८ वैशाख २०८१ शनिबार
समाज

साढे ३३ किलो सुन तस्करी प्रकरणका आरोपी खड्का दुबईमा पक्राउ

काठमाडौं – दुबईबाट नेपालमा सुन पठाउने मुख्य व्यक्तिलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ। सुन तस्करीको अनुसन्धानसम्बन्धी दुइटा प्रतिवेदनले दोषी औंल्याएका हरिशरण खड्कालाई दुबई प्रहरीले पक्राउ गरेको हो। दुबई प्रहरीले यसबारे नेपाल प्रहरीलाई जानकारी गराएको छ।

खड्काले एक पटकमा चार सय पचास किलोसम्म सुन पठाउने गरेको अनुसन्धानबाट खुलेको छ। उनीविरुद्ध नेपाल प्रहरीले रेड नोटिस’ जारी गरेको थियो। सोही नोटिसका आधारमा उनलाई दुबई प्रहरीले पक्राउ गरेको हो। नेपाल प्रहरी इन्टरपोल शाखाले उनीविरुद्धका सबै प्रमाण दुबई प्रहरीलाई पठाएको छ। कानुनी प्रक्रिया पूरा भएपछि खड्कालाई नेपाल ल्याइने प्रहरीले जनाएको छ।

पछिल्ला दुई अनुसन्धान प्रतिवेदनबाट सुन तस्करीमा खड्कासहितको पुरानै समूह सक्रिय रहेको खुलेको छ। ३३ किलो सुन तस्करी तथा शनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको अनुसन्धान र गत वर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धानबाट सुन तस्करीमा खड्कासहितको पुरानै समूह सक्रिय रहेको खुलेको हो।

दुई वर्षअघि नेपालमा बरामद साढे ३३ किलो सुन तस्करीसम्बन्धी अनुसन्धानले दुबईमा रहेका खड्कासहित ३१ जना सुन तस्करीमा संलग्न भएको देखाएको छ। त्यतिबेला नेपाल प्रहरीले खड्कालाई मुख्य योजनाकारको अभियोगसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। २०७३ पुस २१ गते सिआइबीले बरामद गरेको साढे ३३ किलो सुनमा खड्काको समेत लगानी रहेको अनुसन्धान प्रतिवेदनले देखाएको छ। सो अनुसन्धानले उनको बैक खातमा ६७ लाख २९ हजारभन्दा बढी रुपैयाँ मौज्दात रहेको पनि देखाएको थियो छ। उनको सो रकम पैत्रिक सम्पत्तिभन्दा ज्यादा रहेको र आपराधिक संगठनको नाइके भई आर्जन गरेको हुनसक्ने आशंका प्रतिवेदनमा गरिएको छ।

सिआइबीको सोही अनुसन्धानले खड्काले दुबईमा बसेर नेपालमा सहयोगी परिचालन गरेको निष्कर्ष निकाल्दै उनका मुख्य सहयोगी चूडामणि उप्रेती (गोरे) लाई देखाएको थियो। सिआइबीले साढे ३३ किलो सुन बरामद गरेपछि पक्राउ रामहरि कार्कीले गोरेबाटै सुन लिने गरेको बयान दिएका थिए। पौडेल समितिले गोरेलाई मुख्य अभियुक्त बनाएको छ।

‘दुबईबाट पठाएका ४ सय ५० पिस सुनका बिस्कुट मैले चारपटक दिलबन्धु थापामार्फत लिई हरि खड्काले फोनमा टिपाएअनुसार विभिन्न सुन पसलेलाई दिएको छु। विदेशमा बसी सुनको अवैध कारोबार गर्ने किशन अग्रवाल, हरि खड्का भन्ने हरिशरण खड्का, केशव चापागाईं, अर्जुन खरेल, गोरे खरेल भन्ने चूडामणि उप्रेती, सञ्जय भन्ने दुर्गाप्रसाद खरेल, राजन पन्थी हुन’, कार्कीले सिआइबीसँगको बयानमा भनेको प्रतिवेदनमा उल्लेख छ। पौडेल समितिले पनि खड्कालाई प्रतिवादी बनाएको छ। सिआइबीले खड्कालाई मुख्य अभियुक्त बनाएको थियो भने पौडेल समितिले गोरेलाई मुख्य अभियुक्त ठहर गरेको थियो।

दुई वर्षअघि पुसमा बरामद साढे ३३ किलो सुन प्रकरण र पौडेल समितिको अनुसन्धानमा अभियुक्तका रुपमा एकैखाले नाम दोहोरिएको छ। त्यति बेला पक्राउ परेका कार्कीले थापामार्फत बुझेको सुन आरके ज्वेलर्समा काम गर्ने शनि श्रेष्ठ, शालिमार ज्वेलर्समा काम गर्ने रवि, न्युरोडमा पसल गर्ने अमूल विभूति र वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालक प्रमोद श्रेष्ठलाई दिने गरेको बताएका थिए।

आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेर पनि धरौटीमा रिहा भैसकेका छन्। सो प्रतिवेदन अनुसार ब्युरोले सुन तस्करीको जालोमा खड्कासहित गोरे, रञ्जन पन्त, राजनप्रसाद पन्त, अर्जुनप्रसाद खरेल, रामहरि कार्की, रुबिन खड्का, सन्देश लोप्चन, प्रकाश खरेल, भोला मगर, माधव सुवेदी, विष्णु सुवेदी, संकेत खतिवडा र थर नखुलेका ध्रुव नामका व्यक्ति संलग्न रहेको उल्लेख छ। ब्युरोको अनुसन्धान प्रतिवेदनअनुसार दुबईमा रहेका सन्तोष काफ्ले तस्करीको सुन संकलन गरेर नेपाल पठाउने मुख्य व्यक्ति थिए।

उनी नेपालमा गोपाल शाही र थापासँग सम्पर्कमा थिए। खड्का र शाही ३३ किलो सुन अनुसन्धानको पहिलो चरणमै समातिएका थिए। अनुसन्धानले वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालक राजेन्द्रकुमार शाक्य, सुनिल श्रेष्ठ र मनोज श्रेष्ठसमेत, शालिमार ज्वेलर्सका रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल, भारतीय नागरिक विभूति अनमोल बालचन्द्र र रवि राजेश बोगटीसमेत सुुन तस्करीमा सक्रिय रहेको देखाएको थियो। पहिला धरौटीमा खड्कालाई पौडेल समितिले पुन तस्करीमा संलग्न रहेको देखाएको थियो। पन्तलाई भने नेपाल प्रहरीले दुबईबाटै पक्राउ गरी नेपाल ल्याएको थियो।

प्रकाशित: २२ माघ २०७५ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App