८ वैशाख २०८१ शनिबार
समाज

मेयर र वडाध्यक्ष नै विद्युत् चोरीमा संलग्न

काठमाडौं – रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत् चोरीमा संलग्न रहेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले  मेयर श्यामप्रसाद यादव (ग्राहक नं ००८.१३.०१) र वडा नम्बर ६ का वडाध्यक्ष रामसिंघासन यादव (ग्राहक नं ०७.२०.०३ ए) र गरुडा नगरपालिका–१का वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं १८.०८.१९)ले आफ्नो घरमा विद्युत् चोरी गरी प्रयोग गरेको फेला पारेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गौर क्षेत्रमा विद्युत् चोरी अत्याधिक रहेको गुनासो आएपछि महाशाखाका इन्जिनियर प्रदिपकुमार शर्माको नेतृत्वमा छड्के चेकजाँच टोली खटाएका थिए। जनताबाट निर्वाचित मेयर र वडाध्यक्ष नै विद्युत् चोरीमा संलग्न हुनु दुर्भाग्यपूर्ण रहेको घिसिङले बताए।

टोलीले गत १४–२० माघमा रौतहटमा गरेको छड्के चेकजाँचका क्रममा गढीमाई नगरपालिकाको बिनगरमा रहेको दुईवटा घरमा मेयर श्यामप्रसाद यादवले हुकिङ गरी विद्युत् प्रयोग गरिरहेको फेला पारेको हो। टोली प्रमुख शर्माले हुकिङ गरेर प्रयोग गरिएको लाइन काटिएको तर सुरक्षाका कारण मेयरको घरमा राखिएको मिटर खोल्न नसकिएको बताए।

‘घर पछाडि रहेको प्राधिकरणको वितरण लाइनबाट हुकिङ गरेर ल्याएको तारबाट  एउटा घरमा बिजुली प्रयोग गरिएको रहेछ, त्योभन्दा अलि पर रहेको अर्को घरमा मिटर छ, त्यहाँबाट पनि चोरी गरेर बत्ती बालिएको घरमा लाइन ल्याइएको छ,’ उनले भने, ‘त्यो घरमा चोरी गरेको र नगरिएको दुवै लाइन जोडिएको रहेछ, हुकिङ काट्यौं तर चोरीको बत्ती प्रयोग गरिरहेको फेला परेपछि मान्छेको भीड जम्मा भयो उनीहरुले मिटर खोल्न दिएनन्।’ तर, मेयरले विद्युत् चोरी गरेको मुचुल्का तयार गरेको र त्यसमा मेयरका भाई संजिव कुमार यादवले सही गरेको शर्माले जानकारी दिए। उनले मुचुल्काको फाइल गौर शाखालाई दिएर बिगो तथा त्यसमा लाग्ने जरिवाना लगायत कानुनी कारबाही गर्न निर्देशन दिइएको बताए।

टोलीले गढीमाई नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष रामसिंघासन यादवले आफ्नो घरमा, वडा कार्यालयमा र धरमपुर स्वास्थ्य चौकीमा चोरीको विद्यत् प्रयोग भइरहेको फेला पारेको छ। ‘वडाध्यक्षको घरमा धेरै विद्युत् खपत गर्ने सामग्री प्रयोगमा रहेछन्, मिटरको सर्भिस केबल खोली राखेको तर हुकिङमार्फत घरमा बत्ती प्रयोग गरिएको रहेछ,’ शर्माले भने, ‘त्यस क्षेत्रमा चोरी अत्याधिक रहेकाले विद्युत् आपूर्ति गर्ने टान्सफर्मरबाट लाइन काटेर आएका छौं।’

गरुडा नगरपालिका–१ का वडाध्यक्ष्यक्ष सरोज राय यादवले मिटर बाइपास गरी घरमा बिजुली प्रयोग गरेका थिए। टोलीका अनुसार, वडाध्यक्षले आफ्नो घरमा मात्रै हैन दाजुभाइको घरमासमेत चोरीको विद्युत् दिएका थिए। वडाध्यक्षहरुले चोरी गरेको विद्युत्को बिगो र त्यसमा लाग्ने जरिवाना लगायत कानुनी कारबाही गौर वितरण केन्द्रले गर्ने छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी हरेक वितरण तथा ग्राहक सेवा केन्द्रलाई चुहावट घटाउने टार्गेट दिएका छन्। यसका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर तथा वितरण लाइन सदृढीकरण लगायत काम अभियानकै रुपमा चलाइएको छ। प्राधिकरणले बढी विद्युत् चोरी हुने क्षेत्रमा लोडसेडिङ गर्ने, विद्युत्को नियमित आपूर्तिका लागि टान्सफर्मर नथप्ने तथा मर्मतसमेत नगर्ने नीति लिएको छ।

प्रकाशित: २२ माघ २०७५ ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App