७ वैशाख २०८१ शुक्रबार
समाज

हिमाल हेर्न हेलम्बु (फोटो फिचर)

हेलम्बु (सिन्धुपाल्चोक)- ह्योल्मो समुदायको सुन्दर बस्ती हो हेलम्बु। लाङटाङ राष्ट्रिय निकुञ्जले घेरेको हेलम्बु पर्यटकीय गाउँ पनि हो। लाङटाङ पदयात्राको लागि हेलम्बु चर्चित छ। यहाँका ह्योल्मो समुदाय जति मनकारी र  सहृदयी छन्, उति नै रमणीय छन् यहाँका गाउँ। प्राकृतिक छटाले भरिपूर्ण हेलम्बु मनमोहक छ।

गाउँ आउने पर्यटकलाई ह्योल्मो समुदाय सेतो खादा पहिर्‍याएर स्वागत गर्छन्। नुन चिया, चौरीको दूध चिया र करु चिया खुवाएर सत्कार गर्छन्। त्यसैले उनीहरु आत्मिय लाग्छन्। ह्योल्मो क्षेत्रका तत्कालीन हेलम्बु, किउल, इचोक र महांकाल, दुवाचौर र पाल्चोक गाविस अहिले एकीकृत हेलम्बु गाउँपालिकाले चिनिन्छन्। यहाँ ह्योल्मो समुदाय अर्थात शेर्पा, तामाङ र लामा समुदायको बाहुल्यता छ।

तीन दशकअघि हेलम्बु ‘स्याउको सहर’ नामले चिनिन्थ्यो। अहिले स्याउ हेलम्बुबाट लोप भइसकेको छ। स्याउ सहरलाई बौराउने प्रयत्नमा जुटेका छन्, गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा। भन्छन्, ‘हेलम्बुलाई फेरि स्याउ सहर बनाउँदै छौँ।’ हेलम्बु गुम्बाको गाउँले समेत चिनिन्छ। यहाँ दर्जनौँको संख्यामा बौद्धगुम्बा, स्तुपा छन्। ती सेता छन्। सेतो रंग शुभ र शान्तिको प्रतिक हो। बौद्धमार्गी ह्योल्मो बुद्ध जस्तै शान्त छन्, शालिन पनि। बस्ती र बाटैभरि ध्वजापतका टाँगिएका छन्। फहराइरहने ती ध्वजापतका आगन्तुक स्वागतमा ब्यस्त भए झैँ लाग्छन्। ’

ट्राउट माछा हब हेलम्बुको पछिल्लो चिनारी हो। यहाँ एक दर्जन संख्यामा ट्राउट माछा फर्म छन्। ट्राउट माछा राजधानीको तारे होटलमा खपत हुन्छन्। ‘ट्राउटबाट मनग्ये आम्दानी मात्र लिएका छैनौँ, यसले पर्यटक पनि तानिरहेको छ,’ किउन बगरका ट्राउट पालक उत्तम भण्डारी सुनाउँछन्।

पुस, माघको समय हिमाल खुल्ने मौसम हो। हेलम्बु गाउँपालिकालाई हिमालले घेरेको छ। यतिबेला टलक्क टल्केका हिमालले हेलम्बुको सौन्दर्यमा अझ निख्खरता ल्याएको छ। जुगल, थाङ्गालछ्यो, दार्जेलाक्पा, आमायाङ्ग्री लगायत दर्जन हिमाल नजिकै देखिन्छन्। अन्यत्र हिमाल हेर्न डाँडाकाँडै चढ्नु पर्छ। तर यहाँ फेदीबाटसमेत हिमालको दृश्यपान गर्न सकिन्छ। उचाइबाट त हिमाल झन्–झन् नजिक बनेर आँखामै टाँसिन खोज्छन्।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App