coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डोजर लगाएर बन्दा नष्ट गर्ने महतोलाई बुटवलमा सम्मान

रुपन्देही- प्राङगणमा विद्यार्थी लामबद्ध छन्। अगाडि पट्टी सानो मञ्च बनाइएको छ। त्यसको दायाँ छेउमा असरल्ल राखिएकोछ बन्दा। यो दृश्य हो, दीप बोर्डिङ्ग स्कूल बुटवलको। आफ्ना बच्चा लिन पुगेका अभिभावक पनि छक्क पर्दै भन्दै थिए —‘विद्यालयमा बन्दाको व्यापार भइरहेको छ की कसो ?’

अभिभावकहरुले सोँचे जस्तै यहाँ बन्दाको व्यापार नै भएको थियो। तर, किसानलाई सम्मान सहितको व्यापार। गत माघ ११ गते चितवन खैरनीका किसान पुरन महतोले उत्पादन गरेको बन्दा विक्रि नभएर डोजर लगाएर नष्ट गरे। तिनै पुरन महतोलाई उत्साह दिनका लागि सम्मान कार्यक्रम सहित उत्पादीत बन्दा विद्यार्थीले किनेका छन। दीप बोर्डिङ्गका कक्षा ४ देखि १२ सम्मका झन्डै १ हजार ६ सय विद्यार्थीले महतोको बन्दा किनेका छन। करिव एक घन्टाको समयमा महतोले फाल्न ठिक्क भएको ३ हजार किलो बन्दा दीपका विद्यार्थीहरुले किनेका छन।

‘राज्यले मलाई सम्मान गरेन, आज साना विद्यार्थीहरुले मेरो उत्पादन किनिदिनुभयो’ किसान महतोले भने ‘यो मेरो जीवनको सबैभन्दा ठूलो खुशिको दिन हो।’ उनले २७ कठ्ठामा यो बर्ष बन्दा लगाएका थिए। त्यसमध्ये १० कठ्ठामा लगाएको करिव ६० टन बन्दा डोजर लगाएर नष्ट गरेका थिए। २०६० सालदेखि व्यवसायिक रुपमा तरकारी खेती थालेका महतोले विचौलियाका कारण किसान मर्कामा परेको दुखेसो पोखे। ‘आज विद्यार्थीहरुले किसानको उत्पादन प्रयोग गर्नुपर्छ भनेर खाजा खर्च कटाएर बन्दा किनिदिनुभयो, यो कुरा सरकारले कहिले बुज्छ’ उनले प्रश्न गरे। उनले ११ विगाहा क्षेत्रफलमा कृषि गर्दै आएका छन। चर्चामा आउनका लागि आफूले डोजर नलगाएको बताउँदै विक्रि नै नभएपछि त्यसलाई नष्ट गर्न पनि नसक्ने अवस्था आएकाले बाध्य भएर डोजर लगाएको बताए। ‘निशुल्क लैजानुस भन्दा पनि नविकेको बन्दा आज बुटवलमा एकैचोटी ३ हजार किलो खपत भयो, म धेरै खुशि छु’ उनले सुनाए।

चितवन खैरहनी नगरपालिका वडा नम्बर ६ तुल्सिपुर चितवनका किसान महतोले डोजर लगाएर बन्दा नष्ट गरेको समाचार पढेपछि दीप बोर्डिङ्गका प्राचार्य टिकाराम न्यौपानेले सन्देश दिने उदेश्यले विद्यार्थी मार्फत किसान सम्मान कार्यक्रम गरिएको बताए। ‘म पनि किसानको सन्तान हुँ, यो समस्याप्रति सरकार गम्भिर हुनुपर्छ, बजार सरकारले गरिदिनुपर्छ भनेर सन्देश दिन बन्दा विद्यार्थीले किनेका हुन’ उनले भने। इन्ट्रयाक्ट क्लब अफ दीप बोर्डिङ्ग र नेपाल युवा रेडक्रस सर्कल दीप बोर्डिङ्गले उत्पादीत कृषि उपजको उचित बजारीकरणका लागि सचेतना अभियान स्वरुप किसान सम्मान कार्यक्रम गरिएको थियो।

विद्यार्थीहरुबाट संकलन गरिएको रकम विद्यालयका अध्यक्ष राजेन्द्र ध्वजु र प्राचार्य टिकाराम न्यौपानेले हस्तान्तरण गरे। विद्यार्थी यूनिशा भण्डारीले नेपालाई सम्पन्न बनाउन किसानको उत्पादन प्रयोग गर्नुपर्ने बताईन। उनले आफूहरुले सन्देश दिनकै लागि किसान महतोलाई सम्मान सहित उत्पादीत बन्दा किनेको बताईन। विद्यार्थीहरुले किसान महतोलाई उर्जा दिने काम मात्रै गरेनन। किसान भएकै कारण पहिलो पटक सम्मानित भएकोमा दंग समेत थिए। उनले आफू अब कहिल्यै कृषिबाट टाढा नहुने अठोट समेत गरे। किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाएको गुनासो जताततै छ।

यस्तो बेलामा एउटा निजि विद्यालयले भने किसानलाई उत्साह दिन र बजारको व्यवस्था गर्न राज्यलाई दवाव दिने उदेश्यले कार्यक्रम गरेकोमा ताजा तरकारी सहकारी संस्था चितवनका अध्यक्ष पूर्णभक्त जोशी भुसालले आभार प्रकट गरे। विद्यालयलाई रचनात्मक काममा लगाउने र समाजप्रति उत्तरदायी बनाउन पनि किसानको बन्दा किनिएको विद्यालयले जनाएको छ।

प्रकाशित: २१ माघ २०७५ १२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App