८ वैशाख २०८१ शनिबार
समाज

ठूलो परिमाणमा लागुऔषध सहित ६ जना पक्राउ

लहान– सिरहा नगरपालिका –१७ पटेर्वाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले मंगलबार दिउँसो ठूलो परिमाणमा लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने धनुषा जिल्ला जनकनन्दनी गाउँपालिका –२ का १९ वर्षिय बब्लु कुमार यादव छन्।

भारतको जयनगरबाट सिरहातर्फ आइरहेको स ९ प ५४३१ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा यादवले पिठ्युमा बोकेको झोलाभित्र तीन वटा कालो प्लाष्टिकको झोलाभित्र १९९ एम्पुल फेनार्गन, १९९ एम्पुल डाइजिल्याव र २०० एम्पुल नुफिन बरामद भएको सिरहा प्रहरी प्रमुख (एसपी) जीवक श्रेष्ठले जानकारी दिए। बरामद लागूऔषध, मोटरसाइकल सहित यादवलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको श्रेष्ठले बताए।

मंगलबार दिउँसो साढे तीन बजे प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका –१५ बाट १४ थान नाइट्रोभेट ट्याबलेट सहित तीन जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने उदयपुर कटानी नगरपालिका –४ का ३४ वर्षिय बाबा तामाङ्ग, सिरहा नगरपालिका –१ का २१ वर्षिय गणेश पासवान सोहि ठाउँ वस्ने १८ वर्षिय राजेश पासवान छन्।

सोमबार चोहर्वा –सिरहा –माड्र सडक अन्तर्गत नरहा गाउँपालिका–३ बाट प्रहरीले दुइ जाना युवकलाई ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ गर्यो। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–८ का २२ वर्षीय दिपेन्द्र यादव र उदयपुरको कटारी नगरपालिका–१ बस्ने २५ वर्षीय गोकर्ण थापालाई पक्राउ गरेको हो।

भारतीय सहर जयनगरबाट स २ प ४४७९ नम्बरको मोटरसाइकलमा चोहर्वातर्फ आईरहेका यादव र थापाको साथमा रहेको कार्टुन खानतलास गर्दा प्रहरीले डाइलेक्स डिसी ९१ बोतल, नाइट्रोसन २० चक्की र पेन्टाल्याब २१ एम्पुल बरामद गरेको एसपी श्रेष्ठले बताए। ‘पक्राउ परेकाहरु कार्टुनमा प्याक गरी लागुऔषध ल्याउँदै गरेको अवस्थामा फेला परेको श्रेष्ठले बताए। 

दुइ दिनभित्र सिरहा प्रहरीले ६ जना युवकलाई ठूलो परिमाणमा लागूऔषध सहित पक्राउ गर्यो। पक्राउ पर्नेहरु सिरहा धनुषा र उदयपुर जिल्लाका छन्। लागूऔषध धन्दामा सीमापारि देखि पहाडी जिल्लासम्मका युवकको गिरोह सक्रिय रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

पारी, मधेस र पहाडका युवाहरुको त्रिकोणात्मक सञ्जालले लागूऔषधको कारोबार फैलाइरहेको पाइएको छ। एउटा समूह पारीबाट वारीको सहरसम्म पुर्याउने। अर्को समूह यहाँबाट पहाडी जिल्लाको सहरसम्म पुर्याउने र तेस्रो समूह काठमाण्डौं लगायतका ठूला सहरसम्म लागूऔषध पुर्याउने गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २२ माघ २०७५ १४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App