८ वैशाख २०८१ शनिबार
समाज

सहकारीकी व्यवस्थापकले पाइन् सफाइ

खोटाङ – खोटाङमा सहकारीको रकम ठगी मुद्दाका आरोपितले अदालतबाट सफाइ पाएका छन्। केपिलासगढी गाउँपालिका–४, बाक्सिलास्थित रावा तावा बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक सरला राईलाई खोटाङ जिल्ला अदालतले उक्त मुद्दामा सफाइ दिएको हो।

सहकारीको १८ लाख ३० हजार ६५७ रुपैयाँ रकम हिनामिना भएको भन्दै सहकारी सञ्चालक समितिका अध्यक्ष रत्नमणि राईले दायर गरेको मुद्दामा जिल्ला न्यायाधीश किशोर घिमिरेको इजलासले आरोपितलाई सफाइको फैसला सुनाएको हो। सहकारीको रकम हिनामिना र ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा २०७४ फागुन १६ गते जाहेरी र २०७५ जेठ २८ गते जिल्ला अदालतमा अभियोग–पत्र दर्ता गराइएको थियो।

सहकारीको बेरुजु रकम जुनसुकै समयमा फरफारक गर्न सक्नेगरी लेखा परीक्षणबाट निस्किएको बेरुजु रकम असुलउपर गर्नुपर्ने भए सहकारी ऐन २०७४ को दफा ८३ बमोजिम प्रतिवादीको घरघरानाबाट असुलउपर हुन सक्ने देखिएकाले सो बेरुजु रकमलाई ठगी गरेको मानेर फौजदारी कसुरमा सजाय गर्न मिल्ने अवस्था नरहेको, सहकारीको बेरुजु रकम आरोपितको घरघरानाबाट असुलउपर गर्नका लागि जाहेरवाला र प्रतिवादीबीच कागज भएको र बेरुजु रकम असुलउपर गर्न कुनै लिखित पत्राचार नगरेको देखिएको लगायतका आधार र कारणबाट आरोपितले सफाइ पाएको अदालतले जनाएको छ।

२०७३ भदौ १ गते सार्वजनिक गरिएको आर्थिक वर्ष २०७२÷०७३ को लेखा परीक्षण प्रतिवेदनमा ठूलो मात्रामा बेरुजु निस्किएको भन्दै सहकारीका सञ्चालक आफ्नै कर्मचारीविरुद्ध अदालत पुगेका थिए।

प्रकाशित: २२ माघ २०७५ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App