्तर्गत जगाती भएर भक्तपुरको च्याम्हासिंहदेखि काठमाडौं जाने झन्डै दुई सय बस पनि यही रुटमा चल्छन्। च्याम्हासिंहमा मध्य उपत्यका बस व्यवसायी संघको बसपार्क छ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकसम्म ६ लेन फराकिलो भए पनि सूर्यविनायकदेखि माथि पूरै रुटमा सडक दुई लेनमा मात्रै सीमित छ। जगातीदेखि च्याम्हासिंह, कमलविनायक, व्यासी हुँंदै सल्लाघारीको सडक पनि दुई लेन मात्रै हुँदा दैनिक सवारी जाम हुने गरेको हो। दुई लेनमा सीमित सडकका छेउछाउमै पहिलेदेखि रहेका घरहरूका कारण पनि बाटो विस्तार हुन सकेको छैन। यता जगातीदेखि च्याम्हासिंहको एक किलोमिटर सडक विस्तार भए पनि यसअन्तर्गतका दुईवटा पुल दुई लेनमा सीमित छन्।

महानगरीय ट्राफिक प्रहरी परिसर(सल्लाघारी, भक्तपुर)का प्रमुख, इन्सपेक्टर हरिओम खड्काले सवारी जाम हटाउन दैनिक ट्राफिक प्रहरी परिचालन गरिरहेको बताए। जाम हुन नदिन छिट्टै बिहान ९ बजेदेखि साढे ११ सम्म र अपराह्न ४ बजदेखि साँझ ७ बजेसम्मको ‘पिक आवर’मा ट्रक, टिपरहरूलाई निषेध गर्ने योजना बनाइएको उनले जानकारी दिए।

भक्तपुर जान सूर्यविनायकसम्मको ६ लेनमा जति गाडी चल्छन् उति नै संख्यामा जगाती, च्याम्हासिंह, कमलविनायक, व्यासी, सल्लाघारी सडकमा पनि चल्छन्। तर बाटो भने दुई लेनमा सीमित छ। यही कारण जाम भएको स्थानीय बासिन्दा बताउँछन्। भक्तपुर क्षेत्रमा यसबाहेक काठमाडौंको कोटेश्वरवारि जडिबुटीमा पनि दैनिक उत्तिकै सवारी जाम हुने गरेको छ।

प्रकाशित: २३ माघ २०७५ ०२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App