१६ चैत्र २०८० शुक्रबार
समाज

गरिब देशमा क्यान्सरबाट धेरैको मृत्यु

काठमाडौं – विश्वभरी सन् २०१८ मा १८.१ मिलियन नयाँ क्यान्सरका बिरामी देखा परेका छन्। यो वर्ष क्यान्सरले मृत्यु भएमध्येमा सबैभन्दा बढी दक्षिण–पूर्वी एसियाबाट रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। सोमबार संगठनले जारी गरेको पे्रस विज्ञप्तिमा सो जनाइएको हो। गत वर्ष विश्वभरी ९.६ मिलियन व्यक्तिको मृत्यु क्यान्सरका कारणले भएको थियो। ती मध्ये ७० प्रतिशत मृत्यु दक्षिण–पूर्वी एसियामा रहेको छ। मृत्यु हुनेहरु यस क्षेत्रका मध्यम तथा निम्न आय भएका राष्ट्रका मानिस रहेको संघले जनाएको छ।क्यान्सरको समयमै जाँच तथा पहिचान हुने व्यवस्था नहुँदा र प्राथमिक अवस्थामै उपचार नहुँदा क्यान्सरको कारण हुने मृत्युको संख्यामा वृद्धि भएको विश्व स्वास्थ्य संगठनकी दक्षिण–पूर्वी क्षेत्रीय निर्देशक पुनम खेत्रपालले बताएकी छिन्।

सन् २०१७ मा ३० प्रतिशत क्यान्सर बिरामीले लागि मात्र उपचारको पहुँच पुगेको तथ्यांक छ। उच्च आम्दानी भएका देशहरुसँग तुलना गर्दा ९० प्रतिशत उपचारमा पहुँच थियो भने २६ प्रतिशत निम्न आय भएकाहरुको प्याथालोजी सेवामा पहुँच पुगेको तथ्यांक छ। यसै गरी सार्वजनिक स्वास्थ्य संस्थामा प्याथालोजी सेवाको कमीले गर्दा क्यान्सरको पहिचानमा ढिलाइ हुँदा उपचार सफल हुने सम्भवाना कम हुने गरेको छ। दक्षिण–पूर्वी एसियाका सदस्य राष्ट्रका लागि सन् २०१५ मा क्यान्सर नियन्त्रण र रोकथामको लागि संगठनले राष्ट्रिय कार्यक्रममै समावेस गर्न जोड दिई सो निर्देशनलाई सन् २०१७ मा सैनिक स्तरमा लागू गर्न निर्देशन दिइएको थियो। सोही वर्ष संगठनले क्यान्सर पहिचान र उपचारको कार्यक्रम सँगैसँगै अघि लानुपर्ने मान्यता अघि सारेको थियो।

सन् २०१८ मा संगठनले विश्वव्यापी रुपमा शिशु उमेरमा हुने क्यान्सर विरुद्धका कार्यक्रमको सुरुवात गरेको थियो। दक्षिण–पूर्वी एसियामा क्यान्सरका कारण मृत्यु हुने ६७ प्रतिशत बिरामी ७० वर्ष मुनिका छन्। क्यान्सरमा देखिएका विविध असमानता र समस्यालाई सम्बोधन गर्न यी क्षेत्रका देशले एकीकृत क्यान्सर कार्यक्रम बनाउनु पर्ने संगठनको भनाइ छ।

स्थानीय तहमै क्यानसर जाँचको सुविधा भए क्यान्सर रोग प्राथमिक तहमै पहिचान हुन्छ। प्रभावकारी क्यान्सर जाँच तथा पहिचानका लागि स्थानीय र माथिल्लो तहमा सो जाँचको सुविधा हुनुपर्ने, लक्षण र चिह्नका आधारमा क्यान्सरको पहिचान गर्न सकिने तालिमप्राप्त स्वास्थ्यकर्मी हुनुपर्ने जनाइएको छ। त्यसका साथै सुर्तिजन्य पदार्थको उत्पादन तथा प्रयोगलाई नियन्त्रण गर्नुपर्ने संगठनको जिकिर छ। सुर्तिजन्य पदार्थका कारण २२ प्रतिशत क्यान्सरको कारक भएकोले यसको नियन्त्रण्मा ध्यान दिनुका साथै मदिरा सेवनलाई नियन्त्रण गरी स्वस्थ्य खाना उपभोग र सक्रिय जीवनशैलीका लागि आमजनलाई उत्पे्ररित गर्नुपर्छ। क्यानसर प्रतिरक्षामा आवश्यक हेपाटाइटिस बि, ह्युमन पेपिलोमा भाइरसविरुद्धको खोप कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने संगठनको सुझाव छ। यस वर्षको विश्व क्यान्सर दिवसको ‘हामी सबैले क्यान्सरका कारक तत्वमा परिवर्तन गरेर परिवर्तनकर्ता बनौं’ भन्ने नारालाई अपनाउन सकिएमा क्यान्सरको जोखिमबाट बच्न सकिने संगठनले सुझाएको छ।

प्रकाशित: २२ माघ २०७५ ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App